Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुबाट एकैदिन २ जना सुत्केरीको उद्धार

सोलुखुम्बुबाट एकैदिन २ जना सुत्केरीको उद्धार


महेन्द्र शाही
सोलुखुम्बु, भदौ ३
सोलुखुम्बुबाट सोमबार दुई सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर १ र खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ बाट एक–एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको हो । उनीहरूको स्वास्थ्य अवस्था कमजोर भएको र जिल्लामा उपाचार हुन नसकेपछि उद्धार गरी काठमाडौँ लगिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सोलुखुम्बुकी निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिइन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार नेचासल्यान गाउँपालिका वडा नम्बर १ की २५ वर्षीया मनिषा तामाङको शिशुको अवस्था अत्यन्त जटिल भएकाले आमा र शिशुलाई उपचारका लागि काठमाडौं लगिएको हो । त्यस्तै खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ की ३५ वर्षीया कामिनी तामाङको साल अड्किएकाले उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको हो । दुवै महिलालाई राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा सुत्केरी भएकी मनिषाको अवस्था सामान्य भए पनि शिशुलाई भने कृत्रिम श्वास दिएर बचाइएको स्वास्थ्य केन्द्र सल्यानका प्रमुख डा. अभिषेक सुमनले बताए । जिल्लामा उपचार हुन नसक्ने भएपछि राजधानी पठाइएको उनको भनाइ छ । शिशुको अवस्था अति जटिल भई तत्काल सघन उपचार कक्षमा राखेर उपचार गराउनुपर्ने भएकाले कान्ति बाल अस्पताल काठमाडौं लगिएको छ ।

यस्तै खुम्बु पासाङल्हामुबाट उद्धार गरिएकी महिलाको भने प्रसूति गृह थापाथलीमा उपचार भइरहेको छ । सोलुखुम्बु जिल्लाबाट हालसम्म ९ जना महिलाको उद्धार गरिएको छ । राष्ट्रपति महिला उद्धार गरिएकाहरूमा जिल्लाको महाकुलुङ गाउँपालिकाका तीन जना, सोताङ र खुम्बु पासाङल्हामु गाउँपालिकाबाट दुई/दुई जना, र नेचासल्यान गाउँपालिकाबाट एक जना रहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x