Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआगोले घर खाएपछि गोठको बास !

आगोले घर खाएपछि गोठको बास !


दोलखा ।
दोलखाको गौरीशंकर गाउँपालिका ३ झ्याकुका तेन्जिङ शेर्पाको घरमा आगलागी भएपछि हाल उनको परिवार गोठको टहरामा बस्न बाध्य भएको छ । भूकम्पपछि राज्यले दिएको अनुदान र भारतमा गएर भारी बोकेर निर्माण गरेको घर जलेपछि उनको परिवार विचल्लीमा परेको हो । चार सन्तानसहित छ जनाको परिवार रहेको शेर्पाको हिजोआज माघको जाडोमा गोठमा सुतेर रात काट्नु परेको छ । घर आगोले खाएपछि उनी अहिले सदरमुकाम चरीकोटमा सहयोगी हात खोज्दै हिँडिरहेका छन् ।

माघ १५ गते उनको घरमा बिजुली सट भएर आगलागी हुँदा घरभित्र रहेको एक लाख नगदसहित लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्नलगायत सबै सरसामान जलेर नष्ट भएको थियो । आगलागीपछि उनलाई जिल्ला प्रशासन कार्यालय दोलखाको विपत् व्यवस्थापनले नगद १५ हजार सहयोग गरेको थियो । सो रकमले केही दिन गुजारा गरेका शेर्पा हाल आगोले क्षति गरेको घरमा छानो छाप्न सहयोग गर्ने निकाय भेटिन्छ कि भन्दै सदरमुकाम चरीकोटमा भौतारिइरहेका छन् ।

आफूले अमूल्य मत दिएर जिताएका स्थानीय जनप्रतिनिधिले पनि आफू संकटमा पर्दा समेत कुनै राहत उपलब्ध गराउन नसकेको शेर्पाले दुखेसो गरे । पछिल्लो दिनमा दोलखामा बिजुलीबत्तीको कारण दैनिक आगलागीका घटना हुने गरेको पाइएको छ । गत साता नै जिल्लाको बैतेश्वर गाउँपालिकाको मिर्गे र भीमेश्वर नगरपालिकामा पनि विद्युत् सट भएर आगलागी हुँदा लाखौँको खर्च भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया