Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविद्यार्थीहरूको भविष्यमाथि खेलवाड

विद्यार्थीहरूको भविष्यमाथि खेलवाड

परिचर र बालविकास सहयोगीको भरमा विद्यालय सञ्चालन


बीरगंज ।
पर्साको ग्रामीण भेगका अधिकांश सामुदायिक विद्यालयहरू परिचर र बालविकास सहयोगीको भरमा सञ्चालन भइरहेका छन् । जगरनाथपुर, पटेर्वासुगौली तथा जीराभवानी गाउँपालिकाका करिब दुई दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी शून्य रहेको छ ।

जगरनाथपुर गाउँपालिका वडा नं.–३ मा रामजानकी प्राथमिक विद्यालयमा एक जना शिक्षकको दरबन्दी छ । उक्त विद्यालयका प्रधानाध्यापक महमद सानी अन्सारीले कात्तिक १७ गते अनिवार्य अवकाश पाएपछि परिचरले विद्यालय सञ्चालन गर्दै आएका छन् । चार महिना बितिसक्दा पनि शिक्षक नआएका कारण त्यहाँ अध्ययनरत ८५ जना विद्यार्थीको पठनपाठन अन्योलमा परेको स्थानीयले गुनासो गरे । सो विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुन्छ ।

त्यस्तै, जीराभवानी गाउँपालिकामा रहेका आधा दर्जन विद्यालयको पठनपाठन पनि बालविकास सहयोगीको भरमा चलिरहेको छ । बालमन्दिर बिनटोली महादेवपट्टि, मदरसा बलुवा, भोलानाथ प्रावि परसवा, सहिद रामेश्वर राम प्रावि जीतपुर, विश्वजगत प्रावि जीतपुर, बालवाटिका प्रावि कोढौलीमा बालविकासदेखि तीन कक्षासम्मको अध्यापन बालविकास सहयोगी शिक्षकले नै गरिरहेका छन् ।

बालमन्दिर प्रावि बिनटोलीका प्रधानाध्यापक मोनितादेवी थारूले दरबन्दी कम हुने र दरबन्दीअनुसारको शिक्षक पनि विद्यालयमा नहुँदा पठनपाठनमा निकै समस्या भएको गुनासो गरिन् । विद्यालयमा बालविकासदेखि कक्षा ३ सम्म एक सय एक जना विद्यार्थी रहेको र तिनीहरूको पठनपाठनमा समस्या भएको उनको भनाइ छ । उनले शिक्षकका लागि गाउँपालिकामा पटक–पटक माग गर्दा पनि सुनवाइ नभएको बताइन् ।

जीराभवानी गाउँपालिकाका शिक्षा संयोजक जीतेन्द्र मिश्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले अनिवार्य अवकाश पाएको बताए । उनले नयाँ शिक्षक नियुक्ति गर्न बाँकी रहेको र चाँडै हुने बताए । उनले पालिकाको शिक्षा ऐन निर्माण हुन नसक्दा नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेको जानकारी दिए । पटेर्वासुगौली गाउँपालिकाको नेरा आधारभूत विद्यालय रामपुर, आधारभूत विद्यालय पूर्वदेकुली, जयदुर्गा आधारभूत विद्यालय मोरगाउँमा पनि शिक्षकहरूको दरबन्दी शून्य रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया