Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजिल्लामा उत्पादित विद्युत्को उपभोग गर्नबाट स्थानीय वञ्चित

जिल्लामा उत्पादित विद्युत्को उपभोग गर्नबाट स्थानीय वञ्चित


सोलुखुम्बु ।
सदरमुकाम नजिकैबाट बग्ने सोलुखोलामा उत्पादित विद्युत्बाट जिल्लाका स्थानीय वञ्चित बनेका छन् । विद्युत् नियमित नहुँदा समस्या भोगिरहेका स्थानीयले आफ्नै ठाउँमा उत्पादित विद्युत्को उपभोग समेत समयमै गर्न पाएका छैनन् । सल्लेरीवासी दैनिक तीन घण्टा विद्युत् भार कटौती खेप्न बाध्य छन् । तर सोलु खोलामा मात्रै पाँचवटा हाइड्रोपावर निर्माणाधीन अवस्थामा छन् ।

अझै भन्ने हो भने माथिल्लो सोलु खोला २३ दनशमलव पाँच मेगावाटले उत्पादन नै सुरु गरेको छ । बेनी हाइड्रोपावर, तल्लो सोलु खोला जलविद्युत् आयोजना र सोलु खोला दुधकोशी जलविद्युत् आयोजनाको काम ६० प्रतिशतदेखि ९० प्रतिशतसम्म सम्पन्न भइसकेको सम्बन्धित कम्पनीले जनाएको छ ।

माथिल्लो सोलु खोला जलविद्युत् आयोजना २३ दशमलव पाँच मेगावाटले समेत सोलु करिडोर १३२ केभी प्रशारण लाइनको काम समयमा नै सम्पन्न नहुँदा क्षमताअनुसार उत्पादन गर्न नसकेको आयोजनाका जनसम्पर्क अधिकृत बद्रीमान श्रेष्ठले बताए । नेपाल विद्युत्प्राधिकरणको ११ केभी प्रशारण लाइनमार्फत करिब पाँच मेगावाट विद्युत् तिङ्ला सबस्टेसनबाट रुम्जारटार सबस्टेवनमा जोडिएको भए पनि बाँकी विद्युत् खपत नहुने भएकाले आफूहरूलाई समस्या भएको उनको भनाइ छ । पाँच पटक म्याद थप गरेको सोलु करिडोरको काम अझै केही महिना लाग्ने आयोजना प्रमुख जनार्दन शर्माले बताए ।

करिडोरकै कारण एकातिर उत्पादित विद्युत् खेर गएको छ भने अर्कोतिर जिल्लाबासीले विद्युत् अनियमितताको समस्या भोगिरहेका छन । नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन तिङ्लादेखि बेलीडाँडा हुँदै अप्पर सोलु हाइड्रोपावर कम्पनीको ११ केभी पोलमा जडान गरी सल्लेरी च्याल्सा विद्युत् कम्पनीको पावरहाउसमा विद्युत् ल्याएपछि विद्युत् भार कटौती अन्त्य गर्ने योजना भए पनि सम्बन्धित कम्पनीले समयमा नै काम सुरु गर्न नसकेको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष लालमान श्रेष्ठले बताए ।

तिङ्ला सवस्टेसनदेखि सल्लेरी च्याल्सा विद्युत् कम्पनीसम्म विद्युत् लाइन विस्तारका लागि सिग्मा कोण प्रालिले गत वर्ष नै जिम्मा पाएको थियो । निर्माण सम्पन्न गर्नुपर्ने कार्यावधि दुई महिना बाँकी हुँदा समेत काम सुरु नगरे पनि सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले तत्काल काम अगाडि बढाउन निर्देशन दिइसकेको बताए । सोलुखुम्बुलाई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको करिब एक वर्ष पूरा भएको छ ।

सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ८ र ११ का केही घरधुरीबाहेकमा विद्युत् विस्तारको काम धमाधम भइरहेको विद्युत् प्राधिकरण वितरण केन्द्र सोलुखुम्बुले जनाएको छ । केन्द्रीय प्रसारण लाइन विस्तारको काम सकिएपछि विद्युत्को समस्या समाधान हुने विश्वास गरिएको छ । दुई वर्ष अगाडिसम्म नेपालको सङ्घीय राजधानी काठमाडौँ १८ घण्टासम्म विद्युत भार कटौती हुनेगरेको थियो । तर २०७५ वैशाख ३१ गते देशलाई विद्युत्भार कटौतीमुक्त घोषणा गरियो ।

विद्युत्भार कटौतीको अन्त्य भएपछि नेपालीको मुहारमा खुशियाली छाए पनि सोलुखुम्बुवासीका लागि भने त्यो खुशीले छुन सकेन । जिल्लामा उत्पादित विद्युत् खेर जाने भए पनि उपभोक्ता भने अन्धकारमा बस्न बाध्य हुनु दु:खद् भएको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ११ का प्रेम बस्नेतले बताए । सल्लेरी च्याल्सा विद्युत्को सेवाबाट दिक्क बनेका उपभोक्ताले सेवा गुणस्तरीय बनाउन माग गर्दै ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रलाई विद्युत्भार कटौती बनाइएको अवस्थामा समेत यहाँका उपभोक्ताले दैनिक तीन घण्टाभन्दा बढी अध्याँरोमा बस्नुपर्ने बाध्यता छ । गत पुस २७ र २८ गते सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ७ र ८ का वडा अध्यक्षसहित सयौँ उपभोक्ताले सल्लेरी च्याल्सा विद्युत् कम्पनी उपभोक्ता समितिको ध्यानाकर्षण समेत गराएका थिए ।

सञ्चालक समितिले उपभोक्तालाई एक महिनाभित्र विद्युत् भार कटौती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । भारतबाट सामग्री ल्याउन समय लागेको भन्दै कम्पनीका अध्यक्ष डाक्टर मिङ्मार ग्याल्जेन शेर्पाले फागुनको पहिलो हप्तादेखि विद्युत्भार कटौती अन्त्य हुने प्रतिबद्धता व्यक्त गरेका थिए । विगत दुई महिनायता दैनिकजसो विद्युत् कटौती हुँदा यहाँका उपभोक्ताले निकै हैरानी खेप्नु परेको छ । ‘

दैनिक विद्युत् अनियमितताका कारण मिल व्यवसायी र हामी बढी मारमा परेका छौँ’, स्थानीयवासी गेहेन्द्र राईले भने, ‘यससम्बन्धी गुनासो विद्युत् प्राधिकरणमा जानकारी गराउँदा समेत सुनुवाइ भएन ।’ साँझ र बिहानपख तालिकाविनै लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका छन् ।

चिसो समयमा हिटर ताप्नुपर्ने भए पनि विद्युत् अनियमित हुँदा समस्या हुने गरेको जेष्ठ नागरिकको गुनासो छ । अत्यधिक चिसोका कारण त्यसबाट बच्नका लागि यहाँका गाउँवासीले दाउराको प्रयोग गर्छन् भने सदरमुकामवासीले विद्युतीय हिटरको प्रयोग गर्छन् । पुस, माघ महिनाको चिसोबाट बच्नका लागि सरकारी कार्यालयका कार्मचारीले समेत विद्युतीय हिटरको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

दिनभरजसो विद्युत् सेवा बन्द हुँदा जिल्ला अस्पताल फाप्लुको प्रयोगशाला सेवासमेत प्रभावित बन्ने गरेको अस्पतालकी निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिइन् । अस्पतालमा व्याकपको समेत राम्रो प्रबन्ध नभएको हुँदा ल्याब सेवा नै ठप्प बन्ने गरेको उनको भनाइ छ । शेर्पाका अनुसार अस्पतालमा वैकल्पिक विद्युत्को व्यवस्था नहुँदा ल्याब र अक्सिजन सेवासमेत प्रभावित बनेको छ ।

उपकरण सञ्चालनका लागि च्याल्सा विद्युत् कम्पनीकै भर पर्नुपर्ने भएकाले अस्पतालमा असहज हुने गरेको बिरामी नानुमाया कार्कीको भनाई छ । बारम्बार विद्युत् अवरुद्ध हुँदा विद्युतीय सामग्रीसमेत चाँडै बिग्रने समस्या रहेको गेहेन्द्र मोबाइल पसलका सञ्चालक गेहेन्द्र राईको भनाइ छ । कम्प्युटरको पावर सप्लाइ चाँडै बिग्रने समस्याले हैरान बनेको उनले सुनाए । यस्तै सल्लेरीमा सञ्चालित टेलरिङ सेन्टरसमेत विद्युत्मा भर पर्दा समस्या भएको पसल सञ्चालकको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया