काठमाडौं, वैशाख २४
टिप्पणी : लकडाउनका कारण मुलुकको दैनिकी कष्टकर बनिरहेको छ । अहिले सम्पूर्ण विश्व नै लकडाउन छ भन्दा फरक नपर्ला । लकडाउन कहिले र कुन बेलासम्म जारी रहला त्यो पनि यसै भन्न सकिने अवस्थामा अहिले छैन । कोरोना भाइरस महामारीको संक्रमण विश्वभर फैलिँदो क्रममा रहेको छ । नेपाली जनताले यो भयावहबाट कहिले मुक्ति पाउने हुन अहिले नै आँकलन गरिहाल्न सकिने अवस्था छैन । गत चैत्र ११ गतेदेखि मुलुकभर लागू गरिएको लकडाउनका कारण लाखौँ मजदुरहरू कामविहीन भएका छन् । स्कुल, कलेज, उद्योग, कलकारखानालगायत अन्य पनि ठप्प छन् । अत्यावश्यक सेवाबाहेकका कुनै पनि कलकारखाना उद्योगहरू स्वतः बन्द भएपछि बेरोजगारहरूको संख्या दर झ विकराल बनेको छ ।
रोजगारीको लागि विदेश गएकाहरूले पनि कोरोनाको कारण रोजगारी गुमाएर अलपत्र अवस्थामा बसेका छन् । उनीहरू सरकारले कुन दिन स्वदेश फर्काइदेला भनेर दिन कुर्दै बसिरहेका छन् । यता मुलुकभित्रै दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका लाखौँ मजदुरहरू पनि कोरानाको संक्रमणको डरले उद्योग, कलकारखाना बन्द भएर पूर्णरूपमा बेरोजगार भएका छन् । दिनभर काम गरेर बिहान, बेलुकीको छाक टार्नेहरूको बेहाल भएको छ । उनीहरूको अहिले चुलो निभेको अवस्था छ । कामविहीन भएकाहरूलाई सरकारले स्थानीय निकायमार्फत उपलब्ध गराउने भनेको राहतमा पनि राजनीतिकीकरण गरिएको छ । स्थानीय सरकारले राहतको लागि पनि नागरिकता र आफू बसेको घरभेटीको सिफारिस माग्न थालिएपछि घोषित राहत पनि उनीहरूले सजिलै प्राप्त गर्न सकिरहेको छैनन् । केही घरभेटीले त श्रमिक तथा मजदुरहरूको राहतमा पनि आफैं दावी गर्दै लिएको पाइएको छ ।
मे ५ अर्थात् वैशाख २३ कार्लमाक्सको जन्मदिन पनि हो । उनले भनेका थिए, ‘एउटा उद्योगमा मालिकको जति अधिकार हुन्छ, मजदुरको पनि त्यतिकै बराबरी हक र अधिकार रहन्छ ।’ तर, आज उद्योग कलकारखानामा वर्षौंदेखि काम गर्दै आएका मजदुरहरूलाई मालिकहरूले कामबाट बिदा दिएका छन् । त्यो पनि खाली हात । लकडाउनका कारण उद्योग, कारखाना बन्द गर्नुपरेको भन्दै उनीहरूलाई कामबाट बिदा दिइएको छ । उनीहरू कामबाट निकालिएका कारण गन्तव्यहीन भएका छन् । अहिले उनीहरूको रोजीरोटी खोसिएको छ । उनीहरू कामविहीन र बेरोजगार मात्र भएका छैनन् भोकभोकै बस्न बाध्य भएका छन् ।
लकडाउनको कारण घर पनि जान सकेका छैनन् । जबर्जस्ती गएकाहरू पनि स्थानीय निकायले खडा गरेका क्वारेनटाइनमा बसेर दिन बिताइरहेका छन् । उता घरमा आफ्ना परिवार र बालबच्चा भोकभोकै बसेको पिरलो उनीहरूलाई छ । लकडाउन खुलेपछि भोलिका दिनमा रोजगारीमा फर्किने कुरामा उनीहरूको कुनै ग्यारेण्टी छैन । परिस्थति अनुकुल नभएसम्म मालिकले काममा बोलाउने स्थिति छैन । वर्षौंदेखि त्यही कारखानामा काम गर्दै लखपतिबाट मालिकलाई अर्बपति बनाउँदा पनि उनीहरूको जीवनस्तर जहाँको तहीँ छ ।
त्यही उद्योगको कमाइबाट मालिकले आफ्ना छोराछारीलाई विदेश पढ्न पठाएका छन् । गाडी घोडा चढेर विलासी जिवन बिताइरहेका छन् । तर, तिनै मजदुर आज खाली हात कामबाट बिदा भएका छन् । बन्द अवधिको तलब वा ज्याला श्रमिक मजदुरहरूलाई दिन सरकारले दिएको निर्देशनलाई उनीहरूले अवज्ञा गर्ने जनाउ दिइसकेका छन् । सरकारले निजी क्षेत्रका प्रतिष्ठानहरूका सहुलियत दरको ऋण लिनसक्ने गरी निर्णय पनि गरिसकेको छ । यही रकमबाट भए पनि उनीहरूलाई लकडाउन अवधिभरको सेवा सुविधा दिन भनेको छ । तर, उनीहरूले आनकानी मात्र होइन साढे १२ प्रतिशत मात्र दिने बताएका छन् । उद्योगीहरूको यो शर्तले मजदुरहरूलाई झन् मर्माहत बनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया