Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचार वर्षमा भीमदत्तको आन्तरिक आम्दानी पाँच गुणाले वृद्धि

चार वर्षमा भीमदत्तको आन्तरिक आम्दानी पाँच गुणाले वृद्धि


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी २० करोड रूपैयाँ नाघेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा २३ करोड ३१ लाख ७२ हजार राजस्व संकलन गरेको छ । चार वर्षअघि स्थानीय तह निर्वाचनसम्म नगरपालिकाको आन्तरिक आम्दानी पाँच करोड हाराहारीमा रहेको थियो । स्थानीय तह निर्वाचनपछि आन्तरिक आम्दानी पाँच गुणा बढेर २० करोड नाघेको छ ।

स्थानीय तह निर्वाचनपछि पहिलो नगरसभाबाट दोब्बर बढी राजस्व संकलन गरिएको थियो । त्यसपछिका तीन वर्षमा राजस्व वृद्धिलाई निरन्तरता दिएर गत वर्ष २३ करोड पुगेको हो । नगरपालिकाले गतवर्ष व्यवसाय करबाट सबैभन्दा बढी १० करोड ३७ लाख ५४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । त्यसपछि सम्पत्ति कर ४५ लाख २५ हजार रूपैयाँ, मालपोत कर ५४ लाख ७३ हजार रूपैयाँ, बहाल कर १५ लाख ७३ हजार रूपैयाँ र सरसफाइ शुल्क १० लाख १९ हजार रूपैयाँ र बाँकी अन्य स्रोतबाट आम्दानी गरिएको छ ।

भीमदत्त नगरपालिकाको राजस्व परामर्श समितिका सदस्य नगर प्रवक्ता हिमालबहादुर चन्दले करका दायरा वृद्धि, राजस्व प्रशासन सुधार र करसम्बन्धी सबै सचेतनाले वर्सेनी राजस्व संकलन बढेको बताए । ‘स्थानीय तह निर्वाचन ताकामा झण्डै पाँच करोड हाराहारीमा आन्तरिक आम्दानी थियो, अहिले यो बढेर २३ करोड बढी भएको छ’ उनले भने, ‘यसमा करका दायरा बढाएका छौँ, राजस्व प्रशासनलाई सुधार गरिएको छ, करसम्बन्धी सचेतना फैलाएका छौँ ।’

नगर प्रवक्ता चन्दले नगरपालिकाका सबै वडामा करसम्बन्धी सचेतना फैलाएर नगर बासिन्दालाई कर तिर्ने बानीको विकास गरिएको बताए । ‘कर तिर्न नागरिकको कर्तव्य हो, सचेतनाबाट नगर बासिन्दामा कर तिर्ने बानीको विकास भएको छ’ उनले भने,‘यसबाट कर बढेको छ, अझै बढ्दै जान्छ ।’ भीमदत्तले स्थानीय तह निर्वाचनपछि आन्तरिक राजस्व बढाउन नगरपालिकाका सबै वडामा कर जागरण अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक कर संकलन र व्यवसायलाई करको दायरामा ल्याउन एकीकृत घुम्ती शिविर समेत सञ्चालन गरिएको छ ।

कोरोना संक्रमण महामारीले राजस्व संकलनमा ह्रास आउन सक्ने अनुमान गरिएको थियो । त्यसविपरीत अघिल्लो वर्षको तुलनामा तीन करोड बढी राजस्व संकलन गरिएको छ । अघिल्लो आर्थिक वर्षमा २० करोड ३६ लाख २० हजार राजस्व संकलन गरिएको थियो । त्यसअघि १३ करोड हाराहारीमा राजस्व संकलन गरिएको थियो । भीमदत्त नगरपालिकाको राजस्व नीति तथा प्रशासन उप शाखाका अधिकृत नरबहादुर शाहले कोरोना संक्रमण महामारीका कारण अपेक्षित रूपमा राजस्व संकलन हुन नसकेको बताए ।

‘कोरोनाले सबै क्षेत्रको राजस्व संकलन हुन सकेन, अहिले पनि संकलन हुने क्रम जारी छ’ उनले भने, ‘राजस्व अझै वृद्धि हुन्छ ।’ भीमदत्तले गत आर्थिक वर्षका लागि व्यवसाय करमा ५ प्रतिशत छुट र जरिवना नलिने निर्णय गरेको छ । कोरोना महामारीका कारण करदातालाई समय थप गरी छुट र जरिवाना नलिने निर्णय गरेको हो । राजस्व बक्यौता रकम तिर्नका लागि करतादातालाई २०७८ भदौ ५ गतेसम्म समय दिइएको छ । त्यसका लागि भीमदत्तले सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x