Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसरकारी जागिर छाडेर वैदेशिक रोजगार विदेशबाट फर्किएर ग्रिल उद्योग सञ्चालन

सरकारी जागिर छाडेर वैदेशिक रोजगार विदेशबाट फर्किएर ग्रिल उद्योग सञ्चालन


कञ्चनपुर ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका १ का युवा मिनबहादुर शाह चार वर्षअघि दक्षिण कोरियाबाट घर फर्किएका थिए । विदेशबाट फर्किएपछि हाल उनले ग्रिल उद्योग सञ्चालनमा ल्याएका छन् । स्वदेश फर्किएलगत्तै उनले भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा प्रतिभा ग्रिल उद्योग खोलेर ग्रिल व्यवसायमा जुटेका हुन् । विसं ०४७ सालमा शाहको परिवार पहाडघर अछामबाट कञ्चनपुरको बेलडाँडीमा आएका थिए ।

२०५४ सालमा एसएलसी उतीर्ण गरेका शाह आईएसी अध्ययनका लागि ०५५ सालतिर महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा आएका थिए । गाउँमा शाहको अढाइ विघा जमीन थियो । त्यही जमीनको आसले उनी महेन्द्रनगरमा डेरा गरी विज्ञान विषय अध्ययन गर्दैका बखत ०५८ सालमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा उनको जमीन सरकारले खोसेपछि उनको पढाइ समेत प्रभावित भयो ।

विज्ञान विषय पढेर इन्जिनियर बन्ने सोच बोकेका शाहको सपना चकनाचुर भयो । गाउँतिर भएको खेत सरकारले लग्यो, घरपरिवारको अन्य बलियो आर्थिक आधार नभएका कारण उनका सामु चुनौती थपियो । त्यही बेला ०५८ सालतिरै तत्कालीन माओवादीले थालेको जनयुद्धकै बेला सरकारले सुरक्षा निकायतर्फ सशस्त्र प्रहरी बल नयाँ फौज संगठन स्थापना गरेको थियो । उनी पढाइ छाडेर सशस्त्र प्रहरीमा भर्ना भए ।

सशस्त्र प्रहरीमा भर्ना भएपछि उनले काठमाडौँलगायतका क्षेत्रमा काम गरे । सशस्त्र प्रहरीमा काम गर्दागर्दै उनले ०६८ सालमा दक्षिण कोरिया रोजगारीका लागि भाषा परीक्षा उतीर्ण गरे । त्यसपछि शाह वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पनि गए । दक्षिण कोरियामा ०६८ देखि ०७३ सम्म उद्योगमा काम गरेर स्वदेश फर्किए । स्वदेश फर्केर ९० दिनभित्र फेरि कोरियामा जान पाउने सुविधा भए पनि उनले त्यहाँ मासिक साढे तीन लाख रूपैयाँ कमाउने काम त्यागेर स्वदेशमै उद्योग स्थापना गरे ।

‘मैले विदेशबाट फर्किएपछि कृषितर्फ काम गरौँला भन्ने सोचेको थिएँ, तर सोचअनुरूप काम गर्न सकिएन’, मिनबहादुर शाहले भने, ‘उता कम्पनीले समेत ताकेता गरिरहेको थियो, तर म गइनँ, स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो, ग्रिल उद्योग खोलेँ ।’ विदेशमा भएका ज्ञानसीप सदुपयोग गरेको उनको भनाइ छ ।

विदेशमा पैसा छ भन्दैमा विदेशमै उर्बर उमेर व्यतित गर्नुभन्दा स्वदेशमै उत्पादनमा जुटेको उनले बताए । ठकुरी समुदायका भएकाले कहिलेकाहीँ उनलाई केही साथीभाइले विदेशको पैसाले अझै पुगेन, के फलामको काम गरेको होला, खाली दिनभर घट्ट ठोक्ने भनेर जिस्याउने समेत गरेका छन् । तर उनले त्यो विषयलाई नकार्दै आएका छन् ।

‘काम पनि जात, धर्म, समूह, लिंगको आधारमा गर्ने हो र ?’, उनले भने, ‘स्वदेशमै वस्तु तथा सेवा उत्पादन कला, सीप र क्षमता प्रदर्शन गर्ने हो, त्यसबाटै देश र जनताको भलो हुन्छ ।’ उर्बर उमेर विदेशमा काटेर बुढेसकालमा स्वदेशमा आएर फेरि पनि मानिसको जीवनका लागि चाहिने वस्तु विदेशमै भर पर्नुभन्दा केही श्रम, सीप र क्षमता सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । उद्योगमा १० जना नियमित र कामको चाप बढेपछि १५ देखि २० जनालाई रोजगारी दिँदै आएका छन् ।

वार्षिक एक करोडको कारोबार गर्दै आएका शाहले स्वदेशमै थुप्रै रोजगारीका अवसर रहेको बताए । ‘म युवालाई सीप सिकाउँछु, श्रम गर्न लगाउँछु, श्रमबापत ज्याला पनि दिन्छु, उनले भने, ‘मैले उद्योग खोलेर मेरो कमाइभन्दा अन्य युवालाई समेत सीप सिकाउनु र उसलाई तालिम दिनु पनि मेरो धर्म हो ।’ सीप सिकेपछि त्यसले सहजै रोजगारी पाउने उनले बताए । शाहले वैदेशिक रोजगारीका लागि भौतारिनुभन्दा स्वदेशमै केही गर्न सकिने उदाहरणीय काम गरेका छन् ।

बाल्यबालदेखि विद्यार्थी हकअधिकारका लागि होमिएका शाह अहिले विभिन्न समाजिक संघसंस्थामा समेत आबद्ध छन् । सेती महाकाली मेटल स्वतन्त्र संघकै कोषाध्यक्ष, नेपाल स्वयम्सेवक संघ सूप प्रदेशको प्रवक्ता तथा कञ्चनपुर इन्चार्ज हुन् । ग्रिल उद्योगसँगै कृषि पेसामा समेत काम गर्ने उनको इच्छा छ, जसका कारण घरमै छतमा समेत नमूनाका लागि उनले तरकारी फलाएका छन् ।

सृजनशील कर्ममा होमिने शाहले राजनीतिक क्षेत्रमा समेत रुचि राखेका छन् । राजनीति पनि आफू केही नगरी बसेर अर्डर दिने पेसा बनेको विश्लेषण गर्दै उनले राजनीति गर्नका लागि स्वयम्ले सबै काम गर्नुपर्ने सुझाव छ । बाल्यकाल, फौजी संगठनका र विदेशमा हुँदा जोडिएका सहकर्मीले समेत उनको कामको प्रसंशा गर्दै आएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया