Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहाकालीमा निर्माणाधीन पक्की पुलमा चार करोडको क्षति

महाकालीमा निर्माणाधीन पक्की पुलमा चार करोडको क्षति


कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निमार्णाधीन चार लेनको पक्की पुलमा अकस्मात आएको बाढीले ठूलो क्षति गरेको छ । बिहीबार राति परेको पानीले कालोपत्रे गर्न बनाइएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण बगाइदिएपछि झण्डै चार करोडको क्षति भएको निर्माणकम्पनीले जनाएको छ ।

करिब तीन दिनदेखि परेको लगातारको वर्षाले आएको बाढीले क्षति गरेको हो । ‘निमार्णाधीन पक्की पुलको क्षेत्रमा भने बाढीले क्षति गरेको छैन, पुलको कालोपत्रे गर्ने पलान्टमा भने बाढीले पूर्णरूपमा क्षति गरेको छ ।’ कुमार सीएसईसी जेभी निर्माण कम्पनीका साइड इन्चार्ज राजेन्द्र श्रेष्ठले भने, ‘योसँगै विभिन्न उपकरण तथा मेसिनमा पनि बाढीले क्षति गरेको छ, बाढीले झण्डै चार करोडबराबरको क्षति गरेको छ ।’

हरेक वर्ष असारपछि सुरु हुने वर्षा यो वर्ष जेठमै सुरु भएको अवस्था छ । असारसम्म पुलको बाढीले क्षति गर्ने भागलाई सम्पन्न गर्ने लक्ष्य बोकेको निर्माण कम्पनीलाई भने दुईतर्फबाट घाटा भएको श्रेष्ठको भनाइ छ ।

बाढीले कालोपत्रे प्लान्ट पूर्णरूपमा क्षति भएपछि पुल निर्माणको कार्य प्रभावित हुनेभएको छ । नदीको पानीको बहाब घटे पनि लामो समयसम्म कालोपत्रे गर्ने कार्य बन्द गनुपर्ने अवस्था आएको निर्माण कम्पनीले जनाएको छ । प्लान्टमा क्षति भएका कारण निर्माणकम्पनीले सम्पन्न गनुपर्ने पुलको निर्माणकार्य उल्लिखित समयावधिभन्दा छ महिना पर धकेलिएको छ ।

‘तत्काललाई कम्पनी पुल निर्माणमा आफ्नो लक्ष्यअनुसारको प्रगति हासिल गर्ने सम्भावना सकिएको छ, अन्य काम सम्पन्न भएपछि महत्वपूर्ण काम भनेको कालोपत्रेको हो, कालोपत्रे गर्ने पलान्ट नै पूर्णरूपमा क्षति भएको अवस्था छ, यसले गर्दा समग्र पुलकै निर्माणकार्य कम्तीमा पनि छ महिना पर धकेलिने भएको छ ।

साइड इन्चार्ज श्रेष्ठले भने, ‘पलान्टसँगै तीनवटा जेनेरेटर, एउटा एक्स्काभेटर, एउटा कालोपत्रे गर्ने मेसिन, रोलरलगायतका मेसिनहरूमा पनि बाढीले पूर्णरूपमा क्षति गरेको छ ।’ वर्षातको समयसम्म पुल निर्माणको ८५ प्रतिशत निर्माणको काम सम्पन्न गर्ने लक्ष्य थियो । बाढीले क्षति गरेपछि पनि कम्पनीले ८० प्रतिशत पुल निर्माणको प्रगति हासिल गर्नसक्ने साइड इन्चार्जको भनाइ छ । यसैगरी पुलको हालसम्मको प्रगति भने ७५ प्रतिशत पुगेको छ ।

योसँगै बिहीबार राति परेको पानीले गर्दा नदीको बीच भागमा निर्माण गर्नलागेको टापुमा काम गर्ने कामदारलाई पनि उद्धार गरिएको छ । शुक्रबार दिउँसो नेपाली सेनाले टापुमा काम गर्ने १० जना कामदारसहित कामदारको विभिन्न सरसामानलाई वोटमार्फत सुरक्षित स्थानमा सारेको छ । धौलीगङ्गा क्षेत्रबाट बाँध अझ खोलिनसक्ने भन्दै सतर्कताको लागि टापुमा रहेका कामदारलाई नेपाली सेनाले उद्धार गरेको निर्माण कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया