Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुने

प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुने


काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफल गर्नका लागि राजधानीमा प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ आयोजना हुने भएको छ । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालको आयोजनामा राजधानीमा शुक्रबार र शनिबार सम्मेलन हुनलागेको हो ।

सम्मेलनमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशाका साथै नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरुको बारेमा गहन छलफल हुने संस्थाका अध्यक्ष गंगा बहादुर थापाले जानकारी दिए । थापाका अनुसार शुत्रबार राष्ट्रिय सभागृहमा उद्घाटन समारोहको आयोजना हुने र शनिबार पुरा दिन प्राविधिक सत्र हुनेछ ।

कार्यक्रममा अर्थमन्त्री, पूर्वप्रधानमन्त्री, योजना आयोग, नेपाल राष्ट्र बैंक, उद्योग बाणिज्य महासंघ तथा प्रमुख राजनैतिक दलका प्रतिनिधिहरु तथा विश्वविद्यालयका पदाधिकारीहरुको समेत सहभागिता रहने उनले बताए । दशकौँ अघिदेखिको न्यून आर्थिक वृद्धि, गरिबी, असमानता, वेरोजगारी, निर्वाहमुखी कृषि, न्यून पुँजीगत खर्च, उच्च मुद्रास्फीति, उच्च व्यापारघाटा, कमजोर पूर्वाधार तथा औद्योगिक आधार, विप्रेषणमुखी अर्थतन्त्र, आयातमुखी राजस्वजस्ता आर्थिक मुद्दाहरुमा बहस गरी समाधानसहित सरकार र प्रमुख राजनैतिक दलहरुलाई कार्यान्वयन गर्न सुझाव दिनु पनि यस सम्मेलनको प्रमुख उद्देश्य रहेको बताइएको छ ।

सम्मेलनमा अहिलेको अर्थतन्त्रका जल्दो–बल्दो मुद्दाहरुको विषयमा नौवटा विषयहरुमा पेपर प्रस्तुत हुने जनाइएको छ । प्रस्तुत हुने पेपरहरुमा नेपाली अर्थतन्त्रको परिदृश्य र समसामयिक मुद्दाहरु– डा. जीवन अंगाई, समाजवाद उन्मुख अर्थतन्त्रको कार्यदिशा– हरि रोका, नेपालमा योजना र बजेट : समन्वय, कार्यान्वयन र प्रभावकारिता– डा. मिन बहादुर श्रेष्ठ, कृषिको व्यवसायीकरण र औद्योगिकीकरणका चुनौतीहरु– डा. गणेशराज जोशी, वित्तीय पहुँच, उत्पादनशील लगानी र वित्तीय स्थायित्व– सिद्धराज भट्ट/भरतराम ढुंगाना, औद्योगीकरणमा निजी क्षेत्र– डा. उत्तम खनाल, दीगो आर्थिक विकासका लागि प्राकृतिक स्रोतको उपयोग– डा. सुनिल कुमार पोखरेल, सहकारी अभियानको ६५ वर्षको अभियान र हालको अवस्था– डा. ज्ञानेन्द्र पौडेल, नेपाली अर्थतन्त्रमा नवउदारवादको प्रभाव– वैकुण्ठ पाण्डे छन् ।

सम्मेलनमा समाजवाद उन्मुख समुन्नत अर्थतन्त्र निर्माणका लागि साझा आर्थिक एजेन्डाबारे गोलमेच छलफल समेत हुनेछ । कार्यक्रममा प्रस्तुत पेपर र छलफलका निष्कर्षलाई प्रोसिडिङको रुपमा प्रकाशन गरी विभिन्न निकायहरुमा सुझावको रुपमा पेश हुने बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x