Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखुम्बुमा पर्यटन आवागमन ८२ प्रतिशतले घट्यो

खुम्बुमा पर्यटन आवागमन ८२ प्रतिशतले घट्यो


सोलुखुम्बु । विश्वकै प्रमुख पर्यटकीय गन्तव्य सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आवागमन ८२ प्रतिशतले घटेको छ । असार महिनाको तुलनामा साउनमा ८२ दशमलव ६५ प्रतिशतले पर्यटक आवागमन घटेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

निकुञ्जको तथ्याङ्कअनुसार गत असारमा एक हजार एक सय ९९ जनाले सगरमाथा क्षेत्र भ्रमण गरेकोमा साउनमा घटेर दुई सय आठ जनामा सीमित बनेको छ । जुन प्रतिशतको हिसाबले ८२ दशमलव ६५ र संख्यात्मक हिसाबले नौ सय ९१ जनाले कमी हो ।

भ्रमणकर्तामध्ये अधिकांश विदेशी छन् भने केही संख्यामा आन्तरिक पर्यटकहरू पनि रहेको निकुञ्जका सूचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिए । असार, साउनलाई खुम्बुमा अफसिजन नै मनिए पनि असारमा अफसिजन पर्यटकको आवागमन उत्साहजनक थियो । तर साउनमा भने यो संख्यामा अत्यधिक गिरावट आएको छ । साउनमा निरन्तर मौसम प्रतिकूलताका कारण हवाई उडान हुन नसक्दा पर्यटक आवागमन प्रभावित बनेको निकुञ्जले जनाएको छ । मौसम खुलेको समयमा तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तथा अवतरण बाक्लिने गरेको छ । सोही कारण निकुञ्ज क्षेत्र प्रवेश गर्ने पर्यटकको संख्या उत्साहजनक हुने गर्छ । तर मौसममा खराबी आउनेबित्तिकै उक्त संख्या घट्ने गरेको सूचना अधिकारी मण्डलले बताए ।

साथै, नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्घटना न्यूनीकरणका लागि भन्दै दुर्गम भेगका विमानस्थलमा उडान तथा अवतरणमा थप नियम लागू गरेका कारणले गर्दा पनि लुक्लाको उडानमा ह्रास आएको विमानस्थल स्रोतले जनाएको छ । वर्षात्को समयमा हेलिकोप्टर उडानमा समेत प्रधिकरणले कडाइ गरेको छ भने जसका कारण खुम्बुको पर्यटक आवागमनमा ह्रास आएको जानकारहरू बताउँछन् । खुम्बु भ्रमणका लागि आउने पर्यटकले हवाई मार्ग नै प्रयोग गर्ने गर्छन् । लुक्लासम्म सडक नपुगेका कारण केही पर्यटकले मात्रै स्थलमार्गको प्रयोग गर्ने गरेका छन् । सल्लेरीबाट काँडेथाम डाँडासम्म कच्ची सडक पुगेको भए पनि वर्षात्ले सडक जीर्ण हुँदा सल्लेरी–थामडाँडाको यात्रा कष्टकर रहेको यात्रुहरू बताउँछन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया