Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्पको गएको सात वर्ष बित्दा पनि बनेन विद्यालय भवन, अझै जस्ताको टहरामा विद्यार्थी

भूकम्पको गएको सात वर्ष बित्दा पनि बनेन विद्यालय भवन, अझै जस्ताको टहरामा विद्यार्थी


दोलखा । भूकम्प गएको सात वर्ष बितिसक्दा समेत भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माण हुन नसकेका कारण अझै सयौं विद्यार्थीहरू जस्तापाताका अस्थायी टहरामा बसेर पढ्न विद्यार्थी बाध्य छन् ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएका जिल्लाका सामुदायिक विद्यालयको पुनर्निर्माण अझै पूरा हुन सकेको छैन । स्वदेशी लगानीमा निर्माण सुरु भएका विद्यालयको पुनर्निर्माण सकिए पनि विदेशी दातृ निकायमा निर्माण सुरु गरिएका एक दर्जन विद्यालयको पुनर्निर्माण भने पूरा हुन नसकेका हुन् । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण सुरु भएका दर्जन हाराहारीको संख्यामा रहेका सामुदायिक विद्यालयको काम बीचमै अलपत्र अवस्थामा रहेका छन् । जिल्लाका १० वटा सामुदायिक विद्यालयको पुनर्निर्माण हालसम्म पनि सम्पन्न हुन नसकेको हो । जिल्लाको बैतेश्वर गाउँपालिमा रहेकोे कालिढुंगा माध्यामिक विद्यालयको भवन निर्माण सुरु गरेको दुई वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन नसकेको विद्यालयका प्रधानाध्यापक पुस्कर कुमार दाहालले बताए ।

२०७२ को भूकम्पले पूर्ण क्षति पु-याएको यस विद्यालयको सम्झौता अवधि सकिए पनि अझै विद्यालयको पुनर्निर्माण हुन नसकेको उनको भनाइ छ । हालसम्म विद्यालयको ७० प्रतिशत मात्र काम सकिएको छ । चैत मसान्तसम्म निर्माण सक्ने जनाएको कम्पनीले सम्झौताको म्याद सकिँदा समेत विद्यालयको निर्माण अलपत्र पारेर छाडिदिएको हो । विद्यालयका नयाँ संरचना निर्माण नहुँदा सात वर्षदेखि पठनपाठन अस्थायी टहरोमै सीमित भएको उनले बताए । विद्यालय निर्माण नहुँदा वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मतदान केन्द्र राख्न समेत समस्या भएको उनले बताए । बैतेश्वर गाउँपालिका वडा नम्बर ३ को मतदानस्थल कालिढुंगा माध्यामिक विद्यालय हो ।

यता गाउँपालिका वडा नम्बर ८ क्षेत्रपामा रहेको क्षत्रावती माध्यामिक विद्यालयको पनि पुनर्निर्माण पूरा हुन सकेको छैन । दुई वर्षअघि सुरु भएको भवन निर्माणको काम अहिले अलपत्र अवस्थामा रहेकोे छ । क्षेत्रवती माध्यामिक विद्यालयमा निर्माण सामग्री एउटा कम्पनीले दिने अर्कोले विद्यालय निर्माण गर्ने कार्यले पनि निर्माण अलपत्र अवस्थामा पुगेको विद्यालयले जनाएको छ ।

भूकम्पका कारण क्षतिग्रस्त भएका तीन सय ६३ विद्यालयमध्ये अधिकांशको विद्यालयको पुनर्निर्माण सकिएका छन् । तर भारत सरकारको लगानीमा निर्माण सुरु गरिएका विद्यालयको काम भने अलपत्र अवस्थामा रहेका छन् । जिल्लाको कालिनाग मावि, भीम मावि, कालिढुंगा, कालपानी, शान्ति आदर्श मावि, मानेडाँडा मावि, दुर्गा मावि, गुप्तेश्वर मावि, क्षेत्रावती मावि र कालिञ्चोक माविको भवन निर्माणको काम पनि अझै पूरा हुन सकेको छैन । यी विद्यालयको निर्माण अवधि सकिए पनि भवन निर्माणको काम ७०–८० प्रतिशत मात्र सकिएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x