Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधन्यूनतम पारिश्रमिक लागू गर्ने रोजगारदाता संस्थाहरुको सहमति

न्यूनतम पारिश्रमिक लागू गर्ने रोजगारदाता संस्थाहरुको सहमति


काठमाडौं । विभिन्न रोजगारदाता संस्थाहरुले सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागू गरी जाने सहमति गरेका छन् । सरकारले एकलौटी ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने प्रक्रियाप्रति असहमति भए पनि कामदार र श्रमिकको हितका लागि सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागू गरी जाने सहमति भएको ती संस्थाहरुले जनाएका छन् ।

श्रमिकहरुको न्यूनतम पारिश्रमिकका सम्बन्धमा चिया बगानका मजदुरबाहेक उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकहरुका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम तलब र महंगीभत्ता समेत गरी न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ निर्धारण गरी सरकारले राजपत्रमा सूचना समेत प्रकाशन गरिसकेको छ ।

रोजगारदाता संस्थाहरुले न्यूनतम पारिश्रमिक सम्बन्धमा मजदुरहरुका छाता संगठन ट्रेड युनियन, निजी क्षेत्रका छाता संस्था, रोजगारदाता र सरकार समेतको त्रिपक्षीय सहमतिमा न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्ने परम्परा रहेकोमा सरकारले एकलौटी ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गरेको भन्दै उनीहरुले असहमति प्रकट गर्दै आएका थिए ।

श्रमिकहरुको प्रतिनिधिमूलक संस्थाहरुको संयुक्त ट्रेड युनियन समन्वय समितिका महासचिवसहितका प्रमुख ट्रेड युनियनका प्रतिनिधिहरु समेत र रोजगारदाताको तर्फबाट नेपाल घरेलु तथा साना उद्योग महासंघ, राष्ट्रिय उद्योग व्यापार महासंघ, साना तथा मझौला व्यवसाय महासंघ समेतको उपस्थिति र सहमतिमा श्रमिक र रोजगारदाता दुवै पक्षबीच संयुक्त छलफल गरी दुवै पक्षको पहलमा यस्तो सहमतिमा पुगेको नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताए ।

सहमतिपत्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव रेग्मी, साना तथा मझौला व्यवसायी महासंघ, नेपालका अध्यक्ष बाबुकाजी महर्जन र राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव कमल बरालले हस्ताक्षर गरेका छन् । कोरोनाको महामारी र विविध कारणले गर्दा उत्पन्न चरम महंगीको अवस्थामा उद्योग व्यवसायका खम्बा श्रमिकहरुको जीविकाप्रति रोजगारदाताहरुको हैसियतमा रोजगारदाता पनि संवेदनशील हुनुपर्छ भन्ने अभिप्रायले यो सहमतिमा पुगेको महासंघका महासचिव रेग्मीले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x