Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैतेश्वर गाउँपालिकाले यसवर्ष थप चार किलोमिटर सडक कालोपत्रे गर्ने

बैतेश्वर गाउँपालिकाले यसवर्ष थप चार किलोमिटर सडक कालोपत्रे गर्ने


 दोलखा
आफ्नै लगानीमा सडक कालोपत्रे गर्न सुरु गरेको जिल्लाको बैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्षमा थप चार किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षबाट आफ्नै लगानीमा सडक कालोपत्रे गर्न सुरु गरेको थियो । गतवर्ष कालोपत्रे गर्न सुरु गरिएका सडकहरूमा नै चालू आवमा पनि थप कालोपत्रे गर्दै लैजाने गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए । अध्यक्ष लामाका अनुसार गाउँपालिकाले यसवर्ष चार किलोमिटर सडक कालोपत्रे गर्ने योजना बनाएको हो ।

अघिल्लो वर्ष गाउँपालिकाले तीन ठाउँका तीनवटा सडकमा आफ्नै लगानीमा कालोपत्रे गर्न सुरु गरेको थियो । सोही सडकमा यो वर्ष पनि गाउँपालिकाले कालोपत्रे गर्न बाँकी रहेको ठाउँमा कालोपत्रे गर्नेछ । गाउँपालिकाले बुस्ती–पुतलीकाठ सडक, गोपिखोला–गैरिमुदी र मैनापोखरी देउराली–क्षेत्रपा सडकमा कालोपत्रे गर्न सुरु गरेको थियो । गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यका अनुसार गाउँपालिकामा अघिल्लो वर्ष तीन किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिएको छ ।

यसवर्ष सोही सडकमा थप कालोपत्रे गर्न छ करोड बजेट थप गरिएको उनले जानकारी दिए । त्यसैगरी गाउँपालिकाले यसवर्ष पुतलीकाठ–मजुवा–बगर सडकको स्तर वृद्धि तथा मर्मत गर्न एक करोड बजेट छुट्याएको उनले बताए । गाउँपालिकाले एक नयाँ योजनासहित यसवर्ष करिब चार किलोमिटर सडक कालोपत्रे गर्न लागेको हो ।

गाउँपालिकाले यसवर्ष थप कालोपत्रे हुने सडकको समेत बोलपत्र खुला गरेर ठेक्का सम्झौता गरिसकेको छ । उक्त कालोपत्रेको काम सुरु गर्ने चरणमा रहेको गाउँपालिकाले जनाएको छ । साथै आठवटा वडा रहेको गाउँपालिकामा सबै वडा भवन निर्माणसम्पन्न भइसकेको छ । गाउँपालिकाले भौतिक संरचना निर्माण उल्लेख्य प्रगति हासिल गरेको स्थानीय जानकारहरूको भनाइ छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया