Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधरुपन्देहीमा निर्माण उपकरणमा आगजनी, दोषीलाई कारबाही गर्न माग

रुपन्देहीमा निर्माण उपकरणमा आगजनी, दोषीलाई कारबाही गर्न माग


बुटवल ।
रुपन्देहीको सियारी गाउँपालिकामा सियारी पहुँच मार्गअन्तर्गतको सडक खण्ड निर्माणमा प्रयोग भइरहेको ट्रक र डिष्ट्रिब्युटर (मेसिन)मा अज्ञात समूहबाट बुधबार बिहान आगजनी भएको छ । गाउँपालिकाको भवनअगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिब्युटरमा आगजनी गर्दा कम्तीमा पनि ५० लाखभन्दा बढीको क्षति भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

निर्माण व्यवसायी संघ नवलपरासीका अध्यक्ष समेत रहेका लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका उपाध्यक्ष नविन ज्ञवालीको नविन कन्स्ट्रक्सनको लु.१.क ६९७६ नम्बरको ट्रक र डिष्ट्रिब्युटरमा आगजनी गरिएको हो । ती सवारी साधन पुष्पाञ्जली–समिर–जिम्बा जे.भी.द्वारा सडक निर्माणमा प्रयोग भइरहेका थिए ।

आगजनीका कारण दुवै उपकरणहरु पूर्ण रुपमा काम नलाग्ने गरी ध्वस्त भएका छन् । कोभिड–१९ को त्रासबीच पनि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीहरुलाई हतोत्साही गर्ने गरी अज्ञात समूहबाट भइरहेका हिंसात्मक घटनाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

निर्माण व्यवसायी र उनीहरुका उपकरणहरुको सुरक्षालाई लिएर महासंघले पटक–पटक प्रधानमन्त्रीसहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माणकार्य ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी महासंघले दिएको छ । तत्काल दोषीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीहरुलाई क्षतिपूर्ति दिन महासंघका महासचिव दाहालले माग गरेका छन् । साथै देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन पुनः एक पटक सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया