Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचतराको सप्तकोशी पुल : आन्तरिक पर्यटन र आयआर्जनको माध्यम

चतराको सप्तकोशी पुल : आन्तरिक पर्यटन र आयआर्जनको माध्यम


देवेन्द्र कार्की
धरान ।
पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयवासीलाई यातायातमा सहज त भएकै छ, यो आन्तरिक पर्यटकहरूको गन्तव्य पनि बन्नथालेको छ । सप्तकोशी नदीमा पुल निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकहरू बढेका हुन् । कोशी पुल हेर्नकै लागि धरान, विराटनगर, इटहरीलगायत स्थानबाट पर्यटकहरू आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहल बढेपछि कोशी पुलको पारी बेलका नगरपालिका–७ मा स्तरीय होटलसमेत सञ्चालनमा आएका छन् ।

स्थानीय शरद कोइरालाका अनुसार हाल यहाँ आधा दर्जन होटलले सेवा दिइरहेका छन् । दैनिक करिब ५०/६० जना पर्यटक पुलसम्म आएर फर्किन्छन् र यो क्रम प्रतिदिन बढ्दै गएको उनले बताए । आफ्नो काममा पूर्व–पश्चिम हिँड्नेहरू पनि पुल वारिपारि सवारी रोकेर तस्बिर खिच्ने र एकैछिन् मनोरञ्जन लिने गर्छन् भने केहीले पुललाई गन्तव्यका रूपमा सवारी रोकेर खाना, खाजा खाने गरेका उनले बताए । कोरोना महामारीका कारण सुनसान रहेको कोशी पुल यसपालिको दशैँमा भने भरिभराउ भएको छ । सुनसरी र उदयपुर जिल्लालाई जोड्ने चतराको कोशी पुलमा दशैँको नवमीदेखि फोटो खिच्ने र घुम्ने मानिसको भीड लागेको स्थानीयवासी कालुराम राईले बताए ।

पूर्व–पश्चिम यात्रा गर्नेदेखि लिएर कोशी पुल घुम्नैका लागि आउने मान्छेको जमात बढेको उनले बताए । टीकाको दिन पुलमा साथीभाइ, परिवारसँग घुम्न जानेहरू थुप्रै थिए । कोशी पुलमा सेल्फी खिच्नेहरू, पुलमा उभिएर गफिनेहरू र कोशी नदीलाई नियाल्नेहरूको सङ्ख्या उल्लेख्य रहेको थियो । ‘टीकाको दिनदेखि पूर्णिमासम्म नै यहाँ पुलभरि मान्छेको भिड लागेको थियो । यहाँ आएर मानिसले भौतिक दूरी नै विर्सिएका छन्’, बेलका नगरपालिका–४ का शरद कोइरालाले भने, ‘प्राकृतिक दृश्यावलोकन गर्न र कोशी नदीमा सञ्चालित जेटबोट चलेको हेर्नेको निकै ठूलो भीड लाग्यो ।’ उक्त पुल पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेका थिए । एसियाली विकास बैंकको सहयोगमा यो पुल बनेको हो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०१५ अगस्ट ३ मा यसको उद्घाटन गरेका थिए । उदयपुरको मैनामैनी र सुनसरीको वराहक्षेत्र जोड्ने यो पुल सञ्चालनमा आएसँगै हेटौँडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको छ । पुल सञ्चालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा सहजै रूपमा जोडिएका छन् । यो पुलले मध्यपहाडी राजमार्गलाई पनि जोड्न सहयोग गर्छ । हेटौंँडाबाट धरान जोड्ने छोटो बाटो पनि खुलेको छ । हाल यो सडक मदन भण्डारी पूर्व–पश्चिम राजमार्गको रूपमा स्थापित भएको छ । पूर्वबाट राजधानीलगायतका पश्चिम नेपालको यात्रा प्रायः यही बाटो हुँदै मानिसहरू तय गर्दै आएका छन् ।

पुल नहुँदाको पीडा : पुल नबन्दा उदयपुर सुनसरी वारिपारि गर्न बाँसको नाउ बनाएर यहाँका स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । रामपुरबाट धरानको दूरी २२ किमि छ । तर उक्त दूरीको सहरमा किनमेल तथा स्वास्थ्य उपचारका लागि आउन रामपुर, फत्तेपुर, कञ्चनपुर, इटहरी हुँदै करिब १४० किमी दूरी पार गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो । हाल पुल बनेपछि त्यो बाध्यता हटेको छ । पुल बनेपछि स्थानीयवासीहरू एकै छिनमा धरान, विराटनगर पुगेर फर्कने गर्छन् ।

