Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बु सदरमुकाम सल्लेरी बजारको सडक निर्माण कार्य पुनः सुरु

सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारको सडक निर्माण कार्य पुनः सुरु


महेन्द्र शाही
सोलुखुम्बु ।
छ महिनादेखि रोकिएको सोलुखुम्बुको सदमुकाम सल्लेरी बजार क्षेत्रको मुख्य सडक निमाण कार्य सुचारु भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बन्दाबन्दीका कारण ह्युमपाइप ढुवानी गर्न नसक्दा रोकिएको काम पुनः सुरु भएको निर्माण कम्पनीका प्रतिनिधि राजु तामाङले जानकारी दिए । लामो समय ढुवानीमा समस्या हुँदा निर्माण कार्यमा प्रभाव पारेको उनको भनाइ छ । बन्दाबन्दी तथा निषेधाज्ञा हटेपछि ढुवानीमा सहज भएपछि निर्माण कार्य थालिएको उनले बताए ।

आयोजनाको सम्पर्कमा प्रतिनिधि तामाङले लकडाउन खुलेसँगै निर्माण सामान ढुवानी गरेर काम सुरु गरेको बताए । २०७५ माघ ७ गते १८ महिनामा काम सक्नेगरी सुरु भएको सडक आरसीसी गर्ने काम निर्धारित समयमा नसकिँदा स्थानीयले सास्ती बेहोर्दै आएका छन् । केही भागमा ढलान गरिएको भए पनि ढलान हुन बाँकी स्थानमा भने हिलोले यात्रा गर्न कठिन हुनेगरेको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ को जिरो प्वाइन्टदेखि सल्लेरीसम्मको एक किलोमिटर सडक निर्माणको कार्य हालसम्म ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले दाबी गरेको छ ।

गत वैशाखमा नै निर्माण सम्पन गर्नुपर्ने सम्झौता भए पनि लकडाउनका कारण सम्पन्न गर्न नसकेकाले समय थप गरी पुनः काम सुरु गर्न लागिएको तामाङको भनाइ छ । अहिले निर्माण कार्यको म्याद छ महिना थप भएको छ । जम्मा छ करोड बजेटमा खानी ब्राइट र नेसनल जेभीले संयुक्तरूपमा सडक निर्माणको जिम्मा लिएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया