Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखामा ३५ हजारले लगाए कोरोनाविरुद्धको पहिलो डोज खोप

दोलखामा ३५ हजारले लगाए कोरोनाविरुद्धको पहिलो डोज खोप


दोलखा । जिल्लाका करिब ३५ हजार मानिसलाई कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार नौ स्थानीय तहका ३४ हजार सात सय १४ जनाले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

यस्तैगरी पाँच हजार दुई सय ८५ जनाले दोस्रो डोज खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका स्वास्थ्य प्रमुख अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार अहिले पनि सबै स्थानीय तहले कोरोनाविरुद्धको खोप लगाइरहेका छन् । यस्तै पछिल्लो समय खोप लगाउने तथा बजारमा ओहोरदोहोर गर्ने जिल्लाका नागरिकको लापरबाहीले दैनिक कोरोना संक्रमित बढिरहेका छन् । दोलखामा आइतबार मात्रै ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

चरीकोट अस्पतालमा रहेको पीसीआर ल्याबमा ७८ जनाको स्वाब परीक्षण गरिएकामा ४१ जना र स्थानीय तहमा ३१ जनाको एन्टिजिन परिक्षण गरिएकामा नौ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार जिल्लाको भीमेश्वर नगरपालिकाका १९ पुरुष र ११ महिला, मेलुङ गाउँपालिकाका एक जना पुरुष र कालिञ्चोक गाउँपालिकाका ३ पुरुष र ४ महिला, शैलुङ गाउँपालिकाका २ पुरुष, तामाकोशी गाउँपालिकाका ८ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यस्तै आइतबार १९ जना संंक्रमित संक्रमणमुक्त भएका छन् ।

जिल्लामा लगाइएको निषेधाज्ञा हाल खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो हुँदा चरीकोटलगायतका बजारमा भीडभाड बढेको छ । कतिपय नागरिक विनामास्क बजारमा ओहोरदोहोर गर्नेगरेका छन् । स्वास्थ्य सतर्कता विनाभीडभाड यात्रा गर्दा धेरै व्यक्तिमा संक्रमण भेटिन थालेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । अहिले संक्रमितमध्ये चरीकोट अस्पतालमा रहेको एचडीयुमा चार जना रहेका छन् भने सिंगटी अस्पतालमा चार जना आइसोलेसन वार्डमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभर हाल तीन सय ३८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने १० जनाको मृत्यु भएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x