स्तरीय प्रविधिबाट बनेको पुल : करिब ७६ करोड ११ लाखको लागतमा यो पुल निर्माण सम्मन्न भएको थियो । यो रकममध्ये एशियाली विकास बैंकको ६० प्रतिशत अनुदान र नेपाल सरकारको बाँकी ४० प्रतिशत लगानी रहेको छ । कालिका कन्स्ट्रक्सन् प्रालिले यो पुलको निर्माण गरेको हो । दुई सय ६१ दशमलव ३ मिटर लामो यो पुलमा तीन वटा पिलर त्यसमाथि फ्लस राखेर माथिल्लो भागमा पिच गरेर बनाइएको छ । यो उच्च प्रविधिको भएको निर्माण कम्पनीले दाबी गरेको छ । यस्तो प्रविधि कर्लाणी पुल र कोशी पुलमा मात्र प्रयोग भएको उक्त निर्माण कम्पनीले जनाएको छ ।

सन् २००८ मा सप्तकोशी नदीमा आएको बाढीले सप्तकोशी ब्यारेजमा असर गरेपछि त्यसको विकल्पको रूपमा एडीबीको सहयोगमा सरकारले यो पुल निर्माण थालेको थियो । सन् २०११ नोभेम्बर १४ बाट सुरु भएको पुलको निर्माण पाँच वर्षमा सम्पन्न भएको थियो । कालिका कन्स्ट्रक्सनका निर्देशक पदम गुरुङले संसारकैस्तरीय प्रविधि ल्याएर पुल निर्माण गरिएको बताए । पुलको सम्भाव्यता अध्ययन झण्डै १३ वर्ष अगाडि गरिएको थियो । कालिका कन्स्ट्रक्सन प्रालिका निर्देशक पदम गुरुङका अनुसार कोशी पुल निर्माण भौगोलिक हिसाबले कठिन थियो ।

पानीमाथि तीनवटा पिलर निर्माणका लागि पायल फाउण्डेसन भएको ८ मिटर चौडाइ र २६२ मिटर लम्बाइको पुल निर्माणका लागि पिलर नै पानी मुनि २० मिटर खनिएको छ । पानीमुनि खन्न क्यानडाबाट डब्बल रोटरी मेसिन डीआर४० कम्पनीले ल्याएको थियो । उक्त मेसिनले आफैँ खन्ने र खनेका स्थानमा पाइप पनि आफैँ लगाउँछ । जसका कारण खनेका स्थानमा पानी पर्न पाउँदैन । २० करोडमा कम्पनीले सो मेसिन ल्याएको र कोशी नदीको उक्त पुल बनाउन प्रयोग भएपछि अन्य कुनै काममा पनि सो मेसिन प्रयोगमा नआएको पनि निर्देशक गुरुङले बताए ।

पूर्व–पश्चिम जोड्ने वैकल्पिक पुल : भारतले सप्तकोशीमा ब्यारेज बनाएको छ । उक्त ब्यारेजको अवधि ५० वर्षको थियो । आयु सकिएको पाँच वर्ष बितिसकेको छ । उक्त पुल कुनै पनि बेला भत्कन सक्ने सम्भावना भएकाले नेपालको पूर्व र पश्चिम जोड्न यही पुल विकल्प हो । हाल सुनसरीको पकलीस्थित कान्छीचोक, नहडा, चतरा, कोशी पुल, उदयपुरको रामपुर, सप्तरीको फत्तेपुर, कञ्चनपुर निस्किने ५१ किमी अर्को सडक निर्माण भइसकेको छ । यस सडकलाई गाईघाट जोड्ने काम पनि सम्पन्न भएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत चार लेनको सडक उदयपुरको बेलटार, भिमा हुँदै गाईघाटसम्म सडक निर्माण भइसकेको छ । केही स्थानका खोलामा पुल निर्माण हुन मात्र बाँकी रहेको छ । पुल निर्माण अघि सुख्खा रहेका उक्त क्षेत्रमा आर्थिक चहलपहल समेत बढेको छ । प्रति बिघाको एक लाख पर्ने जग्गा हाल रोपनीको पाँच लाखसम्ममा बिक्री भइरहेको स्थानीयवासी रमेश राईले बताए । उनले यहाँ व्यापार व्यवसाय पनि फष्टाएको तर यति बेला भने कोरोना महामारीका कारण आर्थिक मन्दि रहेको बताए ।

उत्पादन सहरसम्म पु-याउन सहज : पूर्वी पहाडी जिल्लाका कृषि उपजको प्रमुख बजार धरान हो । त्यहीँबाट व्यापारीले ती उत्पादन इटहरी, विराटनगर, काँकडभिट्टा हुँदै भारतका विभिन्न सहरमा बेच्ने गरेका छन् । नगन्य मात्रामा ताजा सागसब्जी भारत निर्यात हुने गरेको छ । उदयपुर, खोटाङ, भोजपुरका उत्पादन धरान लान हाल सजिलो भएको चतराका व्यापारीे बताउँछन् । पुल सञ्चालन भएपछि उदयपुरका बेल्टार बसाहलगायत स्थानबाट मात्र आफ्ना उत्पादन सहज रूपमा बेच्न पाएका छन् । ‘पुल निर्माणले उदयपुरको पूर्वी भेगको चौदण्डी र बेलका नगरपालिकाका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ’, स्थानीयवासी दीपेन्द्र राईले भने ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया