Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखाका सहकारीहरूको साधारणसभा तथा निर्वाचन कात्तिकपछि मात्रै

दोलखाका सहकारीहरूको साधारणसभा तथा निर्वाचन कात्तिकपछि मात्रै


सुबास बस्नेत
दोलखा ।
दोलखा जिल्लाभित्र रहेका सहकारीले यो वर्ष कात्तिकसम्म कुनै प्रकारका वार्षिक कार्यक्रम तथा निर्वाचन र साधारणसभा गर्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाका सबै सहकारी एवं वित्तीय संस्थालाई आगामी कात्तिकसम्म कुनै प्रकारको भिडभाडका कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

जिल्लाका केही स्थानीय तहमा सक्रिय कोरोना संक्रमित रहेको तथा मुख्य चाडपर्व नजिकिँदै गएकोले थप भिडभाड गर्दा जोखिम बढ्ने भन्दै कात्तिक पछि मात्रै साधारणसभा गर्न जिल्ला प्रशासन र जिल्ला सङ्कट व्यवस्थापनले निर्देशन दिएको छ । उक्त निर्देशनअनुसार दसैँ तथा तिहारपछि मात्र साधारणसभा गर्ने जिल्ला सहकारी संघ दोलखाले जनाएको छ । यसअघि सहकारीहरूको छाता संस्था राष्ट्रिय सहकारी महासंघले सबै प्रकारका सहकारीलाई भिडभाड कम गर्ने विधि अपनाएर रेडियो टेलिभिजन तथा सामान्य सदस्य बोलाएर टोले साधारणसभासम्म गर्न सकिने जनाएको थियो ।

सोहीअनुसार जिल्लाका केही सहकारीले साधारणसभा गर्ने तयारी गरेपनि अब तत्काल नहुने संघले जनाएको छ । गतवर्ष साउनदेखि नै साधारणसभामा व्यस्त देखिने दोलखा सहकारी अहिले कोरोना भाइरसको कारण आफ्ना वार्षिक कार्यक्रम तथा निर्वाचन गर्न सकिरहेका छैनन् । दोलखामा जम्मा पाँच सय २३ वटा सहकारी रहेका छन् । त्यसमध्ये एक सय ५० वटा सहकारीको कार्यकाल सकिएको हुँदा यहीँ वर्ष निर्वाचन गर्नुपर्ने बाध्यता छ । केही दिनअघि दोलखाका सहकारीका अध्यक्ष तथा व्यवस्थापकको सयुक्त बैठकले चरणबद्धरूपमा अनलाइन तथा रेडियोको सहयोगबाट साधारणसभा गर्न सकिने सुझाव दिए पनि गत सोमबार तामाकोसी गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि हाललाई सबै प्रकारका भिडभाड हुने कार्यक्रममा रोक लगाएको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जानकारी दिए ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र दोलखाले विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ । शिवाकोटीको संयोजकत्वमा बुधबार बसेको बैठकले शैक्षिक संस्थाहरू विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्र सञ्चालन नगर्न भनेको छ । त्यसैगरी खुला स्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा जुलुस आदि गर्न गराउन, भिडभाड हुने गतिविधि जस्तैः जात्रा, महोत्सव, भोजभतेर आदि सञ्चालन गर्न गराउन निषेध गरेको छ ।

मठमन्दिरलगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्य पूजाबाहेकका गतिविधि सञ्चालन गर्न, बढी भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार व्यवसायअन्र्तगतका स्वास्थ्य मापदण्डविपरीत हुने क्रियाकलाप गर्न, चाडपर्वलगायतका धार्मिक सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट गर्न निषेध गरेको छ । त्यस्तै उद्योग, व्यापार व्यवसाय, निर्माण आदि कार्य गर्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डविपरीत श्रमिक कामदारको ओसारपसार कार्य गर्न र सहकारीलगायतका संघसंस्थाहरूले साधारणसभा, तालिम गोष्ठीजस्ता गतिविधि गर्न निषेध गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया