Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभारतमा क्रिकेटको प्रिमियर लिग हुँदा विराटनगरका बुकी र सट्टेबाज सक्रिय

भारतमा क्रिकेटको प्रिमियर लिग हुँदा विराटनगरका बुकी र सट्टेबाज सक्रिय


विराटनगर ।
गत शुक्रबार २७ गतेदेखि भारतमा इण्डियन प्रिमियर लिग सुरु भएपछि प्रदेश १ को राजधानी विराटनगरमा अवैध जुवाजन्य फट्का खेलले विशेष चर्चा पाउन थालेको छ । भारतमा सुरु भएको इन्डियन प्रिमियर लिगको नाममा दैनिक करोडौँको बुकी र सट्टेबाज खेल हुने निश्चित भएको बताउन थालिएको छ । यसअगाडि पनि आईपीएल सुरु भएका बखत बुकी र सट्टेबाज खेल खेलाउने गिरोह सक्रिय भएको थियो ।

मोरङ प्रहरीले केही सट्टेवाज र केही बुकीहरुलाई पक्राउ गरी कारबाहीसमेत गरेको थियो । यसपटक पनि उक्त गिरोह सक्रिय हुने आशंका गर्न थालिएको छ । स्रोतका अनुसार लामो समयदेखि जुवाजन्य अवैध फाट्का (सट्टेबाज) को धन्दा चलाउँदै आएका केही विराटनगरका व्यापारी समुदायका युवाहरू फेरि सक्रिय हुनथालेका छन् ।

विराटनगरमा रहेका उद्योगी तथा व्यापारी समूहका युवा समूहमा निकै लोकप्रिय बन्न पुगेको फट्काको सौदामा यसभन्दा अगाडिका दिनमा दैनिक हुने खेलका आधारमा सट्टेवाजहरुले एक करोडभन्दा माथिको कारोबार गर्ने गरेको दाबी अहिले नै गर्न थालिएको छ । प्रिमियर लिग सुरु भएसँगै सट्टेबाजहरुले दिनभरि क्रिकेटको हुने खेलका आधारमा स्थानीय खेलाडी व्यापारीसँग मोलतोल गर्ने र पैसा उठाउने कामलाई तीव्रता दिन थालेपछि मात्र फट्काका पारखी र सट्टेबाजको रहस्य खुल्न पुग्ने दावी स्थानीय उद्योगि तथा व्यवसायीको छ ।

केही वर्षअगाडि मोरङ प्रहरी प्रमुखमा बहाल भएको समयमा प्रद्युम्न कार्कीले फट्काका नामुद खेलाडीलाई उनले प्रयोग गर्ने उपकरणसहित पक्राउ गरेर मुद्दा चलाएपछि केही मथ्थर भएको फट्का केही महिनाअगाडि आइपीएल सुरु हुँदा उग्ररुप लिन पुगेपछि मोरङ प्रहरी प्रमुख (एसपी) सन्तोष खड्काले पनि केही सक्रियता देखाएर कारबाहीलाई निरन्तरता दिएका थिए । अहिले पछिल्लो समय फेरि प्रिमियर लिग सुरु हुँदा प्रहरीबाट हुने गतिविधिका आधारमा मात्र फड्काको खेलले निरन्तरता पाउने हो वा होइन भन्ने कुराको एकीन हुने अड्कलबाजी अहिले गर्न थालिएको छ ।

बुकिको रुपमा करोडौंको दाउ चलाउँदै फड्कालाई निरन्तरता दिएपछि त्यसको असर धेरै यहाँका व्यापारी समुदायका युवामा परेको थियो । स्थानीय उद्योगी तथा व्यवसायीकै व्यापक विरोध सुरु भएपछि मात्र प्रहरीले आफ्नो सक्रियता बढाउने गरेको आरोप प्रहरीमाथि लाग्ने गरेको छ । अब यस पटक मोरङ प्रहरीले समय छँदै आफ्नो सक्रियता देखाएर केही क्रिकेटका बुकी र सट्टेबाजलाई पक्राउ गरी कारबाही चलाउने हो भने मात्रै युवा व्यवसायी बर्बाद हुनबाट जोगिनेछन् ।

स्रोतका अनुसार अवैध जुवाजन्य फट्का चलाउन भारतसम्म सञ्जाल विस्तार भएको छ । नेपालबाट बुकीको काम गर्नेहरुले भारतको बिकानेर र जयपुरबाट दैनिक फट्काको भाउ बुझ्ने काम गर्ने गरेको दाबी स्रोतले गरेको छ । त्यहाँबाट भाउ तोकिएपछि नेपालमा रहेका बुकीहरुले फाट्काको दाउमा सट्टा लिने गरेको छ । खेलाडीहरुले विराटनगरका विभिन्न ठाउँमा बसेर बुकीको काम गर्दै जुवा र फट्का चलाउने काममा यहाँका नाम कहलिएका व्यक्तिसमेत सक्रिय हुने गरेको रहस्यसमेत खुल्न पुगेको छ ।

प्रहरी स्रोतका अनुसार अवैध हुने फाट्कामा संलग्नको पहिचान गर्न समस्या भएपछि यसको धन्दामा वृद्धि हुँदै गएको बताइन्छ । तत्काल प्रमाण फेला पार्न नसकिने र फाट्का चलाउनेमध्ये अधिकांश व्यापारी समुदायका युवाहरू नै सक्रिय रहेको कुरा बताइएको छ । निकै व्यवस्थित सूचना प्रणाली अपनाएर बुकी सञ्चालन गर्ने गरेका कारण प्रहरीले पक्राउ गरेकालाई समेत मौजुदा जुवा कानुनअनुसार मात्र कारबाही चलाउने भएकोले प्रहरीको कारबाहीलाई बुकी र सट्टेबाजले खासै वास्ता नगर्ने देखिएकाले कडा कानुनको आवश्यकता रहेको प्रहरी स्रोतले बताएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया