Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभाडा समायोजनलगायत सात बुँदे माग राख्दै यातयात व्यवसायी आन्दोलित

भाडा समायोजनलगायत सात बुँदे माग राख्दै यातयात व्यवसायी आन्दोलित


काठमाडौं । 
छोटो तथा मध्यम दूरीका सार्वजनिक यातयातको भाडा समायोजनलगायत विभिन्न सात बुँदे माग राख्दै यातयात व्यवसायीहरू आन्दोलनमा उत्रेका छन् । यातयात व्यवसायीहरूले सार्वजनिक यातायात तथा ट्याक्सीहरू सडकमा लामबद्ध गरेर राखेर विरोध प्रदर्शन गरेका थिए ।

चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरूले संघीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाधनमा पनि भाडा समायोजन गर्न माग गरेका हुन् । हालै मात्र यातायात व्यवस्था विभागले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरे पनि छोटो तथा मध्यम दूरीका सवारीसाधनको भाडा भने वृद्धि गरेको थिएन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले संघीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र स्थानीय तहले पनि समायोजन गर्नुपर्ने बताए ।

यातायात व्यवस्था विभागले गत असार ३० गते दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने यात्रुबाहक सवारीसाधनमा २८ प्रतिशत, तराईमा चल्ने सवारीसानधमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारीसाधनमा २६ प्रतिशतसम्म भाडा बढाएको थियो । विसं २०६५ मा पेट्रोलियम पदार्थ, सवारीसाधन र त्यसको पार्टपुर्जाका आधारमा सार्वजनिक सवारीसाधनको भाडा निर्धारणसहित मापदण्ड तय गरिएकोे थियो । सो मापदण्डअनुसार पेट्रोलियम पदार्थको मूल्यलाई ३५ प्रतिशत र पार्टपूर्जालाई ६५ प्रतिशत आधार बनाइएको थियो । सोही आधारमा वार्षिकरूपमा भाडा समायोजन गरिनुपर्नेमा झण्डै नौ वर्षदेखि हुन नसकेको यातायात व्यवसायीको गुनासो छ ।

संविधानअनुसार यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी तीन तहमै बाँडिएको छ । स्थानीय तहभित्र गुड्नेको स्थानीय तह, प्रदेशभित्र गुड्नको प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा गुड्नेकोे व्यवस्थापन र नियमनको जिम्मेवारी संघीय सरकारको हुने व्यवस्था छ । यस्तै उनीहरूले कोभिड खोप उपलब्ध गराउनुपर्ने, मौद्रिक नीतिमा आफूहरूको माग समावेश गर्नुपर्ने, २० वर्ष अवधि पुगेका सवारीको अवधि थप गर्नुपर्ने, यातायातको बीमा छुट गर्र्ने, सडक कानुन लागू गर्नेलगायत माग अघि सारेका छन् ।

आन्दोलित व्यवसायीहरूले कोरोना भाइरसको महामारीका बीच लकडाउनले व्यवसाय चौपट भएको अवस्थामा थप पेट्रोलियम पदार्थको मूल्य वृद्धिले व्यवसायमा टिक्नै मुस्किल भएको गुनासो समेत गरेका छन् । सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा विभेद नगर्न समेत उनीहरूले सरकारसँग माग गरेका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x