काठमाडौं ।
वाग्मती सफाइ महाअभियान थालिएको आठ वर्ष पूरा भनाइ नौ वर्ष लागेको छ । २०७० जेठ ५ गते सुरु गरिएको वाग्मती सफाइ महाअभियान अटुटरूपमा हरेक शनिबार बिहान २ घण्टा सञ्चालन गरिँदै आएको छ ।
महाअभियान सुरु गर्नुअघि नेपाल विज्ञापन संघ, नेपाल चलचित्र संघलगायत विभिन्न पेसागत संस्थाको पहलमा निजी र सार्वजनिक निकायहरूलाई गोलबद्ध गरी वाग्मती नदीको सफाइ सुरु गर्ने सन्देशसहित काठमाडौँको दशरथ रंगशालामा फुटबल खेलको आयोजना गरिएको थियो । संयोगवश नेपाल सरकार सहरी विकास मन्त्रालयको स्थापना दिवस पारेर मन्त्रालयको आयोजनामा गुह्येश्वरी मन्दिरको प्राङ्गणबाट सुरु गरिएको यो अभियान तत्पश्चात् एक स्वयंसेवी अभियानको रूपमा सञ्चालित छ ।
अभियानका सुरुवातीका दिनमा गायत्री परिवार, एस ट्राभल्स, विज्ञापन संघ, चलचित्र संघ, जीवन विज्ञान, काठमाडौं इञ्जिनियरिङ कलेज, काठमाडौँ महानगरपालिका, पशुपति विकास कोष, प्याब्सन, एन प्याब्सनको विशेष भूमिका रहेको यस अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, एक हजारभन्दा बढी विभिन्न संघसंस्था, विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इञ्जिनियर तथा सयौँ समाजसेवीको सहभागिता रहेको छ । गैरआवासीय नेपाली संघ, विभिन्न अवसरमा विदेशबाट आएका विशिष्ट व्यक्तित्व र नेपालस्थित विदेशी नियोगका कर्मचारीहरूले पनि यो महाअभियानमा सहभागिता जनाएका छन् ।
अभियानका अभियन्ताहरूले विगत आठ वर्षको अवधिमा वाग्मती र सहायक नदीमा वर्षौँ देखि थुप्रिएको २० हजार टनभन्दा बढी फोहर उठाएका छन् । अहिलेसम्म यो अभियानमा करिब १० लाखभन्दा बढी स्वयंसेवीहरूले सहभागिता जनाएका छन् ।
यस अवधिमा अभियानको पहलमा नदी तथा सम्पदा संरक्षणसम्बन्धी विद्यालय तहमा प्रवचन, राष्ट्रव्यापी निबन्ध र कविता प्रतियोगिताहरू तथा फोटो र चित्रकला प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रमहरू सञ्चालन गरिएको छ । यो अभियानले वायोकम्पोष्टिङ, कौसी खेती, ठोस फोहोरको पुनः प्रयोगसम्बन्धी अनुसन्धानका कामका लागि उत्प्रेरक र सहजकर्ताको भूमिका खेलेको छ । यसको सहजीकरणमा वाग्मतीका किनारमा तीन दर्जनभन्दा बढी बगैँचा निर्माण गरिएका छन् । साथै वागमती र मनहरा किनारामा विभिन्न संघसंस्थाको सहभागितामा छ हजारजति बोटबिरुवा हुर्काएर नदी किनारालाई हराभरा बनाएका छन् ।
वाग्मती नदी सरसफाइबाट सुरु गरिएको यो अभियान अहिले वाग्मतीका विभिन्न खण्ड, वाग्मतीका शाखा नदीहरू जस्तै– विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु, चक्रपथ उत्तर, चक्रपथ पश्चिम गरी करिब २० स्थान र, उपत्यकाबाहिर पोखरा, वीरगञ्ज, नेपालगञ्ज, दाङ, दमक, भरतपुर, पनौतीलगायत ९० वटाभन्दा बढी सहर स्थानीयवासीको सहभागितामा सञ्चालन भइरहेको छ ।
वाग्मती सफाइ महाअभियान सञ्चालन हुनथालेपछि वाग्मती नदी क्षेत्रको वातावरणमा सुधार भएको, नदी पहिलेभन्दा निकै सफा भएको, विभिन्न स्थानमा हरियाली पार्कको निर्माण भएको, नदीमा ठोस र तरल विसर्जन गर्ने काम निमिट्यान्न नभए पनि एकदमै कम भएको तथा वालुवा चोरी र नदीको जग्गा अतिक्रमणमा नियन्त्रण भएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया