बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि ग्रामीण बस्तीका ज्येष्ठ नागरिकलाई सास्ती
बझाङ । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राही सास्ती व्यहोर्न बाध्य भएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नु परेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । जिल्लाका १२ वटा स्थानीयतहमध्ये साइपाल गाउँपालिकामा बैंक स्थापना भएको छैन । साइपाल गाउँपालिकाले तल्कोट गाउँपालिकामा रहेको एभरेष्ट बैंक र सदरमुकाम चैनपुरबाट कारोबार गरिरहेको छ । बैंक खाता अनिवार्य गरेपछि बुङगल नगरपालिकाले ११ वटै वडामा बैंक खाता खोल्न शिविर सञ्चालन गरेको छ । बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने भएपछि कृषि विकास बैंकका कर्मचारीसहित नगरपालिकाको टोलीले वडा कार्यालयमै पुगेर शिविर सञ्चालन गरेको निमित्त प्रमुख प्रसासकीय अधिकृत भरत रोकायाले बताए ।
बुङगल नगरपालिका–२ सलकाट्टेकी लक्ष्मी पटकी देवी धामी ८५ वर्ष पुगिन् । उनलाई हिँडडुल गर्न निकै सकस हुन्छ । यसअघि घरमै भत्ता बुझ्दै आएकी धामीले यसपालिबाट भने बैंकबाट भत्ता बुझ्नुपर्ने भएको छ । सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उनलाई वडा कार्यालयमा आएको शिविरमा बैंक खाता खोल्न पु¥याए । लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैंकमार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको छ । उनी भन्छिन्, ‘एक घण्टाको बाटोमा त गाउँका दाजुभाइले बोकेर ल्याए । भोलि भत्ता बुझ्न को गइदेला ? बैंक पुग्न दुई घण्टा हिँड्नु पर्छ ।’ दुई घण्टाजति जिपमा जानु पर्छ । सरकारले भत्ता दिएर त राम्रै काम गरेको थियो । तर भत्ता बाँड्ने काम झन्झटिलो भयो । पहिलेकै जसरी घरमै पुगेर दिए राम्रो हुने उनको भनाइ छ । हरेक चौमासिकमा घरमै वृद्धभत्ता बुझ्दै आएकी बुङगल नगरपालिका–२ लौनेकी चन्द्रा धामीलाई बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको छ । लौनेबाट वडा कार्यालयसम्म पुग्न ५ घण्टा हिँड्नु पर्छ । वडा कार्यलयबाट साना सवारी जीप चढेर झण्डै दुई घण्टाको यात्रापछि कृषि विकास बैंकको बुङगल शाखामा पुगिन्छ । पहिलेभन्दा अहिले भत्ता लिन धेरै झन्झट व्यहोर्नु परेको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘पहिले घरमै दिन्थे । कहिले भतिजा भतिजीहरूलाई बुझेर ल्याउन भन्थेँ । तर अहिले साह्रै दुःख छ । बैंकसम्म पुग्न दुई दिन लाग्छ । बैंकमा पुगे पनि घण्टौँ लाइनमा बस्नुपर्छ ।’ एकातिर समयको पनि खर्च अर्कोतिर सरकारले दिएको भत्ता पनि बैंक जाँदा गाडीभाडा र खानाखर्चमै सकिन्छ ।
भौगोलिक हिसाबले निकै टाढा रहेका जिल्लाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौँ पैदल हिँडेर बजार पुग्नुपरेको उनको भनाइ छ । बझाङका अधिकांश लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि कम्तीमा दुई घण्टादेखि एक दिन हिँडेर बैंक पुग्ने गरेका छन् । बैंक पुगे पनि चेकमा लेख्न लगाउनुपर्ने, घण्टौँ लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमा घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । कहिलेकाहीँ बैंकमा इन्टरनेटले काम नगर्दा रित्तै हात फर्कनुपर्दा झन् समस्या हुनेगरेको छ । कतिपयको एक दिनमा काम नसकिएर बास नै बसेर भोलिपल्ट मात्रै र्फकनुपरेको अवस्था आउने गरेको साइपाल गाउँपालिकाका मिलन धामीले बताए ।
गाउँनजिकै बैंक नहुने र टाढा–टाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका सयौँ बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यताबाट पीडित छन् । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले बैंकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकहरूलाई सास्ती भएको हो । स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्ने लाभग्राहीको माग छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया