Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधउत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन परिसंघको आग्रह

उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन परिसंघको आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघले उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन सरकारसँग आग्रह गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसद्मा प्रस्तुत गरेको ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ सम्बन्धी प्रतिवेदनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको चित्रण गरेको भन्दै परिसंघले नेपाललाई औद्योगीकरणको बाटोमा लैजान र कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको हिस्सा बढ्ने गरी काम गर्न सरकारलाई सुझाव दिएको छ ।

सो जानकारीपत्रमा कोभिड–१९ ले पारेको प्रभाव, कमजोर सरकारी खर्च, कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको कमजोर हिस्सा, बढ्दो उपभोग एवं कमजोर बचत र पूर्वाधार निर्माणमा भएको ढिलाइलाई चित्रण गरिएको छ । जानकारीपत्रमार्फत उत्पादनमूलक उद्योगको कुल गार्हस्थ्य उत्पादनमा योगदान पाँच दशमलव एक प्रतिशतमा सीमित भएको तथ्य सरकारले नै स्वीकार गरेको परिसंघले जनाएको छ ।

सरकारले नै नेपालमा औद्योगिक विकासको अवस्था कमजोर रहेको र कुल गार्हस्थ्य उत्पादनको संरचनामा उद्योगको योगदान न्यून रहेको तथ्य सार्वजनिक गरेको अवस्थामा औद्योगीकरणको बाटोमा नेपाललाई डो-याउन नीतिगत सुधार र प्रक्रियागत सरलताका लागि परिसंघले सरकारसंग आग्रह गरेको छ । यसैगरी वैदेशिक लगानी स्वीकृति छिटो गर्ने र नाफा फिर्ता लैजाने प्रक्रियामा सरलाता कायम गर्नुपर्ने परिसंघको माग छ ।

नेपाललाई औद्योगीकरणको बाटोमा अघि बढाउन परिसंघले ‘मेक इन नेपाल– स्वदेशी’ अभियान अघि बढाएको पनि जनाएको छ । यस अभियानको मुख्य लक्ष्य नै सन् २०२५ सम्ममा नेपालको कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पु-याउने लक्ष्य रहेको परिसंघको भनाइ छ ।

कोभिड–१९ को लगातारको प्रभावले नेपालको आर्थिक वृद्धिदर खुम्चिएको भन्दै परिसंघले दिगो आर्थिक वृद्धिको आधार तयार गर्न औद्योगीकरणका निम्ति राजस्व नीति लिइनुपर्नेमा जोड दिएको छ । आयातमा आधारित वर्तमान राजस्व प्रणालीलाई औद्योगीकरणमा आधारित राजस्व प्रणालीमा परिवर्तन गर्नुपर्ने परिसंघको सुझाव छ । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने र नेपालमा विदेशी मुद्रा भित्र्याउन सहयोग गर्ने सबै वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।

यस्तै परिसंघले कमजोर सरकारी खर्चले बजारमा आवश्यक तरलता सिर्जनामा दबाब दिइरहेको जनाएको छ । सरकारले चालु खर्चमा मितव्ययिता कायम गर्ने, पुँजीगत खर्च र त्यसको गुणस्तरमा वृद्धि गर्दै जाने हो भने बजारलाई आवश्यक पुँजी परिचालनमा सहयोग पुग्ने परिसंघको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x