Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअधिकांश उद्योग खाद्य ऐनविपरीत सञ्चालन, ऐन उल्लंघन गर्नेमा सबैभन्दा बढी पानी उद्योग

अधिकांश उद्योग खाद्य ऐनविपरीत सञ्चालन, ऐन उल्लंघन गर्नेमा सबैभन्दा बढी पानी उद्योग


काठमाडौं ।
नेपालका अधिकांश उद्योगहरू खाद्य ऐनविपरीत सञ्चालन हुने गरेको पाइएको छ । साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा खाद्यसम्बन्धीका एक हजार एक सय ८९ नमूना संकलन गरिएकोमा ७० नमूना मापदण्डअनुसार नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छन् । विभागले संकलन गरेको नमूनामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका २१, दानाका १६, तेल तथा घ्यूजन्य नमूना १४, खाद्यान्न १० लगायतका अन्य खाद्य पदार्थका नमूना रहेका छन् । यसरी खाद्य ऐन उल्लंघन गर्ने पानी उद्योगलगायत मापदण्डअनुसार सञ्चालन नभएका व्यवसायलाई कानुनी कारबाही गरिएको विभागले जनाएको छ ।

यस्तै विभागका अनुसार खाद्य स्वच्छता सर्भिलेन्सका लागि आठ सय ७६ नमूना संकलन गरिएको छ । सो अवधिमा न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा २६ उद्योगविरुद्ध मुद्दा चलाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । त्यसमध्ये पनि सबैभन्दा बढी पिउने पानीका पाँच उद्योग परेका छन् । खाने तेलका तीन, बेकरी तीन, दाना, चाउचाउ, मिठाइका दुई/दुईलगायत घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रङ, बियर, मटरफ्राइजस्ता खाद्य पदार्थ उत्पादन गर्ने उद्योग तथा व्यवसाय रहेका छन् । उक्त मुद्दामध्ये आठ मुद्दा न्यून गुणस्तरका, सात मुद्दा दूषितका, सात मुद्दा लेबललगायतका विवरण नमिलेका तथा बाँकी चार मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लंघनसम्बन्धी छन् ।

पहिलो चौमासिकमा मुलुकभर खाद्य र दाना उद्योग, होटल रेष्टुरेन्ट, राजमार्गका होटललगायत एक हजार आठ सय ७३ पटक निरीक्षण अनुगमन भएको छ । उक्त अवसरमा एक सय ५३ उजुरी कारबाही गरिएको छ । विभाग तथा मातहतका कार्यालयबाट भएको निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन नगर्ने ३४ उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूना संकलन गरी कारबाही अघि बढाइएको विभागले जनाएको छ । त्यसमा पनि सबैभन्दा बढी प्रशोधित पिउने पानीका उद्योग तथा व्यवसाय नै रहेका छन् ।

प्राप्त विवरणअनुसार पानीका १५ उद्योग, खाद्यान्न तथा दलहनका आठ, दूध तथा दुग्ध पदार्थका छ, तेल तथा घ्यूजन्यका तीन र अन्य तीन खाद्य व्यावसाय रहेका प्रवक्ता महर्जनले बताए । यसअवधिमा एक सय ५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरिएको, छ सय ३० उद्योग अनुज्ञापत्र नवीकरण तथा छ सय ४२ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको विभागले जनाएको छ । आव २०७७/७८ को पहिलो चौमासिक अवधिमा जम्मा नौ हजार ५५ आयात अनुमति जारी गरिएको छ । विभिन्न १२ नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा २५ हजार एक सय ५४ वटा नमूना प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको जनाइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया