Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदेवाही गोनाही नगरपालिकामा डेढ महिनामा ५ जना प्रशासकीय अधिकृतको सरुवा

देवाही गोनाही नगरपालिकामा डेढ महिनामा ५ जना प्रशासकीय अधिकृतको सरुवा


रौतहट, असार १
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रौतहटको देवाही गोनाही नगरपालिकामा डेढ महिनामा ५ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । कोरोना महामारीको रोकथाम र नियन्त्रण गर्न स्थानीय तह सक्रिय भइरहेको बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको निर्देशनमा डेढ महिनामा ५ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको जनप्रतिनिधिहरूले आरोप लगाएका छन् ।

कोरोना महामारीको रोकथाम र नियन्त्रणमा नगरपालिकाले लकडाउनको सुरुसँगै प्रभावकारी ढङ्गले कार्य अगाडि बढाइरहेको बेला एकाएक वैशाख ११ गते मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहको सरुवा गरी भोजबहादुर ऐडीलाई पठाएको थियो । ऐडी नगरपालिकामा हाजिर भएको एक हप्ता नपुग्दै फेरि मन्त्रालयले विजय कार्कीलाई वैशाख १८ गते हाजिर गरायो । लगत्तै कार्कीको सरुवा गरी वैशाख २८ गते मनोज रजकलाई पठाएको थियो । मनोज रजक हाजिर हुन खोजी रहेकै बेला मन्त्रालयले ५ दिनपछि उनको पनि सरुवा गरिदियो । नगरपालिकामा हाल एक जना नासुलाई प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ ।

मन्त्रालयले डेढ महिनामा पाँच जना प्रशासकीय अधिकृतको सरुवा गरेसँगै स्थानीय जनपतिनिधिहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको राजिनामा माग गरेका छन् । राजीनामा माग गर्ने सबै (उपमेयरसहित दुई तिहाईभन्दा बढी जनप्रतिनिधि) नेकपाबाट निर्वाचित जनप्रतिनिधि नै रहेका छन् । संघीय मन्त्रालयले नै नगरलाई अस्तव्यस्त बनाएर कोरोना फैलाउने वातावरण निर्माणमा लागेको उनीहरूको आरोप छ । उनीहरूले शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्री त्रिपाठीले राजिनामा नदिए प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने बताएका छन् । यदी प्रधानमन्त्रीले पनि उनलाई बर्खास्त नगरे नगरपालिकाको कार्यालय अनिश्चितकालीन बन्द गर्ने उनीहरूको भनाइ छ ।

नगर उपप्रमुख परनिया देवीसहित ६ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरूद्वारा जारी प्रेस वक्तव्यमा कोरोना महामारीसँग जुध्नुपर्ने महत्वपूर्ण घडीमा मन्त्रालयबाट सरुवाको नाटक मञ्चन गरि नगरलाई संकटमा पारेको उल्लेख गरिएको छ । अधिकृत नहुँदा क्वारेन्टाइन अस्तव्यस्त भएको र देशमै सबैभन्दा अव्यवस्थित क्वारेन्टाइन उक्त नगरपालिकामा बनेको उनीहरूको आरोप छ । ‘दुई वर्ष बस्दै नबसेको नगरसभा प्रप्र अधिकृत सिकिन्द्र साहको पहलमा केही महिना अगाडि मात्रै बैठक बसी सर्वसम्मत ढंगले बजेट पारित गरेको थियो । बजेट पारित भई कार्यान्वयनको जटिल अवस्थामाएवं कोरोना सन्त्रास र लकडाउनमा मन्त्रालयबाट सहयोग र सहजीकरण गर्नुको सट्टा निरन्तर हस्तक्षेप गरी अस्तव्यस्त पार्ने कार्य निन्दनीय छ ।

कोरोना सन्त्रास र लकडाउनमा डेढ महिनामा ५ जना हाकिम सरुवा गरी संघीय सरकारले कोरोनाप्रति कति गम्भीर तथा स्थिरता र सुशासनको कस्तो अभ्यास गर्दै छ ? आफैँमा विचारणीय छ’, उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज संकटपूर्ण अवस्थामा यो नगरपालिका अस्तव्यस्त भएको छ, क्वारेन्टाइनको अवस्था दयनीय छ, बजेट खर्च करिब करिब शून्य छ, राहत र बचाउको कार्य पनि कमजोर नै छ । यसको जिम्मा कसले लिने ?’ यस नगरपालिकाको प्रशासकीय अधिकृतको सरुवामा मन्त्रीको स्तरबाट भइरहेको अदृश्य चलखेल रोक्न र गलत कार्यको जवाफदेही बनाउन उनीहरूले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x