Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवडा कार्यालय भवन निर्माण अन्तिम चरणमा

वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा


दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–६ नाम्दुको वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको ८० लाख रूपैयाँ अनुदानमा निर्माण हुँदै गरेको सो भवनको काम एक महिनाभित्र सकिने बैतेश्वर गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर–६ नाम्दुका वडा अध्यक्ष समशेर घिसिङले जानकारी दिए ।

घिसिङका अनुसार ११ कोठाको सुविधासम्पन्न पक्की भवन निर्माण सम्पन्न हुन लागेको हो । भवनका फिनिसिङ र रंग लगाउने काम मात्रै बाँकी रहेको उनले बताए । एक महिनापछि वडाले आफ्नै भवनबाट सेवा दिनेगरी तयारी गरिरहेको वडा अध्यक्ष घिसिङले बताए । यस्तै वडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको बजेटले सडक सोलिङको काम गरिरहेको छ । स्थानीय नागरिकलाई रोजगार प्रदान गर्दै वडादेखि पालिका जोड्ने सडक सोलिङ गरेको उनले बताए । सो वडाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम शीर्षकमा १७ लाख अनुदान आएको छ । सो रकमले नाम्दुदेखि गाउँपालिका जोड्ने २७ सय मिटर सडक सोलिङ गर्ने काम भइरहेको उनले बताए ।

त्यसैगरी वडाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न १० लाख रकम छुट्याएको उनले बताए । साथै वडा कार्यालय नजिक बुद्धको मूर्ति समेत निर्माण गरिएको छ । बैतेश्वर गाउँपालिकाको केन्द्र नजिक रहेको बैतेश्वर महादेवको मन्दिरदेखि सडकसम्म सिँढी निर्माण गर्दै तामाङ समुदायको बाक्लो बसोबास रहेको नाम्दु बजारमा गुम्बा पनि निर्माणसम्पन्न गरेको छ । सय दिनको रोजगारले हातमुख जोड्न सहज

सरकारले नेपालमा रहेका बेरोजगार नागरिकहरूको तथ्यांक संकलन गरी गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत एक जनालाई एक सय दिनबराबरको रोजगार दिने गरेको घोषणा गरेको छ । सोहीअनुसार दोलखाको बैतेश्वर गाउँपालिकाले पनि स्थानीय बेरोजगार नागरिकलाई रोजगार दिँदै विकास निर्माणको काम गरिरहेको छ ।

बैतेश्वर गाउँपालिका–६ नाम्दुका बेरोजगार सूचीमा समावेश भएका नागरिकले एक सय दिनबराबरको रोजगारले थोरै भए पनि हातमुख जोड्न सहज भएको बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको रकमले वडाले ग्रामीण सडकहरूमा सोलिङ गरिरहेको छ । सो वडाका स्थानीयहरू छोटो समयको लागि भए पनि रोजगार पाइएको खुशी छन् । उनीहरू सडक सोलिङ गर्नका लागि टिफिनमा खाजा बोकेर आउनेगरेको स्थानिय सिता नेपालीले बताइन् । गत वर्षहरूमा काम नहुँदा घरमा नै बाख्रा चराएर दिन काट्ने गरेको उनले सुनाइन् । तीन महिना काम गर्दा पनि परिवार धान्न सहज हुने उनको विश्वास छ ।

वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता सम्शेर घिसिङले वडाबाट केन्द्र जोड्ने मुख्य सडक २७ सय मिटर लामो रहेको र उक्त कार्यक्रमको बजेट सोही सडक सोलिङ गर्नको लागि खर्च गरिएको बताए । टोलअनुसार सबैलाई रोजगार प्रदान गर्ने उद्देश्यले बेरोजगार सूचीमा नाम समावेश भएका करिब एक सय ४० जनालाई सडक सोलिङ गर्न लगाएको उनको भनाइ छ । अहिले सो सडकमा तीन ठाउँबाट सडक सोलिङ भइरहेको छ । गाउँपालिकाले उक्त कार्यक्रमको बजेट सबै वडामा कच्ची सडकमा ढुङ्गा बिछ्याएर सोलिङ तथा नाला निर्माण गर्ने कामका लागि छुट्याएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया