Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदुई करोड लगानीमा कालिजफार्म सञ्चालन

दुई करोड लगानीमा कालिजफार्म सञ्चालन


दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका–९ का सुदिप शिवाकोटी आफूलाई सफल व्यावसायिक कृषक बनाउन संघर्ष गरिरहेका छन् । शिवाकोटीले दुई करोड लगानी गरेर अहिले गाउँमै व्यावसायिक कालिज पालन गरेका छन् ।

वैदेशिक रोजगारीबाट फर्केर उनले कालिजपालन सुरु गरेका हुन् । विदेशमा हुँदा कमाएको रकममा केही ऋण गरेर सुरु गरेको उनको फार्ममा अहिले करिब दुई करोड लगानी पुगिसकेको छ । पालिकाको ९ नम्बर वडाको थुम्की नजिकै रहेको उनको फार्ममा अहिले एक हजार दुई सयवटा भाले तथा पोथी कालिज र चार सय चल्ला कालिज रहेको बताए । कोरोनाले गर्दा वैदेशिक यात्रा त्यागेर गाउँ फर्केका शिवाकोटीलाई गाउँको हावापानी र वातावरण देखेर कालिज पाल्ने सोच आएको बताउँछन् ।

उनी र उनका दाइ कृष्णप्रसाद शिवाकोटी मिलेर दुई वर्षदेखि कालिज पालन गर्दै आएका छन् । सुरुमा कालिजको खोर व्यवस्थापन गर्न असहज भए पनि अहिले सहज हुँदै गएको उनले सुनाए । गाउँको वडा र स्थानीय सरकार सामु कालिज पालनको योजना लिएर अनुदानको लागि पटक–पटक कार्यालय धाएका उनलाई गाउँपालिकाले वास्ता गरेन । स्थानीय सरकारले सहयोग नदिएपछि उनले दाजुको सहयोग लिएर व्यवसाय सुरु गरेको बताए । सुरुमा सात सय कालिजबाट व्यवसाय सुरु गरेका उनले अहिले फार्मबाटै कालिजको चल्ला समेत उत्पादन गर्न थालेका छन् । उनको फार्ममा भाले कालिज मात्र चार सय छन् । उनले उत्पादन गरेका कालिज प्रायः जति काठमाडौं र पोखराका विभिन्न रेस्टुरेन्टमा बिक्री हुनेगरेको छ । उनले गत सिजनमा काठमाडौं र पोखरामा मात्र दुई लाखको कालिज बिक्री गरेका थिए ।

उनका अनुसार एक सिजनमा दुईदेखि पाँच लाखसम्मको कालिज बिक्री हुने गरेको छ । त्यस्तै दुई सयका दरले चल्ला समेत बिक्री गर्नेगरेको उनले बताए । शिवाकोटी दाजुभाइले पछिल्लो समय राजधानीमा कालिजको माग बढेपछि काठमाडौंमा समेत फार्म सञ्चालन गरेका छन् । यता सुन्द्रावतीमा होमस्टे समेत सञ्चालन गरेका छन् । व्यावसायिक बन्न धेरै पटक–पटक स्थानीय सरकारको कार्यालय धाउँदा समेत कुनै सहयोग पाउन नसकेकोमा भने उनको चित्त दुखाइ छ । यो पटकको निर्वाचनमा मतदान गर्न जान समेत मन नभएको उनले बताए । कालिञ्चोक गाउँपालिकाले करोडौँ रुपैयाँ बजेट कृषिमा खर्च गरे पनि आफूजस्ता दर्जनौँ व्यवसायीलाई छुटाएर आफ्नै कार्यकर्तालाई मात्र पोस्ने र बाँढ्ने गरेको उनले बताए । गाउँपालिकामा पटक–पटक बिजुली व्यवस्थापनको लागि अनुरोध गर्दा समेत कुनै चासो नदिएको उनको गुनासो छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x