Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध७० मेगावाटको दुधकोसी–२ जलविद्युत्लाई उत्पादन अनुमति

७० मेगावाटको दुधकोसी–२ जलविद्युत्लाई उत्पादन अनुमति


महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुमा निर्माण हुने दुधकोसी हाइड्रोपावर नेपालले (दुधकोसी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकामा पर्ने दुधकोसी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको आयोजनाका जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिए । यसअघि सोलुखुम्बुमा थुलुङ दुधकोसीमा ड्याम बनाई सुरुङमार्गबाट खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युत्गृह निर्माण गरी दुई सय ३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो ।

नेपाल सरकारको गौरवको आयोजना दुधकोसी जलाशययुक्त आयोजनाका कारण थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र गाउँपालिकाको वडा नम्बर ४ को खन्योखर्कमा विद्युत्गृह निर्माण गर्नेगरी उत्पादन अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत खनालले जानकारी दिए । यसअघि दुधकोसीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत जलेश्वरमा पु-याउने योजना थियो भने अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्यखर्कमा निर्माण हुने विद्युत्गृहमा पु-याइनेछ । जसका कारण उत्पादन क्षमतासमेत दुई सय ३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ ।

भारतको लगानीमा निर्माण हुन लागेको दुधकोसी हाइड्रोपावर प्रालि विद्युत् खरिदबिक्रीसम्बन्धी सम्झौता नेपाल सरकारसँग हुने चरणमा रहेको जनसम्पर्क अधिकृत खनालले बताए । यससम्बन्धी विद्युत् प्राधिकरणले सहमतिको लागि विद्युत् नियमन आयोजनामा पठाएको र त्यहाँबाट सहमति प्राप्त भएपछि कम्पनीसँग सम्झौता हुने उनको भनाइ छ । आगामी मंसिरसम्ममा सम्झौताको काम सम्पन्न हुने उनको विश्वास छ ।

त्यस्तै आयोजनासम्बन्धी पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत अहिले विद्युत् विकासमार्फत ऊर्जा तथा जलस्रोत मन्त्रालयमा सहमतिको लागि पठाइसकिएको छ । मन्त्रालयको आवश्यक अध्ययनपश्चात् वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुनेबित्तिकै निर्माणको काम सुरू गरिने उनको भनाइ छ । यो कार्य अबको दुई महिनाभित्र सम्पन्न हुने अनुमान गरिएको छ । त्यसपछि आयोजना निर्माणस्थल जाने बाटोको सर्वे, जग्गा अधिग्रहणलगायतका काम सुरू हुने कम्पनीले जनाएको छ । उक्त आयोजना सम्पन्न गर्न करिब १४ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया