Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखर्कमै पुगेर प्राविधिक तथा बन्ध्याकरण सेवा प्रदान

खर्कमै पुगेर प्राविधिक तथा बन्ध्याकरण सेवा प्रदान


महेन्द्र शाही
सोलुखुम्बु, माघ १२
सोलुखुम्बुको विकटको स्थानीय तह मानिएको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाअन्तर्गत पशुपक्षी शाखाले खर्कमै पुगेर प्राविधिक सेवा उपलब्ध गराएको छ । वडा नं ३ भित्र पर्ने निकै विकटमा अवस्थित गाउँ मार्मेकुका ४५ कृषकका खर्कमै पुगेर ४ सय ५२ पशुहरुलाई प्राविधिक सेवा उपलब्ध गराएको हो । प्राविधिक र उपचारसहितको टोली खर्कमा पुगेर १११ वटा चौरी, याक १०, जोक्पे १५, गाई २०, कुकुर ४५, बाख्रा १७, भेडा २५, भैँसी ३३ र ३८ वटा बंगुरको उपचार तथा खोप प्रदान गरिएको डा. विर्खराज कुलुङले जानकारी दिए ।

पशुपालक कृषकले पालेका पशुपक्षीमा देखिएका समस्या समाधान गरी उत्पादकत्व वृद्धिको उद्देश्य राखेर खर्कमै पुगेर उपचार गरिएको डा. कुलुङको भनाइ छ । प्राविधिकको टोलीले खर्कमा पुगेर आन्तरिक तथा बाह्य परजीवीविरुद्ध उपचार सेवा, बन्ध्याकरण सेवा, संक्रामक रोगको पहिचान र उपचार, खोप सेवा उपलब्ध गराएको पशुपक्षी सेवा शाखाले जनाएको छ । डा. कुलुङले भने, ‘भौगोलिक रुपमा पशुपक्षी शाखासम्म आएर सेवा लिन नसक्ने कृषकहरुलाई सहजता र कृषि उत्पादन वृद्धिका लागि अघिल्लो वर्षदेखि खर्कमै पुगेर प्राविधिक सेवा उपलब्ध गराउन सुरु गरेका हौँ । जसले कृषकहरु उत्साहत भएका छन् ।’ कतिपय कृषकले त आफ्ना पशुपक्षीलाई पहिलोपटक प्राविधिक सेवा लिएको उनले बताए । चौरीपालन हराउँदै गएको अवस्थामा ती कृषकलाई ऊर्जा थप्नका लागि पनि खर्कमा पुगेको कार्यालयले जनाएको छ ।

‘भेडीखर्कमा पनि पुगेका छौँ । बाख्रा, भैँसी, गाई, बंगुरको पनि उपचार गरेका छौँ’, डा. कुलुङले भने । अघिल्लो वर्ष पुग्न नसकिएका क्षेत्रका खर्कमा यो वर्ष पुग्ने कार्यालयको तयारी रहेको छ । क्षति न्यूनीकरणका लागि सरकारले पशुबीमा कार्यक्रम ल्याए पनि ग्रामीण भेगमा सेवा उपलब्ध नभइरहेको अवस्थामा बीमा कम्पनीसँग सहकार्य गरी प्राविधिक सेवासँगै पशुबीमा पनि सुरु गरिएको हो । सल्लेरीमा रहेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेर मार्मेकुका ४५ वटा चौरीको बीमा समेत गरिएको डा. कुलुङले बताए ।

बीमाबारे सुनेका कृषकलाई परामर्श गरेर बीमाको काम पनि अघि बढाइएको हो । सोही अवसरमा भुस्याहा कुकुरको संख्या बढ्न थालेपछि महाकुलुङ गाउँपालिकाको पशुपक्षी शाखाले भोले पोथी कुकुरको बन्ध्याकरण समेत गरेको छ । सामाजिक दुर्घटनाको जोखिम बढेपछि बुङ क्षेत्रका भुस्याहा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने काम सुरु गरेको प्रमुख डा. विर्खराज कुलुङले जनाए । हालसम्म २० भाले कुकुरको क्यास्ट्रेसन र १० पोथी कुकुरको मेजर सर्जरी गरी रेबिजविरुद्धको खोप दिइएको छ । बन्ध्याकरण र खोपको काम निरन्तर लैजाने र बुङ, छेस्काम गुदेल क्षेत्रका कुकुरलाई पनि बन्ध्याकरण गर्नेछौँ’, डा. कुलुङले भने । आफूसँग बन्ध्याकरणको सीप र अधिकार भएकाले बाहिरबाट बन्ध्याकरण टोली झिकाउन नपरेको उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x