Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनयाँ वर्षमा दोलखाका पर्यटकीय स्थल भरिभराउ

नयाँ वर्षमा दोलखाका पर्यटकीय स्थल भरिभराउ


दोलखा । नयाँ वर्ष २०७९ को अवसरमा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलहरु आन्तरिक पर्यटकको आगमनले भरिभराउ भएका छन् । धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा मात्रै करिब १० हजार आन्तरिक पर्यटकले भ्रमण गरेका छन् ।

प्राकृतिरूपमा निकै सुन्दर मानिने कालिञ्चोक वैशाख १ गते बिहीबार पर्यटकले भरिएको थियो । गत वर्षहरुमा कोरोना भाइरसको कारण नयाँ सालको पहिलो दिन सुनसान बनेको कालिञ्चोक यसवर्ष सुरुकै दिन भरिभराउ भएको हो । कालिञ्चोक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं होटल व्यवसायी नवराज तामाङका अनुसार बिहीबार बिहानदेखि नै कुरिबजार र मन्दिर आन्तरिक पर्यटक र सवारीसाधनले भरिएको थियो ।

नयाँ वर्षको अवसरमा बाहिर जिल्लाका पर्यटक कमै आए पनि जिल्लाभित्रकै आन्तरिक पर्यटकले मन्दिर भरिएको हो । कालिञ्चोकमा यस वर्षको पहिलो दिन जिल्लाबाहिरबाट एक हजार पाँच सय मात्र पर्यटक भित्रिएको व्यवसायी तामाङले बताए । यस्तै बुधबार तीन हजार पाँच सय पर्यटकले कालिञ्चोक भ्रमण गरेका थिए । यस्तै पर्यटकले कुरीका होटलहरु पनि भरिभराउ भएका छन् । कुरी बजारका ५५ वटा ठूला होटलका रुम सबै प्याक भएको स्थानीय होटल व्यवसायी राम तामाङले जानकारी दिए ।

त्यस्तै जिल्लाको शैलुङमा पनि पर्यटको बाक्लो उपस्थिति रहेको थियो । कालिञ्चोकपछिको दोस्रो चहलपहल हुने शैलुङ डाँडामा सयौँ पर्यटक भित्रिएको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । त्यसैगरी जिरीमा पनि करिब दुई हजार पाँच सय आन्तरिक तथा बाह्य पर्यटकले जिरी घुमेका छन् ।

लालीगुराँस र चिमालले ढक्कमक बनेको जिरीको गुराँस पार्क, स्टोन पार्क, पाँचडाँडामा पर्यटकको बाक्लो चहलपहल देखिएको जिरीका स्थानीय रबिन लुइँटेलले जानकारी दिए । त्यस्तै बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानामा अवस्थित हनुमन्ते डाँडा, देउराली डाँडामा पनि दर्जनौँ पर्यटक घुम्न पुगेका थिए । जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल भए पनि बजार क्षेत्र भने बिहानदेखि नै सुनसान देखिएका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x