Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारी

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारी


काठमाडौं ।
कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय सुरु गर्ने जमर्काेमा छन् ।

शंखरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए । ‘हामीले मिति नै तोकिएर विद्यालयमा पठनपाठन शुरु गर्नु भनेर भन्न मिल्दैन । कतिपय शिक्षक बाहिरबाट आउनुपर्ने हुन्छ’, प्रमुख श्रेष्ठले भने । यहाँँ २३ वटा सामुदायिक र ६ संस्थागत विद्यालय रहेको छ । यस्तै तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा संक्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानले बताए ।

कीर्तिपुर नगरपालिकालले संक्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्ने तयारीमा नरहेको जनाएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनका अनुसार दुई÷चार दिन विद्यालयमा पढाइ सुरु गरेर फेरि बन्द गर्ने स्थिति नआओस् भन्ने उद्देश्यले तत्काल विद्यालय खोल्ने तयारी नगरेको हो । ‘जाडो पनि बढिरहेको छ । अलि न्यानो समय आउँछ । पुसको १५ तिरबाट मात्र विद्यालय सञ्चालन गर्ने तयारीमा छौँ’, प्रमुख महर्जनले भने । कागेश्वरी मनोहरा नगरपालिकाले मंसिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । जोरविजोर प्रणाली लागू गरेर स्वास्थ्य मापदण्ड अपनाएर मंसिर २१ गतेबाट विद्यालय खोल्ने तयारीमा रहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया