Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचरीकोट–तामाकोशी सडक फागुनदेखि कालोपत्रे

चरीकोट–तामाकोशी सडक फागुनदेखि कालोपत्रे


सुबास बस्नेत
दोलखा, माघ १७
चरीकोटदेखि तामाकोशी बजारसम्मको १७ किलोमिटर सडक फागुन महिनाको पहिलो सातादेखि कालोपत्रे हुनेभएको छ । १७ किलोमिटर सडक आसपासको सामुदायिक वनभित्र पर्ने रुख कटान गरी सडक विस्तारको काम अन्तिम चरणमा पुगेको हुँदा अब कालोपत्रको काम सुरु गर्ने तयारी भएको लामा कन्स्ट्रक्सन निर्माण कम्पनीले जनाएको छ ।

गत वर्ष ठेक्का सम्झौता गरेर सडक निर्माणको जिम्मा पाएको लामा कन्स्ट्रक्सन सडक निर्माण कम्पनीले चरीकोटदेखि तामाकोशी नदीसम्मकोको १७ किलोमिटर सडकको दायाँबाया कटानको काम र सडक ग्याबेनको काम करिब अन्तिम चरणमा पुगेको हुँदा अबको केही महिनादेखि पीचको काम सुरु हुने बताएको छ । अहिले सडकमा ग्रेडिङ मिलाउने काम भइरहेको आयोजनाका इन्चार्ज रविन्द्र श्रेष्ठले आर्थिक दैनिकलाई जानकारी दिए । उनका अनुसार जिल्ला वन कार्यालयले रुख कटानको अनुमति दिन ढिला गरेको हुँदा कालोपत्रको काम केही पछि धकेलिएको हो ।

आयोजनाले ५५ किलोमिटर सडक विस्तारको काम एकैपटक सुरु गरे पनि कालोपत्रे भने तीन चरणमा गर्ने भएको छ । पहिलो चरणमा चरीकोटदेखि तामाकोशी, दोस्रो चरणमा तामाकोशीदेखि मैनापोखरी र तेस्रो चरणमा मैनापोखरीदेखि जिरीसम्म गर्ने जनाएको छ । सडक निर्माण गर्न एक्जिम बैंकको तीन अर्ब ७० करोड सहुलियत ऋण सहयोगमा निर्माण गर्न लागिएको हो । लामा कन्स्ट्रक्सनले दुई अर्ब २८ करोडमा निर्माण गर्नेगरी सम्झौता गरेको छ । आयोजनाका अनुसार गत वर्षको पुसमा भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको हो ।

दुई अर्ब २८ करोडमा निर्माण सम्झौता भएको यस खण्डमा छ किलोमिटरमा ग्रेडिङ गरिएको छ भने करिब ५ किलोमिटर सडकमा तीनवटा बेसको ग्राभेल बिछ्याएर कालोपत्रेको तयारी भइरहेको लामा कन्स्ट्रक्सनका प्रमुख जिपछिरिङ लामाले जानकारी दिए । लामोसाँघु–जिरी सडक ३५ वर्षअघि स्वीस सरकारले निर्माण गरेको सडक हो । अहिले चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडकभित्रका करिब २६ सय रुख कटान र तीन सय ६३ वटा विद्युत्को पोल हटाउने काम सकिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x