Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधछात्रवृत्ति रकम घरायसी प्रयोगमा खर्च

छात्रवृत्ति रकम घरायसी प्रयोगमा खर्च


बीरगंज ।
पर्साको सामुदायिक विद्यालयहरूमा छात्रवृत्ति वितरणमा ढिलाइ भएको छ । चालू आवमा सामुदायिक विद्यालयमा अध्ययनरत दलित विद्यार्थी तथा छात्राहरूलाई वितरण गर्नुपर्ने छात्रवृत्तिको रकम करेन्ट ब्याज (सीमित अवधिको)मा लगाएर मुनाफा लिने कार्य भइरहेको पाइएको छ ।

लकडाउन तथा निषेधाज्ञाका कारण लामो समयसम्म बन्द रहेका सामुदायिक विद्यालयहरू पर्सा जिल्लामा कात्तिकदेखि सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएको तीन महिना बितिसक्दा पनि सम्बन्धित सामुदायिक विद्यालयहरूले छात्रवृत्ति वितरण गरेका छैनन् । ठोरी, पटेर्वासुगौली, जगरनाथपुर, धोबिनीलगायतका गापामा रहेका सामुदायिक विद्यालयहरूमा अहिलेसम्म छात्रवृत्ति वितरण नभएको स्रोतले जनाएको छ ।

पर्सा जिल्लाका १४ वटै पालिकाको अवस्था यस्तै रहेको छ । छात्रवृत्ति वितरणका लागि गत आवमा रकम निकासा भइसकेको छ । चालू आवको लागि गत वर्षमै छात्रवृत्तिको लागि रकम निकासा भए पनि सम्बन्धित दलित र छात्राहरूलाई वितरण गर्नुपर्नेमा नगरेर प्रधानाध्यापकहरूले ग्रामीण क्षेत्रमा करेन्ट ब्याजमा लगानी गरेका छन् भने केहीले घरायसी काममा खर्च गरेका छन् ।

ठोरी गापा–५ मा रहेको साखुवाटी प्रावि सुवर्णपुरका प्रअ तथा नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले गापाको निर्देशनअनुसार २१ वटै सामुदायिक विद्यालयमा एकै पटक एउटै मितिमा छात्रवृत्ति वितरण गरिने बताएको कारण ढिला भएको बताए । उनले गापाको निर्देशनअनुसार समयको प्रतीक्षामा रहेको बताएका छन् । जीराभवानी गापाका शिक्षा संयोजक जितेन्द्र मिश्रले आफ्नो पालिकामा रहेका सबै सामुदायिक विद्यालयमा छात्रवृत्ति वितरण भइसकेको बताए ।

उनले कुनै विद्यालयले छात्रवृत्ति वितरण नगरेको पाइए सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । पटेर्वासुगौली गापाका शिक्षा संयोजक शम्भु साहले गापाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा चालू आवमा दलित तथा छात्राहरूलाई छात्रवृत्ति वितरणको लागि रकम पठाइसकेको बताए ।

उनले पालिकाले छात्रवृत्तिबापतको रकम पठाइसकेको भए पनि धेरैजसो विद्यालयले अहिलेसम्म वितरण नगरेको बताए । उनले फाल्गुनको पहिलो सातासम्म सबै विद्यालयलाई छात्रवृत्तिबापतको रकम वितरण गर्न निर्देशन गरिएको बताए । चालू आवमा शैक्षिक सत्र सकिन अब दुई महिना मात्र बाँकी रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया