‘म त उम्केर आएँ, फिरौती नतिरे अरू नेपाली साथीहरू बेचिन सक्छन्’
काठमाडौं,धादिङका २६ वर्षे अर्जुन (गोपनीयताका लागि नाम र ठेगाना परिवर्तन गरिएको) सन् २०२२को सेप्टेम्बर महिनामा म्यान्मार पुगे।
साथीमार्फत् म्यान्मारमा बस्ने नेपालीभाषी एक महिलासँग सम्पर्कमा आएपछि उनले ‘थाइल्यान्डमा आकर्षक रोजगारीको अवसर’ पाए जुन पछि गएर चरम यातनासम्म पुग्यो।
कम्प्युटरमा आधारित काम, खाने-बस्ने प्रबन्ध कम्पनीले नै गर्ने अनि तलब मासिक १,००० अमेरिकी डलर (झन्डै एक लाख ३१ हजार रुपैयाँ)। अवसर साँच्चै आकर्षक लागेको थियो उनलाई।
त्यो अवसर छोप्नका लागि विदेशिने क्रममा अर्जुनले एक लाख रुपैयाँ खर्चे। तर झन्डै ९ महिनापछि स्वदेश फर्कनका लागि उनले १३ लाख रुपैयाँ थप जोहो गर्नुपर्यो।
नेपालबाट बाहिरिने तयारी गर्दै गर्दा थाइल्यान्ड जानुपर्ने बताइएका अर्जुनले म्यान्मारको भिसा पाए। यद्यपि त्यसले उनलाई विदेश जानबाट रोक्न भने सकेन। म्यान्मारमा बस्ने भनिएकी एक महिलाले काम गर्ने स्थान म्यान्मार र थाइल्यान्डको सीमावर्ती क्षेत्रमा रहेको बताएपछि निर्धक्क भएर उनी विदेश होमिए।
आकर्षक पारिश्रमिक प्राप्त गर्ने सपना बुनेका उनलाई आफू नराम्रोसँग फसेको महसुस हुन झन्डै तीन महिना लाग्यो।हालसालै रोजगारीका लागि नेपालबाट अवैधरूपमा म्यान्मार पुर्याइएका ६ जना नेपाली स्वदेश फर्किएपछि त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे जानकारी सार्वजनिक भएको हो। नेपाल फर्किएका तीमध्ये कम्तीमा दुई जनाले कानुनी उपचारको प्रक्रिया अघि बढाएका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार अझै पनि त्रासका कारण नेपाल आइपुगेका सबै जना प्रहरी सम्पर्कमा आएका छैनन्।
उनका अनुसार प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ र हालसम्म एक चिनियाँ नागरिक सहित दुई जनालाई उक्त प्रकरणमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको छ।बुधवारसम्म १३ जना पीडितका परिवार तथा आफन्तले उद्धार गरिदिन आग्रह गर्दै ब्यूरोमा निवेदन दिएका छन्।
साथीहरूको चिन्ता
बुधवार काठमाण्डूमा भेट हुँदा अर्जुनको मुहार मलिन थियो र आँखामा आक्रोश। झन्डै नौ महिना लामो आफ्नो त्रासदीपूर्ण भोगाइ सम्झँदा उनी निकै भावुक भए।
तर जसोतसो नेपाल आउन पाएकोमा खुसीको सीमा नभएको भने उनी बताइरहेका थिए। हामीसँग झन्डै चार घण्टा समय बिताउँदा उनी एक पटक पनि मुस्कुराउन सकेका थिएनन्। त्यसको एक प्रमुख कारण थियो, आफूले त्यहाँ छाडेर आएका साथीहरूको अवस्था र उनीहरूले तारन्तार फेसबुकमा पठाइरहेका सन्देश।
कुराकानीका क्रममा पटक पटक उनी एउटै कुरा दोहोर्याउँथे, ‘‘म त नेपाल आइपुगेँ, अब त्यहाँ भएका साथीहरूलाई घर फर्काउनु छ। उनीहरूले ममाथि ठूलो विश्वास गरेका छन्।’’
बुधवार नै काठमाण्डू जिल्ला अदालतमा मुद्दा दायर गरेका अर्जुन आफूलाई जस्तै गरी नेपाल सहित विभिन्न देशका कैयौँ नागरिकलाई म्यान्मार पुर्याइएको बताउँछन्।
आफू बसेको ठाउँमा झन्डै ४० जना नेपाली नागरिक रहेको उनको भनाइ छ।
दक्षिण पूर्वी एशियाका लाओस, थाइल्यान्ड र म्यान्मार लगायतका देशहरूमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई अवैध अनलाइन स्क्याम (ठगी)मा लगाइएको र चरण शोषण गरिएको गुनासो आफूहरूले प्राप्त गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।
प्रहरीका अनुसार एक जना पीडितले आफूलाई १३ घण्टासम्म बस तथा डुङ्गामा चढाएर म्यान्मारको यकिन नाम थाहा नभएको कम्पनीमा पुर्याएर बन्धक बनाइएको बताएका छन्।
उनले आफूहरूको सक्कल राहदानी अनि मोबाइल फोन समेत जफत गरी अवैध काममा दिनको १८ देखि २० घण्टासम्म खट्न बाध्य पारिएको बताएको प्रहरीको भनाइ छ।
अर्जुनको पनि अनुभूति उस्तै छ। उनले बीबीसीसँगको कुराकानीका क्रममा उक्त प्रकरणको बेलिबिस्तार यसरी लगाए:
‘४० जना भन्दा धेरै नेपालीहरू अझै त्यहाँ’
म्यान्मारमा यातना सहेका अर्जुन ९ महिना त्यहाँ बसेर हालसालै नेपाल फर्किएका हुन्
हवाई मार्गबाट भारतको कोलकाता अनि थाइल्यान्ड हुँदै म्यान्मार पुगेका उनका अनुसार यकिन नाम थाहा हुन नसकेको कम्पनीमा पुगेको पहिलो दिन मै उनीहरूलाई एउटा कन्ट्र्याक्ट (करार)मा हस्ताक्षर गर्न लगाइएको थियो। त्यो कन्ट्र्याक्ट एक वर्षको थियो।
अर्जुनका अनुसार उनीहरूलाई पुर्याइएको ठाउँ म्यान्मारको म्योओउडी हो। उक्त स्थलमा थाइल्यान्डका नागरिकहरू पनि रहेको बताइन्छ।
त्यसपछि ९-१० दिन काम सिकाइयो।
सुरु सुरुमा काम रातको समयमा हुन्थ्यो। त्यसको कारण हो लक्षित बजार – युरोप र अमेरिका।
‘‘हामीले गर्ने काम भनेको स्क्याम नै हो,’’ उनले भने।
नेपाल सहित विभिन्न देशका नागरिकलाई साप्ताहिक अनि मासिक टार्गेट (लक्ष) दिइन्थ्यो। र त्यो पूरा गर्न नसक्दा चरम यातना दिइन्थ्यो।
उनीहरूलाई राखिएको घर बाहिर चर्को घाममा उभ्याउने, दौडिन लगाउने, हातपात गर्नेदेखि करेन्ट लगाइदिने सम्मको यातना भोग्नुपरेको अर्जुन सुनाउँछन्।
उनका अनुसार अझै पनि ४० जना भन्दा धेरै नेपालीहरू त्यहाँ छन्। र सबैको आशा सरकारले उद्धार गर्छ की भन्ने छ।
त्यसबाहेक म्यान्मारभरिमा बन्धक अवस्थामा १,५०० नेपाली नागरिहरू रहेको आफूले सुनेको उनी बताउँछन्।
‘‘म त ऋण खोजेर कम्पनीमा ८ लाख पैसा तिरेर अनि लगभग पाँच लाख बाटो खर्च जुटाएर फर्कन सफल भएँ। धेरै साथीहरू छन्। सबैले पैसा जोहो गर्न सक्ने अवस्था छैन। कसरी हुन्छ सरकारले उद्धार गर्छ की भन्ने आशामा छन्,’’ उनले थपे।
उनका अनुसार त्यहाँ रहेका नेपालीको उद्धारको एउटै पूर्व सर्त छ – फिरौती तिर्ने। आफू त्यो स्थानबाट फर्कँदा नेपाल पुगेपछि के गर्नू/नगर्नू केही पनि नभनिएको उनी बताउँछन्।
मुक्त भएर नेपाल आइपुगेका उनी अझै पनि त्यहाँ रहेका नेपालीहरूसँग सम्पर्कमा छन्।
उनीहरूले के भन्छन् त?
‘‘हामीसँग ११ दिनको समय छ। त्यसपछि कम्पनीले हामीलाई कहाँ बेच्छ ठेगान छैन। जसरी पनि बचाउनु भन्छन्। जे होस त्यहाँको अवस्था कहाली लाग्दो नै छ। एउटा कुरा तलब छैन। काम त्यस्तो छ। चार पटक खाना दिए पनि हामीलाई पच्ने खालको खाना दिँदैनन्। राम्रोसँग सुत्न पनि पाइँदैन,’’ अर्जुनले सुनाए।
आफूहरूलाई राखिएको कम्पाउन्डमा क्यासीनो, होटल अनि पसल समेत रहेको उनको दाबी छ।
‘झन्डै एक मिनेटसम्म करेन्ट लगाइदिए’
झन्डै ९ महिना लामो बसाइका क्रममा अरूलाई जस्तै उनलाई पनि निश्चित रकम ठगी गर्नुपर्ने लक्ष दिइएको थियो।
एक साताको लक्ष पाँच देखि ६ हजार डलर हुन्थ्यो।
‘‘त्यो मैले पुरा गर्न नसकेपछि बाहिर बोलाए, हात पछाडि पारेर हतकडी लगाइ दिए। मैले पनि करेन्ट खाएको हो,’’ त्यो यातना सम्झँदै गर्दा उनी केही लरबराए।
त्यसपछि फेरि भने, ‘‘त्यहाँको अवस्था झन् झन् बिग्रँदै गएको छ। कसरी हुन्छ छिटोभन्दा छिटो साथीहरूलाई उद्धार गर्नुपर्ने अवस्था छ।’’
करेन्ट लगाउनका लागि नेपालमा प्रहरीले बोक्ने जस्तो सानो लट्ठी प्रयोग हुन्थ्यो। र त्यो कामदारहरूको शरीरमा झोसिन्थ्यो।
एक पटकमा एक मिनेटसम्म करेन्ट झोसिने गरेको अर्जुन बताउँछन्।
‘‘मेरो शरीरमा त दाग छैन तर त्यहाँ भएका साथीहरूको शरीरमा भने निकै धेरै दागहरू छन्,’’ उनले भने।
कहिले काहीँ त यातनाको क्रम करेन्ट लगाएपछि पनि जारी रहन्थ्यो। भ्यागुता जसरी उफ्रन लगाउने, त्यसो गर्न नसक्नेलाई लात्ती अनि लट्ठीले हान्ने। यातनाको शृङ्खला झन्डै एक घन्टासम्म चल्ने उनी बताउँछन्।नेपाल फर्कनु अघि आफूलाई महिनाको ३० हजार डलर कमाइ गर्नुपर्ने लक्ष दिइएको उनले बताए।
कसले चलाउँछ यो गिरोह?
यसको स्पष्ट जवाफ न त प्रहरीसँग छ न अर्जुन वा त्यहाँ काम गर्ने उनका साथीहरूसँग।तर उनी भन्छन्, “यसमा माफियाहरूकै हात छ। चिनियाँहरू छन्।”
त्यसो भए म्यान्मार सरकारले चाहिँ किन केही गरेको छैन? यसमा तपाईँहरूको बुझाइ के हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘‘सबैभन्दा ठूलो कुरा पैसा नै हो। पुलिस, सेना आएर हामीलाई रोक्न खोज्दा गोजीबाट पैसा झिक्ने, बुझाउने अनि हिँड्ने हो।’’
म्यानमार जाँदा अनि फर्कँदा दुवै पटक आफूहरूले त्यसरी सुरक्षाकर्मीहरूलाई पैसा बुझाएको उनको दाबी छ। उनले भने, “फरक यत्ति हो कि जाँदा कम्पनीका सदस्यहरूले ती काम गरेका थिए, आउँदा आफैले तिर्नुपर्यो।”
‘‘त्यहाँबाट निस्कँदा पिँजडामा राखिएको जनावर मुक्त भएजस्तै महसुस भयो,’’अर्जुन भन्छन्।
‘‘सुरुमा त निस्किए पनि नेपाल पुगिन्छ कि पुगिँदैन भनेर डर लागेको थियो। चिनियाँहरूकै नियन्त्रणमा त्यो ठाउँ भएकाले के हुन्छ भन्ने थियो। दया माया भएका मान्छेहरू त हुँदै होइनन् तिनीहरू। विमान चढेपछि मात्र ढुक्क भयौँ।”
फिरौती कसरी तिरियो?
घर फर्कनका लागि पैसाको जोहो भए पनि अर्जुनको समस्या भने कम भएको थिएन। पैसा त थियो तर पठाउने माध्यम थिएन।
नेपालको कानुनले अवैध मानेको विधिबाट रकम पठाउनुको विकल्प नरहेको उनी बताउँछन्।
त्यसका लागि उनीहरूले अमेरिकामा रहेका एक जना चिनजानका व्यक्तिको सहयोग मागे। बाइन्यान्स एपबाट अमेरिकाबाट पैसा म्यान्मारको उक्त कम्पनीलाई पठाउने प्रबन्ध मिलाएको उनले बताए।
नेपाल सरकारका विभिन्न निकायहरूसँग कुराकानी भएको भए पनि हालसम्म ठोस पहल नभएको भन्दै अर्जुन निराश छन्।
यद्यपि कुराकानीको बिट मार्दै गर्दा उनले भने, ‘‘मलाइ आश छ जे भए पनि राष्ट्र हो। गैर कानुनी कम्पनी भए पनि राष्ट्रले चाह्यो भने हाम्रा साथीहरूलाई त्यहाँबाट निकाल्न सक्छ। तर सबै ठाउँबाट पहल हुनुपर्छ।’’ (बीबीसी)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया