Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्थानीय तहलाई बाल विकास शिक्षकको तलब वृद्धि गर्न सकस

स्थानीय तहलाई बाल विकास शिक्षकको तलब वृद्धि गर्न सकस


दोलखा ।
सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक र कार्यालय सहयोगीको न्यूनतम पारिश्रमिक १५ हजार पु-याउने घोषणा गरेर त्यसको भार स्थानीय तहलाई बोकाइदिए पनि स्थानीय तह तलब वृद्धिको बारेमा अन्यौलमा परेका छन् ।

देशभरका सामुदायिक विद्यालयमा ईसीडी शिक्षकहरु न्यून पारिश्रमिकमा बाल विकास कक्षामा पठनपाठन गराउँदै आएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ईसीडी शिक्षक र कार्यालय सहयोगीको तलब आगामी साउनदेखि वृद्धि गर्ने बताएका थिए । संघीय सरकारले छ हजार तलबमा काम गर्दै आएका शिक्षकलाई दुई हजार थप गरेर आठ हजार रुपैयाँ उपलब्ध गराउने र बाँकी रहेको सात हजार रुपैयाँ स्थानीय सरकारले थप गरेर १५ हजार रुपैयाँ पु-याउनुपर्ने बजेटमा उल्लेख छ । तर गाउँपालिका महासंघले उक्त निर्णयको विरोध गर्दै संघीय सरकारले नै पूरै रकम उपलब्ध गराउनुपर्ने माग राख्दै आइरहेको छ ।

यता दोलखाको बैतेश्वर गाउँपालिका भने ईसीडी शिक्षकको पारिश्रमिक वृद्धि गर्न सकारात्मक रहेको छ । तलबवृद्धि गर्नेबारे गाउँपालिका सकारात्मक रहेको पालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । गाउँपालिकाले असार २८ गते बजेट पास गर्ने र सोही दिनको बैठकमा तलबवृद्धिको बारेमा पनि गर्ने उनले जानकारी दिए । कार्यपालिकाको यसअघिको बैठकमा पनि पारिश्रमिक वृद्धिको विषयमा कुरा उठेकोले आगामी बैठक छलफल गरी निर्णय गर्ने आचार्यले बताए ।

गाउँपालिकाभित्र करिब ३० जना बालविकास शिक्षक रहेका छन् । यसअघि उनीहरुले मासिक नौ हजार रुपैयाँ पारिश्रमिकमा बुझ्दै आएका छन् । जिल्लाका अन्य स्थानीय तहहरुले भने केन्द्रबाट बजेटको व्यवस्थापन नभएकाले स्थानीय तहले तलब वृद्धि गर्न नसकिने बताउँदै आएका छन् । उनीहरुले हालसम्म पारिश्रमिक वृद्धिको ठोस निर्णय लिनसकेका छैनन् । केही स्थानीय तह भने अन्य स्थानीयतहको निर्णय कुरेर बसेको समेत बुझिएको छ ।

बैतेश्वर गाउँपालिकाले भने बजेटको सशर्त अनुदान र विकास अनुदानको बजेट हेरेर निर्णय लिने बताएको छ । बैतेश्वरमा ३० जना शिक्षकको तलब वृद्धि गर्न गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट छुट्याउनुपर्ने गाउँपालिका उपाध्यक्ष आचार्यको भनाइ छ । केन्द्र सरकार र प्रदेश सरकारले धेरथोर बजेटको व्यवस्थापन गरे तलबवृद्धि गर्न सहज हुने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी बाल शिक्षक तलब वृद्धिलगायतको माग गर्दै शिक्षक महासंघ दोलखा, शिक्षक संघ दोलखा र गाउँपालिकाहरुले स्थानीयतह हरुको ध्यानाकर्षण समेत गराएका छन् । ध्यानाकर्षण पत्रमा शिक्षक महासंघ, पेशागत संघ/संगठनहरुद्वारा नेपाल सरकारसँग गरिएका ३० बुँदे माग कार्यान्वयन गर्ने लगायत ११ सूत्रीय माग पेश गरिएको नेपाल शिक्षक संघ बैतेश्वरका अध्यक्ष पुष्कर कुमार दाहालले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x