Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसीमा नाका बन्द हुँदा स्थानीय बजार प्रवर्द्धनमा सहयोग

सीमा नाका बन्द हुँदा स्थानीय बजार प्रवर्द्धनमा सहयोग


धन बहादुर जप्रेल
कञ्चनपुर ।
कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी गएको चैतदेखि बन्द छ । कोरोना भाइरसको संक्रमणका कारण बन्द गरिएको सीमा नाका कहिले खुल्छ भन्ने पनि केही टुंगो छैन । सीमा नाका बन्द हुँदा यहाँको स्थानीय बजारको भने प्रवद्र्धन भएको छ । अरुबेला स–साना सामान किनमेल गर्न पनि महेन्द्रनगरबाट सीमावर्ती सहर बनबासा जाने नेपालीहरू सीमा बन्द भएपछि भने महेन्द्रनगर बजारमबाटै सामान किनमेल गरिरहेका छन् ।

घरमा चाहिने दैनिक खाद्यवस्तु नुन, चिनी, चियापत्ती, कपडा, तेल, दाल, चामल, सोडा, साबुनलगायत आवश्यक सामग्री ल्याउन नेपालीहरू भारतको सीमावर्ती सहर वनबासा धाउने गरेका थिए । सीमा खुलेको समयमा सुनसान हुने महेन्द्रनगर बजारमा यतिबेला चहलपहल बढेको छ । सीमा नाका बन्द हुँदा स्थानीय बजारले लय लिएको छ । महेन्द्रनगर बजारका किराना व्यवसायी भुवन भाटका अनुसार विगतको समयमा एक केजी चिनी किन्न भने पनि नेपाली ग्राहकहरू वनबासा जानेगरेका थिए । सीमा नाका बन्द भएपछि भने पहिले भारतीय कम्पनीको सामान खोज्दै भौतारिने नेपाली ग्राहक अहिले भने नेपाली उत्पादन खोज्दै आउने गरेका छन् ।

विगतमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ खल्ला मछेट्टीदेखी पुनर्वास नगरपालिकाको डोकेबजारसम्म भारतीय सिमाना जोडिएको ठाउँबाट नेपालीहरू सीमावर्ती सहर भारतबाट घरायसी उपभोग्य सामान किन्दै आएका थिए । कोरोनाका कारण धेरै व्यापारी तथा व्यवासायीहरूलाई घाटा भएको अवस्था भए पनि भारतसँग जोडिएका नेपाली बजारका व्यवसायीलाई नाफा भएसँगै चहलपहल नै बढेको व्यवसायीको भनाइ छ ।

विगतमा भारतीय बजार प्रवर्द्धन हुँदा नेपाली बजार धराशायी हुनेगरेको थियो, अहिले भने नेपाली व्यवसायीको व्यवसाय राम्रै फस्टाएको छ । भारतबाट उत्पादन भएर आउने केही सामान नेपालमा पनि उत्पादन हुन थालेका छन् । व्यवसायी नन्दलाल भट्टले पनि विगतको भन्दा अहिले व्यापार बढेको बताउँछन् । अहिले स्थानीय बजार प्रवर्द्धन हुँदा नेपाली बजार भारतीय बजारजस्तो भएको उनले बताए ।

सीमा नाका बन्द हुँदा सीमावर्ती भारतीय बजार भने सुनसान भएका छन् । भारतीय बजार सुनसान भएपछि नेपाली बजारमा व्यवसायीको उत्साह समेत बढेको छ । यद्यपि भारतीय तरकारी फलफूल भने अहिले पनि आयात भइरहेको छ । भारतीय उत्पादनलाई रोक्न सक्यो भने नेपाली उत्पादनले राम्रो अवसर पाउने भट्ट बताउँछन् । उनका अनुसार कोरोनाले यहाँको बजारलाई उत्साह पनि दिएको छ ।

कोरोनाले दिएको उत्साह अवसरलाई व्यवहारमा उतार्न सक्यो भने नेपाली बजारको ठूलो भविष्य रहेको उनले बताए । व्यवसायी इन्द्र बमले पनि सीमा नाका बन्द हुँदा भारत जाने ७० प्रतिशत नेपाली ग्राहक रोकिएको बताए । भारतीय बजार बन्द हुँदा सरकारलाई पनि फाइदा भएको उनको भनाइ छ । सीमा नाका खोल्नुभन्दा केही समय अझ बन्द गरिए स्थानीय व्यापारमा भने स्थान पाउने अपेक्षा व्यवसायीको छ । सीमा नाका बन्दको प्रभाव केही परे पनि सामन्य रुपमा हेर्दा स्थानीय बजारलाई भने फाइदा भएको बमले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया