Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकर्णाली करिडोरको निर्माण तीव्र

कर्णाली करिडोरको निर्माण तीव्र


हुम्ला ।
राष्ट्रिय गौरवको योजनाअन्तर्गतको हिल्सा–सिमीकोट सडक योजनाद्वारा लकडाउनका बीच विभिन्न सडकखण्डमा निर्माण तीव्ररूपमा भइरहेको छ । कर्णाली कोरिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडकखण्डको च्याछरा भिर कडा चट्टान छिचोल्ने कार्य सकिएको र उक्त सडकखण्डमा ग्रेड मिलाउने कार्यसमेत तीव्र गतिमा अगाडि बढिरहेको छ ।

सिमीकोट–सल्लिसल्ला सडकखण्डअन्तर्गत बोक्चेगौंडा भिर ब्रेक थ्रु गरी एक किमिजति नयाँ ट्र्याक खोल्ने कार्यसमेत अगाडि बढेको छ । गत वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयबाट जारी भएको निषेधाज्ञासम्बन्धी निर्णयमा निर्माण क्षेत्रलाई पास उपलब्ध गराई निर्माण सामग्री ल्याउन सहज भएसँगै निर्माण कार्यले तीव्रता पाइरहेको हिल्सा सिमीकोट सडक योजनाका प्रमुख विसुनदास लामाले जानकारी दिए । निषेधाज्ञामा साबिकको भन्दा निर्माण कार्यमा निर्माण सामग्रीको अभाव र तेलको अभावले गर्दा निर्माण कार्यमा सुस्तता आए पनि निर्माण कार्यको प्रगति सन्तोषजनक भइरहेको आयोजना प्रमुख लामाले बताए ।

योजनाअन्तर्गतको पुलतर्फको कार्य निर्माण सामग्री यथेष्ट साइटमा उपलब्ध नभएको र चीनको हिल्सा नाकासमेत बन्द भएको हुँदा पुल निर्माण कार्यमा थोरै ढिलाइ भएको योजना कार्यालयले जनाएको छ । सिमीकोट सल्लिसल्ला सडकखण्डको दुल्लीकुना भिर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायत उपकरण सुर्खेतबाट निर्माणस्थलसम्म आइसकेको र कोभिड–१९ का कारण इन्धनको अभावले गर्दा उक्त भिर फुटाउन केही समयसमेत लाग्ने सपना धुलिखेल जेभीका आधिकारिक प्रतिनिधि तेजबहादुर महतले बताए ।

ओखरका बोट कृषि कार्यालयमा अलपत्र : सदरमुकाम सिमीकोटमा कृषि विकास कार्यालयमा टर्कीको च्याङ्गलर जातका ओखरका बोटबिरुवा कृषि विकास कार्यालयमा अलपत्र पारिएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि निर्देशनालयको सहयोगमा कृषि विकास कार्यालयको मागअनुसार छ हजार च्याङ्गलर ओखरका बिरुवा आइसकेका कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जानकारी दिए । जिल्लाका कृषकलाई वितरण गरिने भएको हुँदा कोभिड–१९ ले गर्दा एक गाउँपालिकाबाट अर्को गाउँपालिका आउन जान कठिन भएकाले रोकिएको उनले बताए । 

 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया