Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेश२५ हजार मेट्रिक टन चिनी आयात गर्न सिफारिस

२५ हजार मेट्रिक टन चिनी आयात गर्न सिफारिस


विराटनगर । पछिल्लो समय सरकार परिवर्तनसँगै चिनीको कारोबार गर्ने कारोबारीहरूले सेटिङ गरी चिनी आयातको कोटा खोल्न सफल भए पनि अधिकांश आयात हुने चिनी मल्टिनेसनल कम्पनीले आयात गर्ने भएपछि चिनीका कारोबारीहरू तिल्मिलाउन थालेका छन् ।

चिनीको आयात गरी ट्रेडिङको कारोबारबाट कमाउन चिनी व्यवसायीले सहुलियत दरको चिनी आयात खुला गर्न अर्थ मन्त्रालयमा व्यापक दबाब दिएका थिए । कारोबारीकै दबाबका कारण हालै सरकारले सहुलियतमा आयात गर्नका लागि २५ हजार मेट्रिक टन चिनीको कोटा सिफारिस गरेको थाहा भएको छ । तर सोमध्ये १९ हजार मेट्रिक टन चिनी आयात गर्न मल्टिनेसनल उद्योगको नाम भन्दै डाबर नेपाललाई सरकार आफैँले कोटा निर्धारण गरि दिइएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोर आन्दोलित बनेको छ । कोरिडोरमा सञ्चालित कन्फेक्सनरी र जुस उद्योगहरूले प्रयोग गर्ने चिनीको कोटा नै गायब गरी डाबर नेपालका नाममा सहुलियत दरको १९ हजार मेट्रिक टन चिनी आयातको सिफारिस गरेको दाबी कोरिडोर स्रोतले गरेको छ ।

स्रोत अनुसार मल्टिनेसनल कम्पनी डाबर नेपाल भारतीय कम्पनी भएका कारण उक्त कम्पनीले जुस मात्रै आठ सय करोडभन्दा बढी निर्यात गर्ने गरेको छ । उक्त कम्पनीले निर्यात पनि सबै भारतमा नै गर्ने हुुँदा यही सुुनसरी मोरङ औद्योगिक कोरिडोरमा उत्पादन भएर यही खपत हुने जुस एवं कन्फेक्सनरी उद्योगहरू चिनीका कारण धराशायी बन्ने अवस्थामा पुग्ने निश्चित भएको कोरिडोरका उद्योगीहरूले बताउन थालेका छन् । सरकारले सहुलियत दरमा आयातका लागि २५ हजार मेट्रिक टनमध्ये १९ हजार मेट्रिक टन डाबर नेपाल र बाँकी छ हजार मेट्रिक टन अन्य उद्योगीदेखि ट्रेडिङ कारोबारीलाई दिने बताइएको छ । सरकारको सो गलत निर्णयले सुनसरी मोरङ करिडोरदेखि देशभरकै जुस तथा कन्फेक्सनरी उद्योग अब धराशायी हुुने कुरा कोरिडोरका उद्योगीले बताउन थालेका छन् । एक उद्योगीले दिएको जानकारीअनुसार नेपालमा वार्षिक तीन लाख टन चिनीको खपत हुने गरेको छ । स्वदेशी उद्योगबाट एक लाख २५ हजार वार्षिक उत्पादन हुने र बाँकी चिनी अवैध बाटोबाट नेपाल भित्र्याएर चिनी उद्योगी आफैँले आफ्नो बोरामा नयाँ प्याक गरी बजारमा बिक्री गर्ने गरेको पनि ती उद्योगीले दाबी गरे ।

सरकारले चिनी आयातको कोटा वितरण गरेसँगै केही ट्रेडिङ कारोबारीले पछिल्लो समय पाकिस्तान, थाइल्यान्ड, ब्राजिल, बंगलादेश, युनाइटेड अरब इमिरेट्स आदि मुलुकबाट चिनी आयातको पहल नै सुरु गरिसकेको जानकारी पनि ती उद्योगीले दिए । स्रोतले दिएको जानकारीअनुसार विराटनगरबाट चिनीको आयात गर्ने व्यवसायीहरू नै लामो समयदेखि चिनी, सुपाडी, मटर र मरिचको आयातमा समेत संलग्न रहेका छन् । विराटनगरबाट चिनीको आयात गर्दै आएकामध्ये अरविन्द स्टोर्स, विजयदीप इन्टरनेसनल र एसबी एन्ड सन्सले चिनीको आयात गर्ने गरेको कुरा थाहा भएको छ । यी व्यवसायी फर्महरू नै विराटनगरबाट लामो समयदेखि समय अनुकूलको कारोबारमा सक्रिय रहेको जानकारी पनि व्यवसायीले दिएका छन् ।


क्याटेगोरी : बिबिध, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x