Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाका कारण यार्साबाट सङ्कलन हुने करोडौँ राजस्व गुम्दै

कोरोनाका कारण यार्साबाट सङ्कलन हुने करोडौँ राजस्व गुम्दै


आशिष बहादुर सिंह
बझाड., साउन २९
यस वर्ष कोरोना भाइरसका कारण यार्साबाट सङ्कलन हुने करोडौं राजस्व गुमेको छ । जिल्लावासीको मुख्य आम्दानीको रूपमा रहेको यार्साबाट यस वर्ष एक रूपैयाँ पनि कमाउन नपाएको स्थानीयहरूले गुनासो गरेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने साइपाल तल्कोट, सूर्मा, मष्टा गाउँपालिकाका प्राय सबै र बुंगल र जयपृथ्वी नगरपालिकाको उत्तरी भेगका जनताको मुख्य पेसाको रूपमा रहेको यार्सा सङ्कलन अहिले पूर्णरूपमा बन्द रहेको छ । यार्सा सङ्कलन गरेर नै जीवनयापन गर्ने यहाँका स्थानीयहरू यार्सा सङ्कलन गर्न नपाएपछि मारमा परेको स्थानीय धर्म सिंहले बताए ।

यस क्षेत्रका बासिन्दाहरूको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि ७/८ वर्षका बालकदेखि ७० वर्षका वृद्धहरू पनि यार्सागुम्बा टिप्न लेकतिर जाने गर्थे । अहिले भने लकडाउनका कारण घरबाहिर निस्कन नपाउँदा यस वर्षका यार्सा खेरगएको नर धामीले बताए । चैत्र मसान्तबाट असार मसान्तसम्म यस क्षेत्रका सबै मानिस यार्सा टिप्न जाने गरेका थिए । उक्त बेलामा यस क्षेत्रका शैक्षिक संस्था समेत बन्द हुने काडाका शिक्षक बोहराले बताए ।

समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि यस जिल्लाभित्र मात्र नभई छिमेकी जिल्ला बाजुरा, बैतडी, हुम्ला, दार्चुला र अछामबाट पनि मानिसहरू आउने गरेको साइपालका मिलन धामिले बताए । यस वर्ष भने बाहिरी जिल्लाबाट पनि मानिसहरू आउन नपाएको धामीले बताए । यार्सागुम्बा टिप्न र व्यापार गर्नको लागि दाङ, सुर्खेत, रुकुम, रोल्पा, काठमाडौँ, भारत र चिनको तिब्बतबाट मान्छेहरू यहाँ आउने गरेका थिए । कोरोना महामारीका कारण यस वर्ष स्थानीय सरकारले यार्सा टिप्न रोक लगाएको छ ।

खडेरीका कारण अघिल्लो वर्ष निकै घटेको यार्सागुब्बुको उत्पादन यस वर्ष भने संकलकहरूले बढ्ने अनुमान गरेका थिए । यार्सा सङ्कलन गर्ने व्यक्तिहरूबाट साइपाल गाउँपालिका र सुर्मा गाउँपालिकाले राजस्व सङ्कलन गर्ने निर्णय गरेको साइपालका अध्यक्ष राजेन्द्र धामीले बताए । गाउँपालिकाको निर्णयअनुसार गाउँपालिकाभित्र बसोबास गर्ने व्यक्तिहरूलाई एक सय, गाउँपालिकाबाहिरका प्रतिव्यक्तिबाट पाँच सय र जिल्लाभन्दा बाहिरका व्यक्तिहरूले एक हजार रूपैयाँ राजस्व तिर्नुपर्ने निर्णय गाउँपालकाले गरेको थियो । यदी कुनै व्यक्तिले राजस्व नतिरेर यार्सा सङ्कलन गरेको फेला परे दोब्बर जरिवाना गरिने र गाउँपालिकाभित्र बसोबास गर्ने स्थानीयहरूको हकमा गाउँपालिकाबाट दिइने सेवा सुविधा नै रोक्का गर्ने निर्णय गरेको थियो । जिल्ला वन डिभिजन कार्यालयका प्रमुख कर्णबहादुर खातीका अनुसार यार्साबाट आम्दानी हुने राजस्व वर्षेनी घट्ने कम्रमा रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x