Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबालुवाटार क्षेत्रमा ढल तथा वर्षाको पानी व्यवस्थापनको कार्य सुरु

बालुवाटार क्षेत्रमा ढल तथा वर्षाको पानी व्यवस्थापनको कार्य सुरु


काठमाडौं । बालुवाटार क्षेत्रमा ढल तथा वर्षाको पानी व्यवस्थापनको कार्य सुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)अन्तर्गतको काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाबाट काठमाडौं महानगरपालिका वडा नं. २, ३ र ४ भित्र पर्ने प्रधानमन्त्री निवाससहित बालुवाटार क्षेत्रमा ढल तथा वर्षाको पानी व्यवस्थापनको कार्य सुरु भएको हो ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले उक्त कार्यको मंगलबार बालुवाटारमा शिलान्यास समेत गरेका छन् । कार्यक्रममा उनले दशकौँदेखि बालुवाटार क्षेत्र वर्षाका बेला जलमग्न हुने र ढलको समेत उचित निकास नहुँदा समस्या पर्ने गरेकाले यस क्षेत्रमा ढल तथा वर्षाको पानी व्यवस्थापनको कार्य सुरु गरिएको बताए ।

मन्त्री चौधरीले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र र बाहिर पनि वर्षाका बेला जलमग्न हुने समस्या रहेको उल्लेख गरे । त्यहाँ पनि सिंहदरबार गुरूयोजनालाई प्रभाव नपर्ने गरी ढल व्यवस्थापन गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको समेत उनले जानकारी दिए । उनले ढल तथा वर्षाको पानी व्यवस्थापनको कार्य गुणस्तरीयरूपमा तोकिएकै समयमा सम्पन्न गर्न समेत उनले निर्देशन दिए । मन्त्री चौधरीले फोहोर व्यवस्थापन, फोहोर पानीको प्रशोधन र ढल व्यवस्थापनलगायतका कार्य गरी काठमाडौं उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउन सम्बद्ध सरकारी निकायहरू प्रयासरत रहेको बताए ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले वर्षाका बेला पानी जम्ने, बस्ती डुबानमा पर्ने र ढल फुट्नेजस्ता समस्याबाट दशकौँदेखि काठमाडौं उपत्यकावासी प्रभावित हुँदै आएको उल्लेख गरे । साथै उनले वैज्ञानिक किसिमले ढल तथा वर्षाको पानी व्यवस्थापन कार्यलाई तीव्रता दिन सम्बद्ध निकायहरूलाई निर्देशन समेत दिए ।

काठमाडौं महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले ढल तथा वर्षाको पानी व्यवस्थापन कार्यमा स्थानीयस्तरबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले बालुवाटार ढल तथा वर्षाको पानी व्यवस्थापनको कार्य कुल १० करोड ५३ लाख रूपैयाँको लागतमा आगामी १५ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी दिए ।

आयोजना निर्देशक सापकोटाले यस कार्यको डिजाइन गर्दा सो क्षेत्रमा हुने सम्भावित पानीको प्रक्षेपण गरी सबै पानी वहन गर्ने क्षमता भएको संरचना छनोट गरिएको उल्लेख गरे । साथै उनले यसको सफल कार्यान्वयनसँगै विद्यमान डुबानको समस्या अन्त्य हुनेमा विश्वस्त गराए । बालुवाटार ढल तथा वर्षाको पानी व्यवस्थापन कार्यअन्तर्गत बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेट नं. १ देखि सुकुना मार्ग हुँदै टुकुचा खोलासम्म ह्युम पाइप तथा डबल वाल कोरुगेटेड पाइप बिच्छ्याइनेछ ।

यस कार्यबाट बालुवाटार क्षेत्रमा रहेका प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंकलगायत अन्य सरकारी निकाय र त्यस क्षेत्रका करिब नौ हजार दुई सय ४६ जनसंख्या लाभान्वित हुने बताइएको छ । कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिवहरू मीना श्रेष्ठ तथा त्रिरेश प्रसाद खत्री र खानेपानी विभागका महानिर्देशक सुर्यराज कँडेललगायत उपस्थित थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x