Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमेलम्चीपीडितलाई वर्षा नजिकिएसँगै फेरि बाढीको चिन्ता !

मेलम्चीपीडितलाई वर्षा नजिकिएसँगै फेरि बाढीको चिन्ता !


काठमाडौं । गत असारमा मेलम्ची खोलामा आएको बाढीले झन्डै एक खर्बको क्षति भयो । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीले तहसनहस भएका बस्ती पुरानै अवस्थामा फर्किने सम्भावना छैन । बाढी प्रभावित भएर घरबास गुमाएमा आधाभन्दा बढी नागरिकलाई जीवन गुजारा चलाउने चिन्तासँगै नजिकिँदो वर्षाले पनि पिरोल्न थालेको छ ।

बाढी गएको १० महिना बित्यो तर मेलम्चीका रमा धितालले असार १ गतेको बाढी अझै बिर्सिन सकेकी छैनन् । दुईतले पक्की घरसहित जीवनभरको कमाइ बगाएको त्यो बाढीले उनलाई झस्काइरहन्छ । उनको परिवार अहिले भाडाको कोठामा बस्दै आएको छ । कमाइ गर्ने एक रोपनी खेतमा गेग्रान थुप्रिएको छ । धिताल परिवारको मनमा भने कसरी गुजारा चलाउने भन्ने चिन्ता छ । उनी भन्छिन्, ‘जग्गाको कमाइ बेचेर बच्चाको शिक्षादीक्षादेखि घर–व्यवहार चल्थ्यो, अहिले गुजारा गर्न मुस्किल परेको छ ।’

गत असार १ र साउन १६ मा आएको बाढीले मेलम्ची, हेलम्बु र याङ्ग्री क्षेत्रका ७० प्रतिशतभन्दा बढी नागरिक विस्थापित भएका थिए । सरकारले सबै विस्थापितलाई सुरक्षित स्थानमा घरजग्गा उपलब्ध गराउने र अस्थायी टहरामा बस्नेलाई पाँच लाख दिने भनेको थियो, जुन पूरा हुन सकेको छैन । स्थानीय अर्जुन भण्डारी वर्षाको बाढीमा खोलाका गेग्रान बगेर थप क्षति गर्ला कि भन्दै चिन्ता व्यक्त गर्छन् ।

चनौटेका सागर श्रेष्ठ बाढीले बगाएको घरको २० लाख ऋण नेपाल राष्ट्र बैंकमा तिर्न नसकेर समस्या परेको बताउँछन् । आँसु खसाल्दै उनले भने, ‘आम्दानीको स्रोत पसल पनि घरसँगै बाढीमा प-यो, अब भोकमरीले सताउला भन्ने पो चिन्ता छ ।’ बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका झण्डै छ सय घर, सार्वजनिक पूर्वाधार, सिँचाइ संरचना सडक बगाएको छ । खेतीयोग्य जमिन कति गुम्यो सरकारले अहिलेसम्म तथ्यांक संकलन गर्न भ्याएको छैन । बाढीले ल्याएको १७ मिटरसम्मको गेग्रान उस्तै छ, मेलम्ची नदीले पुरानै धार समाउन सकेको छैन ।

‘अब वर्षायाम सुरु हुन दुई महिना मात्र बाँकी रहँदा फेरि बाढी आए के हुने हो ?’ बाढी प्रभावित बाटुली श्रेष्ठको चिन्ता छ । पहिले घरखेत हुने ठाउँमा अहिले खोला बग्छ । बचेका बस्ती, सडक र झोलुङ्गे पुल जोगाउन स्थानीय सरकारले चासो देखाएको छैन । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा चनौटेको बेलिब्रिज बनाउनेबाहेक केन्द्र सरकारले अरु काम थर्न नसकेको बताउँछन् । भेमाथाङदेखि तलका बस्ती संरक्षणको लागि ३० करोड रकम व्यवस्था भए पनि टेन्डर प्रक्रिया पूरा गर्दा वर्षा कट्ने अवस्था छ ।

असारमा आएको बाढीले तहसनहस भएको बस्तीको व्यवस्थापन नभएको र सरकारले अहिलेसम्म राहत र क्षतिपूर्ति नदिएको विस्थापितहरूको गुनासो छ । वर्षा लाग्नुअघि नै बाढीले थुपारेको गेग्रान पन्छाएर नदीलाई पुरानै धारमा फर्काउन नसकिए करिब चार सय घर जोखिममा पर्ने सम्भावना रहेको स्थानीय बताउँछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x