Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगत वर्ष ८९ अर्ब रुपैयाँको बजेट सहायता

गत वर्ष ८९ अर्ब रुपैयाँको बजेट सहायता


काठमाडौं, भदौ ४
गत वर्ष वैदेशिक सहायताअन्तर्गतको रकममा बजेट सहायताअन्तर्गतको रकम उल्लेख्य वृद्धि भएको पाइएको छ । गत आर्थिक वर्षमा ८९ अर्ब रुपैयाँको बजेट सहायता आएको छ । यस्तो सहायता आर्थिक वर्ष २०७५/०७६ मा ३४ अर्ब रुपैयाँ थियो भने आर्थिक वर्ष २०७४/०७५ मा २१ अर्ब रहेको थियो । सरकारले द्विपक्षीय र बहुपक्षीय सहायतालाई बजेटरी सहायताका रूपमा लिएर खर्च गर्ने नीति लिएकोमा पछिल्लो वर्षमा बजेटबाहिरको सहायता (अफ बजेट) सहायता घटाएर बजेटरी सहायता (अन बजेट) सहायता बढ्दै गएको अर्थ मन्त्रालयका अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले जानकारी दिए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको एक कार्यक्रममा नेपालले क्रमशः बजेटरी सहायता वृद्धि हुने क्रममा रहेको जानकारी दिएका हुन् ।

बजेटरी सहायता बढेसँगै प्राविधिक सहायतामा अर्थात् अफ बजेट सहायता घट्दै गएको तथ्यांकमा देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा प्राविधिक सहायता दुई सय १० मिलियन डलर आएको छ भने आर्थिक वर्ष २०७५/०७६ मा दुई सय ६३ मिलियन डलर प्राविधिक सहायता आएको नेपालले बताए । ‘सबै सहायतालाई प्रणाली ल्याउने नीति हो, यसअनुसार बजेट सहायता बढेको पनि छ’, नेपालले भने, ‘त्यसको बाबजुद प्राविधिक अनुदान बजेटभन्दा बाहिरबाट परिचालन हुन्छ, स्किल क्यापेसिटी ग्यापको कारण अन्तर्राष्ट्रिय प्रविधिलाई अडप्ट गर्नुपर्ने कारणले पनि यो आवश्यकता छ ।’ नेपालले अफ बजेट कार्यक्रमलाई पनि आयोजनाकै सहयोगका रूपमा आर्थिक भार घट्ने गरी नै परिचालन गरिने बताए । नेपालको सार्वजनिक ऋण गत आर्थिक वर्षसम्म १३ खर्ब ४६ अर्ब रुपैयाँ रहेकोमा छ खर्ब १३ आन्तरिक ऋण र सात खर्ब ३३ अर्बको वैदेशिक ऋण पुगेको उनले बताए ।

विगतका वर्षहरूमा ३० प्रतिशत कुल गार्हस्थ्य उत्पादन जीडीपीको ३० प्रतिशत हाराहारीमा ऋण रहने गरेकोमा गत वर्ष बढेको बताए । ‘विगत ३/४ आर्थिक वर्षमा ३० प्रतिशत जीडीपीको ३० प्रतिशत हाराहारीमा ऋण रहेकोमा गएको वर्ष अपेक्षित रूपमा आर्थिक वृद्धि नभएको कारणले र कोभिडको कारण केही आपत्कालीन सहयता छिटो–छिटो निर्णय गरेर लियौँ, जीडीपीको ३६ प्रतिशतजति ऋण पुगेको छ’, नेपालले भने । उनले ऋण कति लिने भन्नेमा निश्चित मापदण्ड कहीँ नभएको भए पनि ऋणको सही उपयोग गर्ने गरी अघि बढ्न आवश्यक रहेको बताए । सरकारले समृद्धिमा सहयोग पुग्ने गरी विकास सहायता परिचालन गर्ने नीति लिएको पनि उनले बताए । कतिपय विकास सहायता कार्यान्वयनमा समस्या देखिएकोमा क्रमशः सुधार गर्दै लैजानुपर्ने उनको भनाइ छ ।

‘खर्चको प्राथमिकीकरण गरेर जाने, आर्थिक पुनरूत्थानमा सहयोग पु-याउने आयोजनमा जोड दिने हो’, नेपालले भने, ‘आर्थिक सुधार, रोजगारी र दीगोपन सुनिश्चितसहितको विकास सहायता परिचालन गरेर अघि बढ्ने नीति छ ।’ नेपालले ऋण तिर्ने क्षमता र नेपालको आन्तरिक आम्दानी सही दिशामा रहेको पनि उनले दाबी गरे ।

गत वर्ष ८३ अर्बबराबरको दायित्व भुक्तानी गरिएको सो रकम राजस्वको ११ प्रतिशत र प्रत्यक्ष वैदेशिक लगानीको ३० प्रतिशत भएको उनले बताए । कोभिड १९ को कारण दुई पक्षीय सहायता परिचालनमा पुनः प्राथमिकीकरण हुँदै केही कम भए पनि बहुपक्षीय सहायतामा अहिलेसम्म फुल फेजमा परिचालन गर्न थालेको र नेपालले पनि सहायता लिइरहेको उनले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x