छ महिनादेखि सञ्चारविहीन दार्चुलाको त्रिदेशीय सीमा
नरेन्द्रसिंह कार्की
दार्चुला, जेठ ६
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्याँस गाउँपालिकाको छाङ्गरु र तिङ्करमा छ महिनादेखि सञ्चार अवरुद्ध भएको छ । गत मंसिरमा व्यासका स्थानीयवासी खलङ्गा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चारविहीन भएको हो । छाङ्गरुमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण गत मंसिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । ‘हिमपातले छाङ्गरुमा राखिएको स्काइ फोन सेवाको टावरमा राखिएको सोलार र अन्य उपकरणमा क्षति पुगेको हुनसक्छ’, टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले भने । बढी हिमपातले हरेक वर्ष टावरमा क्षति पु-याउँदै आएको छ ।
गत वर्ष हेलिकोप्टरमार्फत टेलिकमका कर्मचारी गएर टावर निर्माण गरेको तर यो वर्ष छाङ्गरु पुगेर टेलिफोन टावर सञ्चालन गर्न बाटो अवरुद्ध हुँदा सम्भव नभएको टेलिकम प्रमुख गुरुङको भनाइ छ । ‘व्यासमा गत वर्ष सोलारमा ठूलो क्षति पुगेको थियो, अहिले के–के क्षति भएको छ भन्ने यकिन जानकारी छैन’, उनले भने, ‘यो क्षेत्रमा बढी हिमपात हुने हुँदा सोलार प्रणाली र रेडियो उपकरणमा क्षति पुग्ने गरेको छ ।’ उनका अनुसार स्काइ फोन सेवा पुनः सञ्चालन गर्न लकडाउनका कारण सामान ल्याउनै समस्या छ । ‘जिल्ला ल्याए पनि व्याससम्म पुग्न सकिने अवस्था अहिले छैन’, उनले भने ।
बाटोघाटो नै नभएको अवस्थामा तत्काल नै सेवा सञ्चालन गर्ने अवस्था नरहेको टेलिकम दार्चुलाले जनाएको छ । व्यासका स्थानीयवासी पनि गाउँ जान पाएका छैनन् । अहिले छाङ्गरु र तिङ्करमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुुगेका छन् । व्यासमा रहेको स्काइ टावरले छाङ्गरु र भारतका अधिकांश बस्तीमा कभरेज पु-याउँदै आएको थियो । भारतका गुञ्जी, छायालेक, कुटीका बासिन्दा र भारतीय सुरक्षाकर्मीले अधिकांश समय नेपालकै फोन सेवा प्रयोग गर्दै आएका छन् । अहिले व्याँसमा रहेको फोन सेवा सञ्चालन नहुँदा सुरक्षाकर्मीलाई समेत सञ्चारमा समस्या भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी गत वैशाख ३१ गते छाङ्गरु र तिङ्कर उक्लिएदेखि फोनमार्फत सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । ‘सशस्त्र र नेपाल प्रहरीको भिएचएफ सञ्चार सेटमार्फ सम्पर्क हुने गरेको छ’, उनले भने, ‘मोबाइलको टावर बिग्रिएका कारण फोनमार्फत सम्पर्क छैन ।’ उनीहरूले माथिबाटै सञ्चारसम्पर्कमा आउनुपर्ने बाध्यता छ । खोँचमा रहेको छाङ्गरुमा टावर हुँदा विगतमा पनि तिङ्करले फोन गर्न समस्या झेल्दै आएको थियो । अहिले झन छाङ्गरुमा पनि फोन बनाउन पहल हुन नसक्दा गएका सुरक्षाकर्मीले पनि समस्या झेलेका छन् ।
छाङ्गरुका स्थानीय सुधा बोहराले फोन सेवा नहुँदा सम्पर्कविहीन भएको बताए । गत वैशाख ३१ गते सेनाको हेलिकोप्टरमार्फत गाउँ पगेका बोहराले गाउँ गएदेखि कहीँ फोन सम्पर्क गर्न पाएका छैनन् । उनले गाउँ जानुअघि स्काइ र नमस्ते सीम लगेको बताउँदै भने, ‘सीम लगियो, टावर छैन । टावर बन्यो भने सम्पर्क गर्न चाहिन्छ भनेर सीम लगेको हुँ ।’ उता भारतले व्यास क्षेत्रमा टेलिफोन टावर राखेको छैन । भारतीय नागरिक पनि नेपालकै टेलिकमको सेवा प्रयोग गर्दै आएका थिए ।
दार्चुलाकै व्यास गाउँपालिका–१ छाङ्गरुमा स्काई, वडा नम्बर २ को राप्लामा नमस्ते, दुहुँ र व्यासकोशीमा क्षेत्र कौचुलामा स्काई नमस्ते टावर सञ्चालनमा ल्याइएको छ । छाङ्गरुमा नमस्तेको त्रि जी फोन सेवा राख्न सर्भे भए पनि बन्दाबन्दीका कारण काम सुरु गर्न नसकिएको टेलिकमले जनाएको छ । नौवटा स्थानीय तहका २४ ठाउँमा टेलिकमका टावर निर्माण र तीन ठाउँमा सर्वेक्षण गरेर सेवा प्रवाह गरेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
टेलिकमको पहुँच जिल्लाभरि पु-याउने उद्देश्यले हरेक स्थानीय तहमा टावर निर्माण गरी सेवा प्रवाह भइरहेको टेलिकमले जनाएको छ । टेलिकम दार्चुलाका अनुसार महाकाली नगरपालिकाभित्र छ वटा, शैल्यशिख नगरपालिकामा चार, मालिकार्जुन गाउँपालिका क्षेत्रमा पाँच, दुहुँ, नौगाड र व्यास गाउँपालिकामा दुई/दुई, अपी हिमाल, मार्मा र लेकममा एक/एक वटा टावर निर्माण भएर सञ्चार सेवाको पहुँच पुगेको टेलिकम प्रमुख गुरुङले जानकारी दिए ।
चालू आर्थिक वर्षभित्र व्याँसको छाङ्गरु, दुुहुँ र अपिहिमाल गाउँपालिकामा टेलिकमको टावर थप्ने गरी सर्भेको काम भएको गुरुङले जानकारी दिए । ‘लकडाउनका कारण यी क्षेत्रमा काम सुरु हुन सकेको छैन’, उनले भने, ‘बन्दाबन्दी खुल्नेबित्तिकै यी क्षेत्रमा काम सुरु हुने छ ।’ टेलिकमले व्याँस गाउँपालिका–१ छाङ्गरु, दुहुँ गाउँपालिका–१ ब्रह्मलेक तथा अपिहिमाल गाउँपालिका–३ पाथामा सर्भे काम भइसकेको जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया