Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविद्यालय व्यवस्थापन समितिको चुनाव हारेको झोकमा एक युवाको खुँडा हानी हत्या

विद्यालय व्यवस्थापन समितिको चुनाव हारेको झोकमा एक युवाको खुँडा हानी हत्या


बझाङ ।
जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाको बान्नीचौर माध्यामिक विद्यालय व्यवस्थापन समितिको चुनाव हारेको झोकमा वडाध्यक्षसहितको टोलीले एक युवाको हत्या गरेका छन् । गाउँपालिका वडा न ३ बस्ने वर्ष २५ वर्षीय अमृत (लखन) सिंहलाई उनीहरूले मंगलबार राति ८ बजेको समयमा विद्यालयबाट घर जाँदै गरेको अवस्थामा धारिलो हतियार खुँडा प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो स्थानीय बान्नीचौर माविको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको झोँकमा नेकपा समर्थकहरूले सिंहमाथि खुँडा प्रहार गरेका थिए । सिंहको घटनास्थलमै मृत्यु भएको थियो । हत्यामा संलग्न भएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छबिस पाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकाश अयडी, केदार अयडी र ज्ञानबहादुर कठायत छन् । हत्याका क्रममा वडाध्यक्ष अयडी चढ्ने से१प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ ।

प्रहरीले मंगलबार राति सदरमुकाम चैनपुरको एक होटलबाट उनलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो । कठायतलाई स्थानीयले मंगलबार नै घटनास्थलबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । अर्का दुई आरोपी प्रकाश र केदारलाई थलारा गाउँपालिका–३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । हत्यामा संलग्न रहेको आशंका गरिएका सबै पक्राउ परिसकेको जनाउँदै खड्काले थप अनुसन्धान भइरहेको बताए ।

यसैबीच हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले नाराजुलुस गर्दै सदरमुकामभित्र चल्ने यातायात समेत बन्द गराएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा टायर बालेर हत्या अभियुक्तलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । हत्या भएका २३ वर्षीय सिंह नेपाल तरुण दल छबिस पाथीभेरा गाउँपालिकाका सदस्य समेत हुन् । नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर सिंहले राजनीतिक आवरणमा हत्या भएको भन्दै संलग्नलाई उम्काउन प्रयास हुनसक्ने आशंका व्यक्त गरे । ‘सत्ता र शक्ति प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुन सक्छ । यसमा हामीले निरन्तर खबरदारी गर्नै पर्छ,’ उनले भने ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया