बाँकेका घरधनीद्वारा भाडावाललाई करोडौँको सहयोग
जिएम यादव
बाँके, साउन १५
विश्वव्यापीरूपमा फैलिएको कोरोनाका कारण भएको लामो लकडाउनले व्यापार व्यवसाय सञ्चालन हुन नसकेको भन्दै बाँकेका घरधनीहरूले लकडाउन अवधिको घरभाडामा छुट धमाधम गरिरहेका छन् । गत चैत्र ११ गतेदेखि भएको लकडाउनका कारण बजार, व्यवसाय बन्द रह्यो । व्यवसाय बन्द हुँदा व्यवसायीहरूलाई आर्थिक बोझ थपिँदै गयो । तर, नेपालगञ्जका केही घरधनीहरूले व्यवसायीको बोझ कम गरिदिएका छन् । उनीहरूले लकडाउन अवधिमा १ महिनादेखि लकडाउन अवधिभरसम्मको घरभाडा छुट गरेर व्यवसायीलाई सघाएका हुन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका कृष्णप्रसाद श्रेष्ठले आफ्नो घरमा पसल, व्यवसाय सञ्चालन गर्ने व्यवसायीका लागि दुई महिना भाडा निःशुल्कको घोषणा गरे । जसले गर्दा उनको घरमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई निकै ठूलो राहत भयो ।
संघका उपाध्यक्ष अमितकुमार बस्नेतले लकडाउन अवधिको घरभाडा पूर्ण छुट गरे । उनले कोरोना कहरको अवस्था रहुञ्जेल आफ्नो घरमा व्यवसाय गरिरहेकाहरूलाई विशेष सहुलियतको घोषणा पनि गरेका छन् । त्यस्तै, सहुलियत न्यूरोडस्थित सटर, पसलहरूका घरधनीमध्येका अगुवा ज्ञानेन्द्र श्रेष्ठले पनि गरेका छन् । कोरोना कहर र त्यसपछिको लकडाउनका कारण थलिएका नेपालगञ्जका व्यवसायीहरूका लागि घरभाडा छुट एउटा ठूलो राहतको विषय बनेको छ । नेपालगञ्जका एक सय ४१ घरधनीहरूले आफ्नो घरमा पेसा, व्यवसाय सञ्चालन गर्नेहरूलाई न्यूनतम १० हजारदेखि तीन लाखसम्म छुट गरेका छन् । ‘
व्यावसायिक क्षेत्र नै धराशायी भएकाले घरधनी र व्यवसायीबीच सौहार्दपूर्ण सम्बन्ध र हातेमालो आवश्यक छ’, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका घरधनी कृष्णप्रसाद श्रेष्ठले भने, ‘सरकारले पनि घरधनीहरूलाई घरभाडा छुट दिन आह्वान गर्दै मौद्रिक नीतिमार्फत सहुलियत घोषणा गरेको छ ।’ नेपालगञ्जमा आयोजित एक कार्यक्रममा सोमबार श्रेष्ठ र बस्नेतसहित एक सय ४१ जनालाई नेपालगञ्ज उद्योग वाणिज्य संघअन्तर्गतका दर्जनबढी वस्तुगत संघहरूले संयुक्तरूपमा सम्मान समेत गरे । खुद्रा व्यवसायी संघका संस्थापक अध्यक्षसमेत रहेका नेपालगञ्ज उद्योग वाणिज्य संघका सदस्य भीमबहादुर रानाभाटले तीन करोडजति घरभाडा छुट भएको अनुमान रहेको बताएका छन् ।
वस्तुगत संघ संयुक्त समन्वय समिति गठन गरेका उनीहरूले संकटका बेला व्यवसायीलाई साथ दिने घरधनीहरूलाई ‘मनकारी घरधनी’ भन्दै सम्मान गरेको हो । ‘व्यावसायिक क्षेत्र धराशायी भैरहँदा घरधनी र व्यवसायीबीच हातेमालो अत्यन्तै जरुरी रहेको छ’, केन्द्रीय सदस्य श्रेष्ठले भने । व्यावसायिक क्षेत्र अप्ठ्यारो परेको बेला घरधनीहरूले आफ्नो घरमा व्यवसाय सञ्चालन गर्नेहरूलाई साथ दिन पनि उनले आह्वान गरे । ‘होटल तथा पर्यटन क्षेत्र अझ बढी धराशायी रहेको छ’, उनले भने, ‘नेपालगञ्ज व्यावसायिक हब भएकाले यसलाई बचाइराख्न पनि सहकार्यको आवश्यकता रहेको छ ।’
चार महिनादेखि पसल, व्यवसाय पूर्णरूपमा बन्द हुँदा व्यावसायिक क्षेत्र तहसनहस रहेको छ । साना तथा मध्यम स्तरहरूका होटलहरूले घरधनीलाई ताला बुुझाउने अवस्था रहेको छ । ‘ताला बुझेका घरधनीले सम्पूर्ण सामान बेच्दा पनि भाडा असुल हुँदैन’, होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भीमलाल कंडेलले भने । यस्तो बेलामा गरिखाने अवस्थाको सिर्जना गरेर मात्रै घरधनीलाई पनि राम्रो हुने सुझाव दिइएको बताए । ‘हामी होटल व्यवसायी क्षेत्रका धेरै घरधनीसँग व्यक्तिगतरूपमै पनि अनुरोध गरिरहेका छौं’, उनले भने । अध्यक्ष कंडेलले धेरैजसो होटल व्यवसायीहरूलाई घरधनीले लकडाउन अवधिको छुट दिइरहेको जानकारी पनि दिए ।
वीपीचोकस्थित प्रभात होटल एण्ड रेष्टुरेन्ट बसेको घरका धनी हाजी मोहम्मद युनुसलाई सम्मान ग्रहण गरिरहँदा खुशी देखिन्थे । उनले झण्डै तीन लाखबढी भाडा आउने वीपीचोकको घरमा तीन महिनाका लागि पूर्ण छुट दिएपछि होटल सुचारु हुने अवस्था आयो । दैलेखी देउती होटललाई एक लाखबढी छुट दिएका जगतबहादुर खत्रीले भने, ‘व्यवसायी र घरधनीबीचको सहकार्यबाट अहिलेको संकट पार लगाउन सकिन्छ भनेरै घरभाडा छुट दिने निर्णय गरेको हो ।’
होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले सबैले सरकारको मात्र मुख ताक्नेभन्दा कोरोना कहरविरुद्धको सबैले एक–अर्काबीच पीडामा साझेदारी गर्नुपर्ने बताए । काफ्लेले भने, ‘व्यवसाय चले घरधनीको भाडा असुल हुन्छ, व्यवसाय बन्द गरेर घर खाली राख्दा घरधनीलाई खुशी हुने वातावरण बन्दैन ।’ प्रदेशसभा सदस्य सुरेन्द्र हमाल, मो. याकुव अन्सारी, होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, वस्तुगत संघ संयुक्त समन्वय समितिका संयोजक शिव दाहाललगायतले मनकारी घरधनीहरूलाई औपचारिक कार्यक्रमका बीच सम्मान गरेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया