Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजनस्वास्थ्य कार्यालयको भवन अलपत्र

जनस्वास्थ्य कार्यालयको भवन अलपत्र


महेन्द्र शाही
सोलुखुम्बु, पुस १३
निर्माण कम्पनीको लापरबाहीका कारण स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माणकार्य अलपत्र परेको छ । निर्माणको जिम्मा पाएको निलगिरी निर्माण सेवा प्रालिले करिब ८० प्रतिशत काम गरेर बाँकी काम अघि नबढाउँदा भवन अलपत्र बनेको हो । २०७१ साल माघ २० गते दुई करोड ३४ लाख ६७ हजार ४ सय ६८ रुपैयाँमा भवन निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले दुई पटक म्याद थप गरेर पनि काम सम्पन्न गरेको छैन । फाप्लुमा निर्माणाधीन भवनको काम सम्पन्न गर्न २०७३ माघ १९ र २०७५ असार ३२ गते दुई पटक म्याद थप गरे पनि निर्माणको काम अघि बढाइएको छैन ।

१६ वटा कोठा र ३ वटा हलसहितको पक्की भवनको छाना, झ्याल, ढोका र फिनिसिङको काम बाँकी राखेर निर्माण कम्पनी सम्पर्कविहीन बनेको छ । कम्पनीका सञ्चालक युवराज डाँगीले फोन उठाउँदैनन् । पेटी ठेकेदार भने पैसा नआएकाले काम गर्न नसकिएको बताउँछन् । पटक–पटक ताकेता गरे पनि कामले पूर्णता पाउन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख कर्मचन्द राजवंशीले गुनासो गरे ।

२०७३ माघ १० गते तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा बसेको निर्माण कम्पनी र सरोकारवाला पक्षको बैठकमा २०७४ जेठ मसान्तसम्म भवन निर्माणको काम सम्पन्न गर्ने सहमति गरे पनि हालसम्म भवन निर्माणले पूर्णता पाउनसकेको छैन । सो बैठकमा निर्धारित मितिमा काम सम्पन्न नभए स्वास्थ्य कार्यालयले लिँदै आएको घरको भाडा निर्माण कम्पनीले तिरिदिने सहमति गरिएको थियो । प्रशासन कार्यालयमा भएको बैठकको निर्णयअनुसार काम नभएपछि स्वास्थ्य कार्यालयका तत्कालीन प्रमुख सुमन तिवारीले २०७६ साउन १५ गते आवश्यक पहलका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्र समेत पठाएको जानकारी दिए ।

सो पत्रको बोधार्थ प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी र सहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुंगालाई पनि पठाइएको छ तर कुनै पनि निकायबाट सार्थक पहल हुनसकेको छैन । तत्कालीन प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीलगायतको एक टोलीले अलपत्र भवनको अनुगमन समेत गरेको कार्यालय स्रोतले बताएको छ । नयाँ भवनबाट सेवा आरम्भको आशामा रहेको स्वास्थ्य कार्यालयले वर्षेनी पौने छ लाख भाडा तिर्दै आएको छ ।

निलगिरी निर्माण सेवा प्रालिले ठेक्का पाएपछि ओखलढुंगाका योगेन्द्र राजभण्डारीलाई कामको जिम्मा दिएको र राजभण्डारीले पेटी ठेकेदारको रुपमा फाप्लुका बुद्ध मगरलाई दिएको स्रोतले बताएको छ । स्थानीय ठेकेदार मगरले निर्माण कम्पनीबाट लाखौँ रकम लिन बाँकी रहेकाले काम सम्पन्न गर्न नसक्ने बताएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले निर्माण कम्पनीलाई पटक–पटक ताकेता भइरहेको बताएको छ । इन्जिनियर भुपाल मगरले कम्पनी सञ्चालकलाई पटक–पटक भेटेर बाँकी काम सम्पन्न गर्न दबाब दिइरहेको बताए । उनले भने, ‘फकाएर माने सम्झौता तोड्ने काम किन गर्नु भन्ने हो । २० प्रतिशत काम सम्पन्न गराउन कम्पनीलाई दबाब दिइरहेका छौँ ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x