Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधम्याग्दीमा १२ सडक र मोटरेबल पुल आयोजना अलपत्र

म्याग्दीमा १२ सडक र मोटरेबल पुल आयोजना अलपत्र


सन्तोष गौतम
म्याग्दी ।
म्याग्दीका १२ वटा सडक र मोटरेबल पुल आयोजना अलपत्र परेका छन् । निर्धारित समयभित्र सम्पन्न नभएका र अपेक्षाकृत भौतिक प्रगति नभएका आयोजनाको ठेक्का सम्झौता रकम चार अर्ब रुपैयाँ रहेको छ । लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का लिएका निर्माण कम्पनीले समयमै काम नसकेपछि अलपत्र परेका हुन् ।
लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का लिएका निर्माण कम्पनीले समयमै काम नसक्दा ग्रामीण क्षेत्रको विकासमा अवरोध तथा नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । वि.सं. २०७४ असारमा दुई अर्ब ५० करोड रुपैयाँमा ठेक्का सम्झौता भई २०७६ असारमा सकिनुपर्ने बेनी–जोमसोम सडक आयोजनाको भौतिक प्रगति ५० प्रतिशत, २०७६ माघमा सकिनुपर्ने ५ करोड ५३ लाख रुपैयाँमा सम्झौता भएको बेनी–दरवाङ सडक आयोजनाको ५१ प्रतिशत र २०७७ जेठमा सकिनुपर्ने २७ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पोखरेबगर–चित्रे सडक आयोजनाको भौतिक प्रगति ३८ प्रतिशत छ ।

रत्नेचौर–बेनी र बेनी–बरङ्जा सडक पनि समयमै पूरा हुनसकेको छैन । एक चरणको कालोपत्र भएको ९० प्रतिशत भौतिक प्रगति भएको रत्नेचौर–बेनी सडक गत वर्षात्को पहिरोले छियाछिया बनाएकाले पुनर्निर्माण गर्नुपर्ने भएको छ । बेनी–बरङ्जा सडक कालोपत्रको म्याद चैतसम्म छ । वि.सं. २०७६ जेठमा २२ करोड ५७ लाख रुपैयाँमा बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको बेनी–दरवाङ सडकको दोस्रो प्याकेजको सडक कालोपत्र गर्ने आयोजनाको म्याद २०७८ जेठसम्म भए पनि हालसम्मको प्रगति ३५ प्रतिशत छ ।

पैँतालीस प्रतिशत भौतिक प्रगति भएको २०७६ जेठमै १८ करोड ४१ लाख रुपैयाँमा एपेक्स–खड्का कृष्ण जेभीले ठेक्का लिएको गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडकको म्याद पनि २०७८ जेठसम्म हो । वि.सं. २०७६ साउनमा सकिनुपर्ने गौरी–पार्वती–रुपल जेभीले २०७५ असारमा चार करोड ३२ लाख रुपैयाँमा ठेक्का लिएको बेनी–गलेश्वर सडकको प्रगति ६७ प्रतिशत छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया