Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगाउँपालिकालाई स्थानीयद्वारा निःशुल्क जग्गा

गाउँपालिकालाई स्थानीयद्वारा निःशुल्क जग्गा


सोलुखुम्बु
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउन थालेका छन् । वडा नम्बर ४ का स्थानीयले गाउँपालिकाको भवन तथा अन्य कार्य प्रयोजनका लागि निःशुल्क जग्गा दिने बचनबद्धताबमोजिम गाउँपालिकाको नाममा जग्गा पास गर्न सुरु गरेका हुन् । गाउँपालिकालाई स्थानीयले करिब ५० रोपनी जग्गा निःशुल्क दिनेछन् । जसमध्ये केही जग्गादाता विदेशमा रहेका कारण अहिले करिब ३६ रोपनी जग्गा गाउँपालिकाको नाममा पास हुने माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए ।

अहिले गाउँमा नै रहेकाहरूबाट जग्गा प्राप्त हुन सुरु गरेको र बाँकी जग्गा पनि छिट्टै नै गाउँपालिकाको नाममा पास हुने जनाइएको छ । जग्गाधनी गाउँभन्दा बाहिर रहेको भए पनि गाउँपालिकाले जग्गा भोगचलन गर्न सम्बन्धित जग्गाधनीबाट अनुमति भने प्राप्त गरिसकेको छ । जिल्ला मालपोत कार्यालय सोलुखुम्बु स्रोतका अनुसार स्थानीय तीर्थमान राई, नौराज राई, थपिमाया राई, बिबामाया राई र रुन्चीमाया राईले गाउँपालिकाको नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएका छन् ।

माप्य दुधकोशी गाउँकार्यपालिकाको २०७४ पुस १३ गते बसेको बैठकले गाउँपालिकाको केन्द्र सबै वडाहरूको भौगोलिकरूपमा समान दूरीमा पर्ने, एउटै प्लटमा पर्ने जग्गा निःशुल्क उपलब्ध हुने वडा नम्बर ३ स्थित बासा स्वास्थ्य चौकी नजिकैको माझगाउँ खोलादेखि दाम्कुसम्मको सडक आसपासको क्षेत्रभित्र कम्तीमा ५० रोपनी जग्गा उपलब्ध हुने भौतिक पूर्वाधार भएको, भौगर्भिक र प्राविधिक दृष्टिकोणले समेत उपयुक्त ठाउँमा कायम गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार स्थानीयले पनि जग्गा उपलब्ध गराउन सुरु गरेका हुन् ।

जग्गा व्यवस्थापनका लागि कार्यपालिका सदस्य निमराज तामाङको संयोजकत्वमा कार्यपालिका सदस्य दिनेशकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अबिलाल राई सदस्य रहने गरी जग्गा व्यवस्थापन सहजीकरणको लागि समितिसमेत गठन गरेको थियो । गत कात्तिक २८ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको नाममा जग्गा पास गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको नाममा जग्गाधनीले जग्गा रजिष्ट्रेसन पास गरेपछि गाउँपालिकाको भवन तथा अन्य संरचना बनाउन सुरु गर्ने योजना रहेको छ ।

‘गाउँपालिकाको नाममा जग्गा पास हुन सुरु भयो, अब छिट्टै नै सम्भव भएसम्म चालू आर्थिक वर्षभित्र नै भवन निर्माणको कार्य सुरु गर्ने तयारीमा छौँ’, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले भने । अध्यक्ष राईका अनुसार गाउँपालिकाको निर्णयबमोजिम अब भौतिक निर्माण कार्य अघि बढ्नेछ । गाउँपालिकाको सभाहल यसअघि नै निर्माण सम्पन्न भई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा उद्घाटन समेत भइसकेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया