Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसगरमाथा क्षेत्र जोड्ने सडक दुई पटक शिलान्यास !

सगरमाथा क्षेत्र जोड्ने सडक दुई पटक शिलान्यास !


सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट माप्यदूधकोशी हुँदै सगरमाथा क्षेत्र जोड्ने सडक आयोजनाको कालोपत्रेको शिलान्यासमा राजनीतिकरण गरिएको छ । सो आयोजनामा कांग्रेस र एमालेबीच व्यापक राजनिति हुँदा एकै हप्तामा दुई पटक एउटै आयोजनाको शिलान्यास गरिएको छ ।

संविधान दिवसको अवसर पारेर असोज ३ गते सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले शिलान्यास गरिसकेको सो सडकखण्ड कालोपत्रेको शुक्रबार फेरि प्रतिनिधिसभा सदस्य मानवीर राईले पनि शिलान्यास गरेका छन् । संघीय सरकारको ४० करोड ९० लाख ८४ हजार ९ सय ३८ रुपैयाँको लागतमा सुरु हुन लागेको सो सडक कालोपत्रे शिलान्यासमा नेताहरूको होडबाजी चलेको हो । एक पटक शिलान्यास भइसकेको सडक कालोपत्रेको कामको फेरि शिलान्यास गर्न शुक्रबार प्रतिनिधिसभा सदस्य राईसहित प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, माप्यदूधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राई सल्लेरी पुगेका थिए । सल्लेरी–सिल्गुडीडाँडा–काँकु बासा– ओर्लाङघाट– जुभिङ–खरिखोला–लुक्ला– खुम्बु सडकअन्र्तगत पहिलो चरणमा करिब १५ किलोमिटर सडक कालोपत्रे हुने आयोजनाले जनाएको छ । जसअन्र्तगत करिब छ किलोमिटर सडक सोलुदूधकुण्ड नगरपालिका क्षेत्रमा पर्ने र बाँकी नौ किलोमिटर सडक माप्यदूधकोशी गाउँपालिका क्षेत्रमा पर्ने जनाइएको छ । यस सडकखण्डको सुरुवात नगरपालिकाको ५ नम्बर वडा क्षेत्रबाट हुने आयोजनाले जनाएको छ । सडक खण्डको सुरुवात आफ्नो नगरक्षेत्रमा परेपछि सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले सो सडकको शिलान्यास गरेका थिए ।

शेर्पाले शिलान्यास गरेपछि यता माप्यदूधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले भने सडकको अधिकांश भाग आफ्नो पालिकामा पर्ने भन्दै प्रतिनिधि र प्रदेश सांसद लगेर दोस्रो पटक सडकको शिलान्यास गराएका हुन् । प्रतिनिधिसभा सदस्य मानवीर राईले जिल्ला सदरमुकामबाट सुरु भएको खुम्बु जोड्ने सडक कालोपत्रेले पर्यटनको क्षेत्रमा ठूलो महत्व राख्ने बताए । यस चरणमा १५ किलोमिटर मात्रै कालोपत्रे हुने भएकाले उक्त सडकलाई चाँडो खुम्बुको चौरीखर्कसम्म विस्तार गरी कालोपत्रे गरिनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘यो सडक कालोपत्रे भएपछि विश्वका पर्यटकहरू सगरमाथा क्षेत्र सरर गाडीमै पुग्ने छन् । जसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि जाँदा जहाजकै पखाइमा हप्तौँ कुनुपर्ने दिन जाने छ ।’ कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले विकासमा राजनीति घातक हुने बताए । नगरपालिका मेयर शेर्पातर्फ इङ्गित गर्दै राजभण्डारीले विकासमा राजनीति घातक हुने भएकाले सहमति र सहकार्यकै माध्यमबाट हुने विकासले निकाश दिने बताए । यस्तै, माप्यदूधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सगरमाथा क्षेत्र जोड्ने लाइफलाइन सडकको कालोपत्रेले पर्यटन प्रवर्द्धनमा ठूलो महत्व राख्ने बताए । माप्यको कृषि उपजको बजारीकरणका लागि खुम्बुको पर्यटन आधारस्तम्भ रहेको बताउँदै सडक कालोपत्रे आफूहरूको पहिलो प्राथमिकता भएको बताए ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया