जिल्ला वन कार्यालयले बैजनाथ गाउँपालिकामा रुख कटानको छानबिन थाल्यो
जिएम यादव
बाँके, असोज १
कोरोना भाइरस महामारीको मौका छोपेर बैजनाथ गाउँपालिका वडा नम्बर ५ को सामुदायिक वन फँडानी गरिएको विषयमा डिभिजन वन कार्यालय बाँकेले कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । जिल्ला वन कार्यालयलाई जानकारी नै नदिई बैजनाथको सामुदायिक वनमा रुखहरू काटिएको पाइएपछि जिल्ला वन कार्यालय बाँकेले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले वन फँडानी भएको स्थलमा पुगेर कर्मचारीलाई मुचुल्का उठाई सामुदायिक वनलाई स्पष्टीकरणसहितको पत्र दिँदै तत्काल केही पनि नगर्न निर्देशन दिएको बताए । कोहलपुर सवडिभिजन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत रामकुमार चौधरीलाई अनुसन्धान अधिकृत तोकेर डिभिजन वन कार्यालयले वन फँडानीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो ।
अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगेर काटिएका रुखका ठुटाको साइज नापी स्थलगत अनुसन्धान गरेको थियो । डिभिजन वन प्रमुख क्षेत्रीले भने, ‘वन फँडानी भएको घटना बाहिरिएपछि सवडिभिजन कार्यालय प्रमुख रामकुमार चौधरीलाई अनुसन्धान अधिकृत तोकी अनुसन्धान थालेका छौँ । रुख काटिनुका विषयमा सामुदायिक वनसँग स्पष्टीकरणसहितको जवाफ मागेका छौँ । अनुसन्धानबाट दोषी ठहरिए कानुनी कारबाही हुन्छ ।’
डिभिजन वन कार्यालयको स्वीकृति विना कसैलाई पनि रुख, बिरुवा काट्ने अधिकार नभएको बताउँदै डिभिजन वन अधिकृत क्षेत्रीले भने, ‘सामुदायिक वन उपभोक्ता समूहले मन्त्रिपरिषद्लाई आवश्यक कागजात पठाएको र सोहीअनुसार रुखबिरुवा काटेको भन्ने बुझिएको छ । उक्त कागजात हामीले मागेका छौँ । त्यसमाथि छानबिन र अनुसन्धान हुन्छ । दोषी ठहरिए कारबाही गर्छौँ ।’
सामुदायिक वनले फँडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस भवन निर्माण गर्ने तयारी छ । कोरोना भाइरस महामारीको मौका छोपेर केही समयअघि करिब एक बिघा क्षेत्रफलमा रहेका अकासे, सागुन, सिसौलगायत बहुमूल्य प्रजातिका ठूलो परिमाणका रुख, बिरुवा अवैधरूपमा काटी गुपचुपमै समुहले व्यवस्थापन गरिसकेको बताइएको छ ।
वन समूहले काटेका रुखलाई तत्कालै ‘व्यवस्थापन’ गरिए पनि रुखका ठुटा भने अहिले ताजै छन् । रुख काटिएको स्थान अहिले उजाडजस्तै बनेको छ । वरिपरि घना जङ्गलभित्र वन काटिएको बाहिरबाट सहजरूपमा बुझ्न सकिन्न । जसका कारण सो क्षेत्रमा आउने जोकोहीले पनि त्यहाँको रुखबिरुवा काटिएको ठम्याउन सक्दैन ।
पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ सात किलोमिटरभित्र बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर– ५ रामपुर्वामा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रका ती रुख बिरुवा बैजनाथ गाउँपालिकाकै अग्रसरतामा काटिएको हो । साढे छ सय उपभोक्ता रहेको उक्त समूहले यसअघि भेलामार्फत बैजनाथ गाउँपालिकाको कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ बिघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरेको भए पनि रुखबिरुवा काट्दा डिभिजन वन कार्यालयसँग स्वीकृति भने लिइएन ।
सोही निर्णयबमोजिम गाउँपालिकाले त्यहाँको रुखबिरुवा काटेको हो । सामुदायिक वन क्षेत्र कुल ५२ दशमलव ६३ हेक्टरमा करिब पाँच हेक्टर जमीनमा गाउँपालिका र क्याम्पस बनाउने उपभोक्ता समूहले निर्णय गरेको बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया